महेन्द्रनगर । असोज १२ गते शनिबारका दिन महेन्द्रनगरको भीमदत्त नगरपालिकामा दीर्घबहादुर चन्दद्वारा लिखित दुईवटा पुस्तकहरू लघुकविता विधा लोकार्पण भएका छन् । लोकार्पण हुने पुस्तकहरूमा एउटा "आगो" लघुकविता थियोे भने अर्को "सप्तरङ्गी" नामक सातवटा विधा मिश्रित कवितासङ्ग्रह रहेको थियोे । 'आगो' कविताविधा नेपाली कविता परम्परामा एउटा छुट्टै नयाँ स्वरूपमा जन्मिएको भनेर उक्त 'आगो' कविताविधाका प्रवर्तक पूर्व लेफ्टिनेन्ट कर्नेल दीर्घबहादुर चन्दले नै बताउनुभयो । त्यहाँ लोकार्पण एवम् समीक्षा गरिएका यी कृतिहरूको विमोचन कार्यक्रम केही समय पहिले काठमाडौँमा भएको कुरा कृतिकारले स्वयं "चन्दले" बताउनुभयो ।
पुस्तक विमर्शको उक्त कार्यक्रमको सभापतित्व 'आगो लघुकविता सदन ( आलस) सुदूरपश्चिम प्रदेशका संयोजक साहित्यकार श्री लक्ष्मण अधिकारीले गरिराख्नुभएको थियोे भने प्रमुख अतिथिमा डा. टेकराज पन्त रहनुभएको थियोे । त्यस्तै विशिष्ट अतिथिहरूमा प्रा.डा. मुकुन्द कलौनी, प्रा.डा. चूडामणि जोशी, प्रा. भोजराज जोशी, साहित्यकार वीरबहादुर चन्द र नारा जोशीजस्ता साहित्यका मूर्धन्य व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो । पुस्तक समीक्षकका रूपमा त्यसकार्यक्रममा सहप्रा. श्यामसुन्दर ढकाल, सहप्रा. हरिप्रसाद खतिवडा, उपप्रा. भुवनेश्वरी बडू र शिक्षिका सरस्वती भाट "धामी" रहनुभएको थियोे । पुस्तक समीक्षा सँगसँगै सो कार्यक्रममा दुई फरकफरक क्षेत्रका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनुहुने व्यक्तित्वहरूमा सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका विद्वान् व्यक्तित्व प्रा.डा. चूडामणि जोशी र "हेल्प क्लब" नेपालका अध्यक्ष एवम् समाजिक व्यक्तित्व श्री मदन चन्द रहनुभएको थियोे ।
झण्डै ६०/७० जना जति विविध क्षेत्रमा आबद्ध अतिथिहरूले भरिएको उक्त हलमा अतिथिका रूपमा महेन्द्रनगरका स्थापित साहित्यकारहरू पञ्चमराज भट्ट, जगदीश ओझा, कल्याण ओझा, सुरेन्द्रराज ओझा, महादेव भट्ट, नारायण लम्साल, नारायण गिरी, रमेश पन्त मीतबन्धु, कविराज भट्ट, तुलसी पण्डित, लक्ष्मीप्रसाद भट्ट, इन्दिरा दाहाल समर्जङ्ग ब.चन्द लगायतका विविधक्षेत्रमा आबद्ध कैयन व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो । कवि प्रेमप्रकाश कलाैनीद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम दिउँसो १२:३० देखि सुरु भएर साँझ ४: ४५ सम्म चलेको थियोे । त्यस कार्यक्रममा स्वागत मन्तव्य सहप्रा. श्यामसुन्दर ढकालले गरेका थिए भने लक्ष्मीनारायण मन्दिरका विद्यार्थी (बटुक)हरूद्वारा स्वस्तिवाचन गरी सुरु गरिएको थियोे । सँगसँगै उक्त कार्यक्रममा शारदा विद्यापीठको शास्त्री प्रथम वर्षमा अध्ययनरत छात्रा साक्षी खतिवडाले मीठो गायनमा शिवताण्डव स्तोत्रसमेत गाएकी थिइन् । समीक्षकहरूका अलावा सो कार्यक्रममा साहित्यकार जगदीश ओझाज्यूले लोकार्पण कृतिहरू र कृतिकारका बारेमा आफ्ना केही संक्षिप्त विचार धारणासहितको स्वागत मन्तव्य राख्नुभएको थियोे । त्यस सँगसँगै सम्मानित हुनुभएका दुवैजना (प्रा.डा.चूडामणि जोशी र मदन चन्द) ले समेत मन्तव्य राख्नुभएको थियोे । त्यसैगरी साहित्यकार तुलसी पण्डित र लक्ष्मीप्रसाद भट्टले आगो र सप्तरङ्गी कृतिबाट केही रचनाहरू वाचन गर्नुभएको थियोे । "आगो" लघुकविता सदन (आलस) सुदूरपश्चिम संस्थाद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख आकर्षकका रूपमा रहनुभएका "आगो" कविताविधाका प्रवर्तक पूर्व लेफ्टिनेन्ट कर्नेल दीर्घबहादुर चन्द "सुमन" ले "आगो" लघुकविता विधाका बारेमा केही संक्षिप्त जानकारी सँगसँगै त्यहाँ उपस्थित सबै अथितिलाई धन्यवाद आभार व्यक्त गर्दै सबैले "आगो" लघुकविता विधा लेख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
.gif)