हिन्दु पौराणिक कथा अनुसार ब्रह्मा र विष्णुको मर्यादाक्रमको विवाद समाधान नभए पछी देवाधिदेव महादेव समक्ष छिनोफानोको लागि जाँदा महादेवले आफ्नो ज्योतिर्लिंगको फेद र टुप्पो पत्ता लगाउन दुवैलाई तल र माथि पठाएछन् तल जानेले फेद र माथि जानेले टुप्पो पत्ता लगाउनु र जसले पत्ता लगाएर पहिले आउन सक्यो उही ठुलो भनेछन् तर ब्रह्मा न विष्णु कसैलेपनि अनेकौं प्रयास पश्चात पनि ज्योतिर्लिंगको फेद वा टुप्पो पत्ता लगाउन नसकेको कारण उक्त विवाद समाधान भएन र महादेवले आफु तर्फ इंगित गर्दै को ठुलो रहेछ त? आफै पत्ता लगाउनु भनि झपारेर पठाएका थिए रे । त्यस्तै पौराणिक ग्रन्थ महाभारत अनुसार हस्तिनापुर राज्यको विभाजन पश्चात पाण्डवहरुले स्थापना गरेको राज्य इन्द्रप्रस्थमा पाण्डुका जेष्ठ सुपुत्र युधिष्टिरको राज्याभिषेकको दौरानमा गरिन लागेको अग्र पूजाको विषयलाई लिएर विवाद खडा भएको थियो । चेदी देशका नरेश सिसुपालले भगवान श्रीकृष्णको मान सम्मान र अग्र पूजा गरेको विषय उचित नभएको र श्रीकृष्णको सट्टा कुनै अन्य गन्य मान्य व्यक्तिको पूजा गर्नु पर्छ भने पछी विवाद सिर्जना भएको थियो र अन्ततः सोहि विवादको दौरान सिसुपालको वध गरिएको थियो । त्यस्तै को ठुलो? भन्ने प्रश्न वर्तमान नेपालको सन्दर्भमा झन विवादित बन्दै गएको छ ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री पछिको मर्यादाक्रममा राख्नु, मर्यादाक्रम अनुसार तलब समायोजन गर्न सर्वोच्चको आदेश, मर्यादाक्रममा सेनाको आपत्ति, बालेन शाहलाई हेरेर मर्यादाक्रम प्रस्ताव गरिएको होइन, स्थानीय जनप्रतिनिधिको मर्यादाक्रम के हुन्छ?, राष्ट्रपति देखि सहायक सेनानी सम्म यस्तो छ नयाँ मर्यादाक्रम... यी हुन् नेपालका मूलधारका संचार साधनहरुमा बेला बेला देखिएका र सुनिएका समाचारहरुका केही शीर्षकहरु भने शुरुमा उल्लेखित शीर्षक चाहिं हालै प्रकाशित मूल समाचारको शीर्षक हो । जनताको अवस्था परिवर्तन नभएपनि २०४६ साल पछिका व्यवस्था परिवर्तन संगै अनिवार्यरुपमा सुनिने, देखिने र लेखिने दस्तावेज हो सरकारी मर्यादाक्रम । पटक पटकको मर्यादाक्रम निर्धारण विवादरहित हुन सकेन । कहिले व्यवस्थापिकाले, कहिले न्यायपालिकाले त कहिले कार्यपालिकाले मर्यादाक्रममा असन्तुष्टि जाहेर गरे भने असन्तुष्टि जाहेर गर्नेमा सेना र प्रहरी पनि अछुतो रहेनन् । तसर्थ, समयक्रममा प्रकाशित भएका उपर्युक्त समाचारका शीर्षकहरुले नेपालको सरकारी मर्यादाक्रमको विवाद कहिल्यै समाधान नहुने रहश्य (पहेली) झैँ हुन गएको छ ।
