बेदकोट, कञ्चनपुर । १६ वर्षको चञ्चले उमेर। सपनै सपनाले भरिएको मन । आकाश छुने जोश र जाँगर । कञ्चनपुरकी तुलसी जोशीलाई जिन्दगी यसै खुशी खुशीमै बित्छ जस्तो लाग्थ्यो । आठ कक्षा पढ्दा पढ्दै विहे भयो । त्यतिबेला ‘सानै छु अहिले विहे गर्दिन भन्ने बुद्वि पनि थिएन ।’
छोरीबाट उनी कसैकी श्रीमती बनिन् । बुहारी बनिन् । नन्द, आमाजु र भाउजु भइन् । नयाँ नाताहरुसँगै जिम्मेवारी फेरिए । भूमिका फेरियो। फेरिएको भूमिकामा पनि तुलसी खुशी खुशी नै थिइन् । घाँस, दाउरा, मेलापात, गाईवस्तु, घरभान्छा । दिन यसरी नै बित्दै थियो ।
‘विहे भयो । अब सबै सकियो, केही गर्न सकिन भन्ने महशुश थिएन । त्यतिबेला पढेलेखेका बाहिरफेर काम गर्ने महिलाहरू धेरै थिएनन् । त्यसैले होला घरबार सम्हाल्नु नै सबैथोक भन्ने लाग्थ्यो ।’
तर समय बित्दै जाँदा तुलसीलाई स्कूलको न्यास्रो लाग्न थाल्यो । आफूले कुनै दिन देखेका सपनाहरूको माया लाग्न थाल्यो । तुलसीलाई किताबका अक्षरहरूले बोलाउन थाले । आफ्नो मन मारेर तुलसीले चुपचाप समाजका ‘नियमहरु’ स्वीकार्न सकिनन् । ससुरासँग अनुमति मागिन् । डरैडरमा गरेको आग्रहलाई ससुराले सहजै स्वीकारे । विहेपछि तुलसीले स्कूल जाने अनुमति पाइन् ।
छोरी पढाउन हिच्किचाउने त्यतिबेलाको समाजमा बुहारी झोला बोकेर विद्यालय जाने ! गाउँ नै अचम्ममा पर्यो । घरधन्दा कसले गर्ने ? गाईवस्तु, घाँस दाउरा, मेलापात, रोपाइँ, कटाइ कसले हेर्ने ? समाजले गर्ने यस्ता अनगिन्ती प्रश्नहरूको जवाफ तुलसीले दिइराख्नु परेन । सासु, ससुरा र श्रीमानले दिए । उनले सरासरी एसएलसी पास गरिन् ।
मनमा अझै पढ्ने, केही गर्ने हुटहुटी जागीसकेको थियो । इन्टर पढ्दै गर्दा छोरी जन्मिइन् । छोरी बोकेरै परीक्षा दिन गइन् । तुलसीसँग पुराना दिनहरूको सम्झना ताजै छ - ‘ए छोरी बोकेर जाँच दिन आएको’ अरूले अचम्म मान्दा पो आफूले नौलो काम गरेछु जस्तो लाग्यो उनलाई।
तुलसीसँग पढाइको सर्टिफिकेट हातमा थियो । तर काम थिएन । श्रीमान पनि कामकै खोजीमा थिए । दुई छोरी जन्मिसकेपछि बढेको पारिवारिक जिम्मेवारी । अनि बेरोजगार दम्पत्ती ।
कुरा २०६१ सालतिरको हो । कञ्चनपुरको सुढा गाउँमा सामान्य झैझगडा मिलाउन सम्भावित मेलमिलापकर्ताको खोजी भयो । छोरी हेर्दै घर व्यवहारमै अलमलिरहेकी तुलसीको कानसम्म यो खबर पुग्यो । पढेलेखेकी तुलसीलाई ‘ म पनि यो काम गर्न सक्छु’ जस्तो लाग्यो । तर वर्ष दिनकी छोरी बोकेर काममा कसरी जाने ! काखे छोरी कसलाई छोड्ने ! चिनजानकै पत्रकार हेमन्ती चौधरीले हौस्याइन् - छोरी बोकेरै जाने । पछि हट्ने कुरै छैन ।’
