बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

भित्तामा कला भर्ने रञ्जित


सोमबार, असार २५ २०८१
  • 580
    Shares

  • images
    images
    भित्तामा कला भर्ने रञ्जित

    महेन्द्रनगर– उनी कुची समातेर भवनका भित्तामा कलात्मक अक्षर पोतिरहेका थिए। निलो र रातो रङका अङ्ग्रेजी अक्षरले भित्तालाई थप सुन्दर बनाउन मद्दत गरेका थिए। हामीले उनका कामलाई केहीबेर नियालिरह्यौँ। उनी पेन्टिङमा दत्तचित्त देखिन्थे। 
    त्यसपछि सोध्यौँ उनको नाम।

    ‘रञ्जित रुँवार,’ ब्रसलाई हातबाट नहाटइकन उनले भने। जन्म? ‘भारतको चेन्नई।’ 

    १० कक्षासम्म वर्षसम्म उतै पढेका रहेछन्  उनले। रञ्जितको बा इन्डियामा बैंकको जागिरे थिए। बाको जागिरे जीवनका कारण उनी उतै हुर्किए। 

    रञ्जित स्कुले जीवनको प्रारम्भदेखि नै पेन्टिङमा रुचि राख्थे। रङ,  ब्रस र कुचीसँग उनको विशेष लगाव थियो। पेन्टिङमा उनको रुचि जगाउने स्कुलमा एकजना शिक्षक थिए। जसले फाइन आर्ट्समा डिप्लोमा गरेका थिए।  शिक्षकले उनलाई बेला बेलामा भन्थे, ‘म तँलाई त्यहीँ लग्छु।’ तर सरले आफ्नो वाचा पूरा गर्नै पाएनन्। उनी अल्पायुमै हृदयघातका कारण बिते। 
    सर बितेपछि निकै समय उनले पेन्टिङ गरेनन्।  

    रञ्जित पाँच वर्षको उमेरमा पहिलो पटक आफ्नो देश आएका थिए। बाले बेदकोटमा जग्गा पनि किनेका थिए। कक्षा १० पछि भने स्थायी रुपमै उनी नेपाल बस्न थाले।

    उनी नेपाल आउनुको कारण भने देशप्रेम नै थियो। इन्डियामाँ छँदा बाजेले भनेका थिए, ‘ यहीँ आर्मिको जागिर खा।’ तर मानेनन्। ‘ खाए पनि आफ्नै देशको खान्छु। जे गर्छु आफ्नै देशमा गर्छु,’  बाजेलाई सुनाएको अठोट उनी सम्झिन्छन्। 

    रञ्जितले महेन्द्रनगर आएपछि २८ वर्ष पसल पनि चलाए। र थुप्रै ठाउँमा व्यावसियक कला बनाए। महेन्द्रनगरले त्यसकारण पनि रञ्जितलाई प्रेम गर्छ। 

    उनी आफ्नो कामसँग सन्तुष्ट त छन्। तर पहिलेजस्तो कमाइ भने यो कर्ममा छैन। फ्लेक्सका कारण अहिले त्यो घटेको छ। भन्छन्, ‘ब्रसको काम फ्लेक्सका कारण घटेको छ।’

    रञ्जित नयाँ पुस्तामा आफूले सिकेको सीप बाँड्न चाहन्छन्। त्यो पनि विना शुल्क।  उनी आफ्नो कला रुचि राख्नेहरूका लागि विना सर्त सिकाउनु कर्तब्य ठान्छन्। ‘हातको सीप कसैले पनि सिकाइदेऊ भन्यो भने गलत चाहिँ सिकाउँदिनँ,’ उनी भन्छन्।  

    रञ्जित भारतमा पढेर हुर्किए अनि आफ्नै देशमा फर्किए। आजसम्म खुसी पनि छन्। 

    तर आफ्नै देशका मानिसहरू विदेशिएको देख्दाचाहिँ खुसी छैनन्। गरे त आफ्नै देशमा सन्तुष्टिसहितको पैसा देखेका छन् उनले। अर्काको देशमा झन् कस्ट र दु:ख मात्र पाउने उनको बुझाइ छ। ‘यदि घरमा आमा, श्रीमती वा परिवारलाई केही भयो विदेशबाट त डलर मात्र आउने हो आफू त आउन सकिँदैन नि,’ उनी गम्भीर सुनिन्छन्।    

    यहाँ हुर्किएर पढेर विदेश जानु भनेको नेपालमा गरेको लगानी खेर जानु हो भन्ने लाग्छ रञ्जितलाई। 

    त्यसैले उनी चाहन्छन्, ‘काम ठूलो होस् या सानो। सन्तुष्टि ठूलो हुनुपर्यो। त्यो पनि आफ्नै देशमा…।




    प्रतिक्रिया दिनुहोस