“हेर गाउँले म त सुब्बा सरह पो त हेर्दा पो मैले गाडी चलाएको छु मेरो तलब सुब्बा भन्दा बढी छ” सरकारी कार्यालयको हेभी सवारी चालक पाचौं स्तरको कर्मचारीले आफ्नो साथीलाई आफ्नो हैसियत बखान गर्दै भनेको कुराले नेपाली समाजको चित्रण गरेको भान हुन्छ किनकि २०७९ श्रावणबाट लागु तलबमान अनुसार राजपत्र अनंकित प्रथम श्रेणीको कर्मचारीको भन्दा श्रेणी विहीन हेभी सवारी चालक (पाँचौ स्तर) को तलब धेरै छ । साधारणतया नेपाली समाजमा सम्पत्ति र आय नै कसैको मर्यादाका मानक हुन् । कोहि व्यक्ति जति धनि छ अथवा जति धेरै आय छ त्यो मान्छे त्यति नै ठूलो व्यक्ति हो भन्ने पूंजीवादी सोच अद्यापि व्याप्त छ । त्यस्तो सोच अशिक्षित, सूचनाको कमि भएको समाज वा मानवीय विकास सूचकांक कम भएको ठाउँमा मात्र सीमित छैन नेपालका उच्च ओहोदामा रहेका, स्रोत र साधनमा पकड जमाएका, शिक्षित र धनि समाजमा समेत रहेको छ भन्ने कुरा शुरुमा उल्लेखित दोश्रो समाचारको शीर्षकले मर्यादाक्रम र तलब सम्बन्धि विवादले छताछुल्ल भएको छ ।
नेपाल सरकारले जारि गरेको मर्यादाक्रम अनुसार तलब समायोजन गर्न सर्वोच्च अदालतले दिएको आदेश र उक्त आदेशले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट नै प्रभावित हुने देखिएपछि सरकारले उक्त मुद्दामा पुनरावलोकनको लागि अर्जी दिएको सन्दर्भमा मर्यादा र मर्यादाक्रम सम्बन्धि थप जानकारी र छलफल प्रस्तुत गरिएको छ ।
मर्यादा शब्दले कसैको गौरव, प्रतिष्ठा र मान सम्मान जनाउंछ त्यस्तै कुनैकुराको सीमा र hadहद समेत जनाउंछ । मान सम्मान, गौरव र प्रतिष्ठाको सामाजिक पक्ष अनुसार सरकारी औपचारिक कार्यक्रमहरु संचालनमा सहज होस् भनि सरकारले विभिन्न व्यक्ति, समूह र संस्थाहरुले प्राप्त गर्ने पद, प्रतिष्ठा र सम्मानलाई बढ्दो वा घट्दो क्रममा राखेको हुन्छ त्यसैलाई मर्यादाक्रम भनिन्छ ।
सर्वप्रथम मर्यादाक्रमको अन्तर राष्ट्रिय नियम सन् १८१५ भियना कांग्रेसमा स्थापना भएको थियो । रुजवेल्ट प्रशासनले व्हाइट हाउसमा हुने औपचारिक भ्रमणहरुमा मर्यादाक्रम सम्बन्धि विगतको असहजता, अनिर्णय, भ्रम र गलत संचार जस्ता समस्याहरुको निदानको लागि सन् १९०८ मा पहिलोपटक संयुक्त राज्य अमेरिकाको मर्यादाक्रम निर्धारण गरेको थियो ।
नेपालमा पनि मर्यादाक्रम निर्धारणको इतिहास न कोट्याएर मुद्रण विभागको वेबसाइटमा प्राप्त जानकारी अनुसार राष्ट्र प्रमुख, सरकार प्रमुख, प्रधान सेनापति तथा मर्यादाक्रममा विवाद भै राख्ने सैनिक पद उपसेनानी र कनिष्ठ राजपत्रांकित पद सहायक सेनानीको वरियता मात्र तुलनात्मक रुपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।
|
व्यवस्था |
राजतन्त्र काल |
प्रजातन्त्र काल |
गणतन्त्र काल |
||
| मिति |
२०१३/०२/२९ |
२०१९/०७/२३ |
२०४७-२०६३ |
२०७४/१०/२६ |
राष्ट्रिय मर्यादा सम्बन्धि विधेयक २०८० |
|
राष्ट्र प्रमुख |
राजा – पहिलो |
राजा/रानी – पहिलो |
राजा/रानी– पहिलो |
राष्ट्रपति – पहिलो |
राष्ट्रपति – पहिलो |
|
सरकार प्रमुख |
प्रधानमन्त्री – पाचौं |
अध्यक्ष मन्त्रिपरिषद – छैटौ |
प्रधानमन्त्री – दसौँ |
प्रधानमन्त्री – तेस्रो |
प्रधानमन्त्री – तेस्रो |
|
प्रधान सेनापति |
कमान्डर इन चिफ – पन्ध्रौं |
सोह्रौं |
बाह्रौं |
नवौं |
तेह्रौं |
|
उपसेनानी |
- |
अट्ठाइसौं |
सत्ताइसौं |
पच्चीसौं |
एक्काइसौं |
|