त्यसपछि अघि बढेकी तुलसीले जिन्दगीमा पछि फर्केर हेर्नु परेको छैन ।
छोरी बोकेरै मेलमिलापकर्ताको तालिममा गइन् । लगत्तै संयोजकको जिम्मेवारी पाइन् । यो अवसरलाई उम्किन नदिन तुलसीले श्रीमान जयदेव जोशीलाई सम्झाइन् । घरमा बसेर बालबच्चा हेर्न, घरव्यवहार सम्हाल्न मनाइन् । ‘श्रीमान् श्रीमती भइसकेपछि एकले अर्काको काममा आड भरोसा दिनु र विश्वास गर्नु सबैभन्दा ठूलो कुरा रहेछ । उहाँले उतिबेला त्यति नगरेको भए शायद मेरो यात्रा त्यही टुंगिन्थ्यो । ’
सुरू सुरूमा मेलमिलापकर्ताको काम तुलसीको लागि जागीर मात्र थियो । महिना मरेपछि पाउने २५०० रूपैयाँले घरव्यवहार चल्थ्यो । ‘उतिबेलाको २५ सयले अहिलेको २५ हजारको काम गर्थ्यो । ’
तातिएको माहोल चिस्याउनु, चिसिएका सम्बन्ध सपार्नु, भत्किएका मनहरु मिलाउनु, मेलमिलापकर्ता भएर उनले गर्ने काम त्यही थियो । तर गाँठो परेका सम्बन्धका डोरीहरू कस्ने काम भनेजस्तो सजिलो थिएन । ‘मलाई हिंसा भयो, कुटपिट भयो, झगडा पर्यो भनेर भन्न आउनेहरू त हुन्थे । तर अर्को पक्ष छलफलमा आउन तयारै नहुने । सबैभन्दा गाह्रो काम यही थियो।’ तर गाह्रो कामलाई सजिलो बनाउने कला तुलसीले छिट्टै सिकिन् ।
विवादहरु सुल्झाउन र पक्ष-विपक्षलाई एक ठाउँमा जुटाउन तुलसीले थुप्रै जोर चप्पल फटाइन्। ‘अर्को पक्ष आउन नमानेर लिन जाँदा कतिपल्ट त कुकुरले पनि टोक्यो ।’ तुलसी सम्झिन्छिन - ‘द्वन्दको बेला थियो । गाविस नै बजार सरेको थियो । तर हामीले हाम्रो काम कहिल्यै रोकेनौ ।’
एउटै विवादमा हप्तौसम्म छलफल गरेर समाधान निकालेको अनुभव तुलसीसँग छ । ‘फेरि समाधान निकाल्ने काम हाम्रो हैन । समस्या उहाँहरूको हो । समाधान पनि उहाँहरूले नै खोज्ने हो । हामीले त सहजीकरण मात्रै गर्ने हो ।’ लामो प्रक्रियापछि जब समाधान निस्कन्थ्यो रिसले आगो सरि भएर छलफल सुरू गरेकाहरू हाँसी हाँसी छुट्दा बेग्लै आनन्द आउने । दुवै पक्ष जितेको महशुश हुने मेलमिलापको यो काइदा चाहिँ तुलसी आफैलाई अचम्म लाग्छ । तुलसीले अनुभव सुनाइन् - ‘वर्षौ पछि भेटिदा पनि धन्यवाद भन्छन् । तपाईंले हाम्रो परिवार मिलाइदिनुभयो भन्छन् । आफूले कसैको जीवनमा थोरै भएपनि खुशी ल्याउन सके भनेर खुशी लाग्छ ।’
यसरी तुलसीले थुप्रै बिग्रेका सम्बन्ध जोड्न सघाइन्। मुन्टो बटारेर हिँड्ने शत्रुतालाई काँध हाल्ने मित्रतामा पुर्याइन् । विवादका पक्ष र विपक्ष दुबैलाई जितको महसुस गराईन्। मनको तुष मेटिने गरी छलफल चलाइन्। फलस्वरुप उनले पक्ष र विपक्ष दुबैको मन जित्दै गइन् ।
विस्तारै यो कामले उनलाई मान सम्मान दिन थाल्यो । समाजमा आफ्नो बेग्लै पहिचान बन्दै गएपछि यसमै उनको पनि मन बस्दै गयो ।
