बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि...


पश्चिम प्रेस
शनिबार, जेठ ५ २०८१
  • 562
    Shares

  • images
    images
    १०२ वर्षमा आँखाको ज्योति फर्किएपछि...

    खोटाङ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् । विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाड्नुभयो । दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए। श्रीमतीको मृत्युपछि दुई वर्ष सम्म नातिको सहारामा हिँडडुल गरे। 

    उनको जीवनमा फेरि खुसी फर्किएको छ । एक सय दुई वर्षको उमेरमा उहाँको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो । वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उहाँका दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो । 

    नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो । 

    दुई दिनअघि नातिको सहारामा आँखा शिविर आएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्नसक्ने भउका छन् । शल्यक्रिया पछि आँखाको दृष्टि खुलेसँगै उहाँले लौरो टेकेर खुसी हुँदै शिविर वरपर हिँडडुल गरे । गुमेको आँखाको दृष्टि पुनःफर्किएपछि उहाँमा खुसीको सीमा छैन । “अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ”, उनले खुसी हुँदै भने। शल्यक्रियापछि पुनःसंसार हेर्न पाएकाले अरुले पनि यसरी संसार देख्न सकून् भन्दै आर्शीवाद दिए। 

    आँखा देखेपछि खुसीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उनले धन्यवाद दिए। “मलाई परमेश्वरले फेरि खुसी दिनुभयो मेरो लागि तपार्इँहरु सबै जना परमेश्वर हुनुहुन्छ”, सहरमानले भने। 

    नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूकाअनुसार तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा सहरमान जस्तै एक सय तीन जना मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी जम्मा एक सय ४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए।

    नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी बताए। 

    सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।


  • सम्बन्धित विषय:

  • # आँखाको ज्योति
  • प्रतिक्रिया दिनुहोस