२०५५ साल मंसिर २५ गतेको चीसो मध्यरातमा जब उनको हातको बुढीऔंला मेरो हातमा दिईयो मैल मेरो दाहिने हातको बुढीऔंला र चोरी औंलाको बीचमा मुठी पारेर च्यापेँ मलाई उक्त प्रक्रियाले गम्भीर तुल्यायो । म मधुमासको मधुर कल्पनाको सागरमा डुबुल्की लगाउनुको साटो गहन जिम्मेवारीबोधको साथमा भावुक बनेँ र उनको हात अनायासै मेरो हातमा सुम्पने महापुरुष प्रति नतमस्तक भएँ । आफुले कोमल फूल सरह हुर्काएकि आफ्नोप्राण भन्दा प्यारी नव यौवना छोरीलाई एक अन्जान नव युवक समक्ष वेपर्वाह त्याग गर्न सक्ने व्यक्ति वास्तवमै महान हुनुपर्छ । वहाँ र वहाँको सपरिवारको त्याग र साहसको जति नै प्रसंसा गरे पनि कम हुन्छ । यो प्रसंग हो मेरो विवाहको र मलाई हुर्के बढेकि मेरी जीवन संगिनी सुम्पने महापुरुष हुनु हुन्थ्यो मेरै आदरणीय ससुराबुवा स्वर्गीय श्री देव बहादुर चन्द जो २०८१ साल पौष ०७ गते यस संसार बाट विदा लिई आफ्नो महाप्रस्थानको अनन्त यात्रामा निस्की सक्नु भएको छ ।
सनातन हिन्दू धर्ममा सोह्र संस्कारहरु मध्ये जन्म, विवाह र मृत्युलाई मुख्य तीन वटा संस्कार मानेको छ । हिन्दू संस्कारहरुको गहिरो मर्म बुझ्न सकेमा ती सबै संस्कारहरु समाज शास्त्रीय दृष्टिकोणले अति नै समाज सान्दर्भिक, वैज्ञानिक र तर्कपूर्ण लाग्दछन् । हाल एक दिवसीय विवाह कार्यक्रम व्यवहारमा ल्याईएको छ तर केही दशक पहिले सम्म विवाह कार्यक्रम दुई दिनसम्म चल्दथ्यो । दुलहाको घरबाट जन्ती प्रस्थान गरेर दुलहीको घरमा अहोरात्र विवाह कार्यक्रम गरिन्थ्यो । पण्डित मार्फत गरिने दुलहाको स्वागत, दुलहा र दुलहीको मान्यजनहरुको परिचय, मान्यजनहरु आश्वस्त भए पश्चात विवाह प्रस्ताव, विवाह कार्यक्रम आरम्भ, दुलहा र दुलहीको पर्दा पछाडि बाट परिचय, प्रत्यक्ष देखादेख, अटल ध्रुव तारा देखाउने, औंठी खोज्ने, प्रेमपूर्वक खाना खुवाउने, अग्नी समक्ष सातफेरा लगाउने, सिन्दूर लगाउने र जन्म जन्मान्तर साथ निभाउने वाचा गर्ने लगायतका सम्पूर्ण प्रणय क्रियाकलापहरूको सूक्ष्म विश्लेषण गरेमा दुई अन्जान युगल जोडी लाई खुलेर प्रणय सूत्रमा आवद्ध हुन प्रेरित गर्ने अतिनै समाज शास्त्रीय वैज्ञानिक प्रक्रिया भएको ज्ञात हुन्छ । तसर्थ, एक दिवसीय विवाह कार्यक्रम भन्दा दुई दिने विवाह कार्यक्रम बढी व्यावहारिक र तर्क संगत थियो भन्नेमा कुनै दुई राय हुन सक्दैन । त्यस्तै अन्य सबै संस्कारहरुमा गरिने सबै क्रिया कलापहरु पनि वैज्ञानिक र तर्कपूर्ण लाग्दछन् ।
आमा पृथ्वी हुन् भने बुवा आकाश । बुवाले कर्म सिकाउँछन् भने ससुरा बुवाले कर्तव्य । बुवाले योग्य बनाउँछन् भने ससुरा बुवाले उक्त योग्यता परीक्षण गर्ने अवसर प्रदान गर्दछन् । विवाह पश्चात पतिपत्नी समकक्षी हुनेभएकोले पतिका आमाबुवा पत्नीका सासुससुरा र पत्नीका आमाबुवा पतिका सासुससुरा हुन जान्छन् । यद्यपी सासुससुराहरु पनि आमाबुवा सरह नै हुने हुँदा सासुलाई सासुआमा र ससुरालाई ससुराबुवा भन्ने प्रचलन छ । तथापि आजभोलि पतिका आमाबुवा मात्र नभई अन्य नाताहरूलाई पनि सिधै सम्बोधन गरिन्छ । जस्तै जेठाजुलाई दाई, मामाससुरा लाई मामा जुन हाम्रो परम्परागत सामाजिक संरचनामा अलि अमिल्दो प्रतीत हुन्छ । देवरलाई भाई र सालीलाई बहिनी पनि सम्बोधन गर्दा कथंकदाचित भाई बहिनीप्रतिको सामाजिक बुझाईमा फरक आउँछ कि भन्ने खतरा उत्पन्न हुनसक्दछ ।