हुर्किदै गरेका छोरीहरूको रेखदेखको जिम्मा श्रीमान जयदेवले लिए । घरबाहिरको काम तुलसीले सम्हालिन् । श्रीमान् कमाउने र श्रीमतीले घरव्यवहार सम्हालेको देख्ने बानी परेको समाजको लागि तुलसीको घरको यो चलन नौलो थियो । गाउँलेको अनेक घोचपेच र वचन सहन पर्यो । तर असहमतीको गाँठो फुकाउन सिपालु तुलसीलाई आफ्नै घरभित्र बढ्दै गरेको असमझदारी मिलाउन गाह्रो भएन। मेलमिलाप र सामाजिक न्यायको क्षेत्रमा काम गर्नेहरुले पनि उनलाई ढाडस दिइरहे।
तुलसीले वर्षौसम्म मेलमिलापकालागि संयोजक भएर काम गरिन् । ‘सबै विवादमा अड्डा अदालत धाउन गाह्रो हुने । गाउँका सोझा मान्छेहरू अड्डा, अदालत, वकिल, तारिख नामैले पनि डराउने । कतिले त प्रक्रिया झन्झटिलो लागेर बिचमै न्यायको आश पनि मारिसकेका हुने रैछन् । आफ्नै गाउँ ठाउँमा बसेर आफैले विवाद समाधान गर्दा पैसा पनि जोगिने सम्बन्ध पनि जोगिने ’ त्यसैले पनि गाउँ समाजमै हुने मेलमिलापप्रति मान्छेहरूको विश्वास बढेको झै लाग्छ उनलाई । मनमुटावको छालले समाज नहल्लाओस्, विवादको झिल्कोले सम्बन्धमा डढेलो नलागोस्, सामान्य लेनदेनको हिसाबकिताब अदालतसम्म पुग्न नपरोस्, दुई बित्ता माटोको लागि सँधियारहरु पक्ष र विपक्षको कठघरामा उभिन नपरोस्, सुख दुःखको सहारा बन्नु पर्ने छिमेकीसँग जीवनभरका लागि पानी बाराबारको स्थिति नबनोस् यस्तै भावना राखेर तुलसीले वर्षौंसम्म समाजिक काम गरिन्।
मेलमिलापकर्तालाई तालिम दिन उनी देशका विभिन्न जिल्लाहरू पनि पुगिन् । अनुभव र क्षमता बढ्दै गयो। उनी हात्ती झैँ लम्किन छाडिनन्। कुनै स्वार्थ र कुनै पक्षको दबाब प्रभावमा नपरी काम गर्दा उनका लागि अवसरका नयाँ ढोकाहरू खुल्दै गए । छोरीहरु हुर्किए । श्रीमानले पनि नयाँ काम सुरु गरे। गाउँले र आफन्तका मन बिझाउने बोली आफैँ बन्द हुन थाले ।
सामाजिक कामले तुलसीको पहिचान बन्यो। गाउँटोल मात्र होइन जिल्ला, प्रदेशसँगै संघीय राजधानीसम्म सम्बन्ध स्थापित भयो। नेता बन्न चाहिने सबै क्षमता र अनुभव उनीसँग थियो। त्यसैले अवसरको ढोका खुल्दा उनी पछाडि सरिनन्। चुनावी प्रतिश्पर्धामा उनको पक्षमा जनमत देखियो। अन्तत एक मेलमिलापकर्ता परिवार, टोल छिमेक हुँदै सिँगो पालिकाको मन जितेर उप-प्रमुख बनिन्। बेदकोट नगरपालिकाकी उप-प्रमुख तुलसी जोशी । ‘हुन त मैले खुलेर राजनीति कहिल्यै गरेको हैन । नेता हुने सपना थिएन । यही कामले दिएको नयाँ जिम्मेवारी हो ।’
