महेन्द्रनगर । कञ्चनपुरमा आज नेपाल भारत साहित्य सम्मेलन तथा काव्य गोष्ठी सम्पन्न भएको छ । गुगुल्डि वाङ्मय प्रतिष्ठान कञ्चनपुर र बुलंदी साहित्यिक सेवा समिति भारतको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल तथा भारतका करिब ८० जना साहित्यकारहरुको उपस्थिति रहेको थियो । गुगल्डि वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीर बहादुर चन्दको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल तथा भारतका दुई देशको साँझा संस्कृति लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै रचना वाचन तथा स्रष्टा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिको भूमिकामा रहेका सुदूरपश्चिम विश्वविद्यालयका डीन प्रा. डा. मुकुन्द कलौनीले यस किसिमको कार्यक्रमले दुई देशबिचको साहित्यिक सम्बन्धलाई झन् बलियो बनाउने तथा दुबै देशको भाषा, संस्कृति र साहित्य आदानप्रदान हुने भएकाले यसको सार्थकता रहेको आशय प्रकट गर्नुभयो । गुगुल्डि वाङ्मय प्रतिष्ठानका सचिव जगदीश ओझाले गुगुल्डि वाङ्मय प्रतिष्ठानले विगत लामो समयदेखि भाषा, कला, साहित्य, संस्कृतिका क्षेत्रमा काम गर्दै आइरहेको र हाम्रो भाषा, साहित्य र संस्कृतिलाई हामीमाझ मात्रै विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा यसको प्रस्तुतिले एकातिर यसको दायरा फराकिलो हुने र अर्कोतर्फ अन्य भाषा तथा संस्कृतिमा रहेको ज्ञानलाई ग्रहण गर्न यस्ता कार्यक्रमको महत्व रहने बताउनुभयो । यस कार्यक्रमले पनि साहित्य तथा ज्ञानको आदानप्रदान भएको उहाँले बताउनुभयो । काव्यगोष्ठीकै अवसरमा साहित्यकार दिलानन्द पन्तले गुगुल्डि वाङ्मय प्रतिष्ठानमा रु. एकलाख पच्चिस हजार बराबरको अक्षयकोष समेत स्थापना गरेका छन् । कार्यक्रमको सञ्चालन गुगुल्डिका तर्फबाट साहित्यकार रमेश पन्त मीतबन्धु र कविराज भट्टले गरेका थिए भने बुलंदीका तर्फबाट बुलंदी सेवा समितिका अध्यक्ष विवेक बादल बाजपुरीले गरेका थिए । कार्यक्रममा नेपाली, हिन्दी तथा डोट्याली भाषामा नेपाल तथा भारतका करिब पाँच दर्जन बढी कविहरुले रचना वाचन गरेका थिए ।
.gif)