कुनै बेहुली वा महिलाको ससुरा बुवा हुन सजिलो हुन सक्ला, कुनै पुरुषको ससुरा हुन पनि सजिलो होला तर कुनै पुरुषको ससुरबुवा हुन वास्तवमै गहन जिम्मेवारी हो । न्याय प्रिय, ईमान्दार, सहयोगी र समाजसेवी स्वभावले नै कुनै बुवालाई पुरुषको ससुराबुवा बनाउँछ । सहनशीलता, शारीरिक पीडा लुकाउनसक्ने अद्भुत क्षमता, बिरामीले थलिएर तड्पी रहेको अवस्थामा पनि आफु विरामी भएको अरुलाई महसुस नगराउने स्वभाव आदि पनि सायद ससुरा बुवामा हुनुपर्ने गुण हुन् कि ? अध्ययनशील स्वभाव, धेरै विषय वस्तुको गहिरो ज्ञान राख्नुपर्ने वाध्यता पनि सायद एक पुरुषका ससुराबुवामा हुनुपर्ने गुण हुन् ताकी आफ्ना ज्वाईंलाई मार्ग निर्देशन र दृष्टिकोण दिन सकियोस् । यी सबै गुणहरु एक व्यक्तिबाट प्रेरित भएर विश्लेषण गरिएका भएपनि सायद सबै ससुराबुवाहरुमा हुनुपर्ने आवश्यक गुणहरु हुन् ।
अन्तिम समयमा सिकिस्त विरामी भएर अस्पतालको आकस्मिक कक्ष देखि सघन उपचार कक्ष सम्मको उपचार र उक्त उपचार पश्चात पनि कुनै सुधार नआएपछि चिकित्सकहरुलेपनि सुधारको सम्भावना घट्दै गएको भन्ने विश्लेषण गरे अनुसारनै मेरा ससुराबुवालाई घरमा ल्याइएको थियो । मृत्यु केवल जीवित शरीरको मात्र हुँदैन, सम्भावनाहरुको मृत्यु, कल्पनाहरुको मृत्यु, योजनाहरुको मृत्यु, आशा र भरोषाहरुको मृत्यु लगायत सामाजिक मानसपटलबाट पनि मृत्यु हुँदो रहेछ । घट्दै गएको श्वाशको आयतन, शिथिल हुँदै गएको ढुकढुकीको तीक्ष्णता, घट्दै गएको शरीरको तापक्रम आदिले मान्छेलाई मोह मायाबाट मुक्त राख्दो रहेछ । मृत्यु निकटको उक्त समयमा सफलता र असफलता, धन दौलतको आकर्षण, आशक्ति र प्रेम, रिस र रागले कुनै फरक वा प्रभाव नपर्दो रहेछ सोहि अवस्थालाई मुक्तिको संज्ञा दिइएको हुनु पर्दछ । तसर्थ, मृत्यु अवश्यम्भावी छ र मुक्ति सबैको हुनेछ भन्ने कुरालाई ध्यानमा राखी राम्रा कार्य गर्दै हामी सबैले उत्तम मृत्युको तयारी गर्नुछ । स्वाभाविक मृत्युको तयारी नै सफल जीवनको आधार हुन जान्छ ।
ससुराबुवाको मृत्युबाट जीवनको यो महत्वपूर्ण पाठ सिक्दै वहाँको महाप्रस्थान पश्चात अन्तेष्टि कार्यक्रममा पूर्णरुपमा सहभागी हुने भाग्यमानी मध्ये मपनि एक हुँ र मैले यो अवसर प्रदान गरेकोमा भगवान प्रति आभारी हुनैपर्छ । यसै अवसरमा वहाँले मलाई सुम्पेको जिम्मेवारी सत प्रतिशत वहन गर्ने अठोट सहित हजुरले मलाई सुम्पेको हात जीवन पर्यन्त छोड्ने छैन भन्ने वाचा दोहोर्याउन चाहन्छु ससुरा बुवा । हजुरको महाप्रस्थान यात्रा सफल रहोस् हार्दिक श्रद्धान्जली ।
.gif)