सर्वसाधारणका लागि न्याय झन्झटिलो, ढिलो, महँगो बन्दै गएका बेला यसरी आफ्नै गाउँठाउँमा न्याय दिने उद्देश्यले स्थानीय तहमा अर्धन्यायिक प्रकृतिको न्यायिक समिति गठन गर्ने संवैधानिक व्यवस्था भएको हो । नेपालको संविधान (धारा २१७) ले गरेको व्यवस्था अनुसार स्थानीय तहको उप–प्रमुख/उपाध्यक्ष आ–आफ्नो स्थानीय तहमा गठन हुने न्यायिक समितिको संयोजक हुने व्यवस्था छ । सोही अनुरुप तुलसी अहिले बेदकोट नगरपालिकाको न्याय सम्पादनलाई प्रभावकारी बनाउन सक्रिय रुपमा लागिरहेकी छिन्। यसरी देवानी प्रकृतिका विवादहरू गाउँठाउँमै निरूपण हुँदा कम समय, खर्च र झन्झटमा न्याय पाइने अनुभव उनको छ । न्यायिक समितिहरूलाई स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसा जस्ता विवादहरूलाई खासगरि मेलमिलापमार्फत निरूपण गर्ने जिम्मा स्थानीय शासन सञ्चालन ऐनले दिएको छ। ९० प्रतिशतभन्दा धेरै ठाउँमा महिलाकै नेतृत्वमा रहेका त्यस्ता न्यायिक समितिलाई करिब दुई दर्जन मामिलामा निर्णय दिन वा मेलमिलाप गराउन अधिकार दिइएको छ।
उपप्रमुखको रुपमा तुलसीले न्यायिक समितिको नेतृत्व सम्हालेपछि वेदकोट नगरपालिकाका हरेक वडामा मेलमिलाप केन्द्रहरू स्थापना गरिएका छन्। मेलमिलापकर्तालाई विवाद सुल्झाउन सिपालु बनाउने चरणबद्ध तालिमहरुको व्यवस्था गरिएको छ। मेलमिलाप केन्द्रलाई चुस्त बनाउन वडा अध्यक्षहरुलाई समेत यसको महत्व बुझाउने अभियान चलेको छ। विग्रेका सम्बन्ध सुधार्न प्रयास गर्ने मेलमिलापकर्ताहरूमा विभिन्न जातजाती, एकल महिला र दलित समुदायका प्रतिनिधिहरू पनि छन् । यसले न्यायमा सबै वर्ग समुदायको पहुँच पुर्याउन सहयोग पुग्ने तुलसीको अनुभव छ ।
‘म आउँदा न्यायिक समितिको लागि छुट्टै कोठा थिएन । धेरै छलफलहरू गोप्य तरिकाले पनि गर्नुपर्ने भएकाले यो जरूरी कुरा हो ।’ अहिले स-साना विवाद समाधानका लागि अड्डा अदालत त के नगरपालिकासम्म पनि आइराख्नु पर्दैन । वडा वडामै मेलमिलाप केन्द्र खुलेका छन् । ‘अचेल धेरै समस्या वडामै समाधान हुन्छ । यो वर्ष १०० वटा मेलमिलाप वडास्तरमै गर्ने लक्ष सहित काम भइरहेको छ ।’
मेलमिलापकर्ताको भूमिकाबाट स्थानिय सरकार हाँक्ने ठाउँसम्म पुगेकी तुलसीको यो सफलता अरु मेलमिलापकर्ताहरुकालागि पनि प्रेरणा बनेको छ । तुलसी भन्छिन् - उहाँहरुकै सहयोगले म यहाँसम्म पुगे । बाटो लामो छ ।
‘हिजो प्रश्न गर्ने ठाउँमा थिए । आज काम गर्ने ठाउँमा आइपुगेको छु । आफ्नो बलबुताले भ्याएसम्म इमान्दार भएर काम गर्नेछु । बोस हैन लिडर बन्ने प्रयास छ ।’
यो श्रृंखला अष्ट्रेलियन सरकार बैदेशिक मामिला तथा व्यापार विभागको द एशिया फाउण्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमको “नेतृत्वमा महिला” पहल अन्तर्गत पर्दछ।
.gif)