सहायक सेनानी |
- | अट्ठाइसौं | अट्ठाइसौं | अट्ठाइसौं |
एक्काइसौं |
राजतन्त्रकाल २०१३ जेठ २९ मा प्रकाशित मर्यादाक्रममा राजपरिवारका कुनैपनि महिला सदस्य मर्यादाक्रममा राखिएका थिएनन् तथा सेनानी सम्मका पदाधिकारी मात्र वरियतामा राखिएका थिए । त्यस्तै २०१९ कार्तिक २३ को राजपत्रमा पहिलो मर्यादाक्रममा संयुक्त रुपमा राजा र रानी राखियो भने मर्यादाक्रम अट्ठाइसौंमा उपसेनानी र अट्टठाइसौंको अन्तिममा सहायक सेनानी छन् । २०४७ सालको संबिधान जारी भए पश्चात २०६३ सालको अन्तरिम संबिधान जारी नहुँदा सम्म पहिलो मर्यादाक्रममा संयुक्त रुपमा राजा र रानी छन् भने प्रधानसेनापतिलाई सांसदहरु भन्दा माथिल्लो मर्यादाक्रममा राखिएको थियो । नेपालमा २०६३ मा गणतन्त्र स्थापना पश्चात जारी गरिएको मर्यादाक्रममा भने पहिलो मर्यादाक्रमा राष्ट्रपति छन् भने जनप्रतिनिधिहरुलाई पहिलो प्राथमिकतामा राखी सांसदहरु प्रधानसेनापति भन्दा माथिल्लो मर्यादाक्रममा राखिएको छ साथै राजतन्त्रकाल र प्रजातन्त्रकालमा प्रहरी निरीक्षक भन्दा माथिल्लो मर्यादाक्रममा रहेका उपसेनानिलाई पछाडी पारिएको छ । त्यस्तै राजतन्त्रकाल र प्रजातन्त्रकालमा शाखा अधिकृत भन्दा वरिष्ठ रेहेको सह-सेनानीलाई पनि गणतन्त्र स्थापना पछिको प्रकाशित मर्यादाक्रममा शाखा अधिकृत भन्दा पछिल्लो मर्यादाक्रममा राखिएको छ ।
निजामती तर्फ जागिर खान मानसिक स्वास्थ्य राम्रो हुने र प्रतिस्पर्धामा अब्बल आए पुग्छ भने सैनिक अधिकृत हुन मानसिक र शारीरिक प्रतिस्पर्धामा अब्बल हुनु पर्दछ । सोहि स्तरको प्रतिस्पर्धात्मक परीक्षामा अब्बल भएको कठोर सैनिक अधिकृत आधार तालिम र युवक अधिकृत तालिम गरिसकेको कम्तिमा आठ/नौ वर्ष अनुभव प्राप्त राजपत्रांकित अधिकृत(सह सेनानी)लाई तत्काल छनौट भएको शाखा अधिकृत भन्दा पछिल्लो मर्यादाक्रममा राख्नु पूर्णतया अन्यायपूर्ण हुन गएको छ । त्यस्तै दुई/तीन वर्षे कठोर सैनिक अधिकृत आधार तालिम गरेको युवक अधिकृत तालिम गरिसकेको स्नातक उपाधि प्राप्त कम्तिमा चार/पांच वर्ष अनुभव बटुलिसकेको अधिकृत उपसेनानिलाई तत्काल छनौट भएको प्रहरी निरीक्षक भन्दा पछिल्लो मर्यादाक्रममा राख्नु पनि सर्वथा अनुचित छ । सेवाको प्रकृतिलाई मध्यनजर गर्दा निजामती सेवामा ज्यान जाने खतरा तुलनात्मक रुपमा कम हुन्छ जसमा देश र जनताको सेवा मुख्य लक्ष र उत्प्रेरणा हो भने जंगी सेवामा ज्यान अर्पण गर्न सक्ने सम्मको प्रेरणा जरूरी छ । देश र जनताको रक्षा पहिलो प्रथामिकता हो भने आफ्नो ज्यान र परिवारको कल्याण अन्तिम प्राथमिकता हो । दुई दशक पहिलेको माओवादी द्वन्द्वको दौरान, २०७२ सालको महाभूकम्पको दौरानको अवस्था मनन गर्दै देशमा कुनै संकट आइपरेमा सबैले अन्तिममा आश र भरोषा गर्ने संस्था पनि सेना नै हो भन्ने यथार्थलाई आत्मसात गर्नै पर्दछ । मर्यादाक्रम निर्धारण गर्ने कार्यपालिका हो र कार्यपालिकामा निजामती कर्मचारी र सरकारमा संलग्न नेताहरुको वर्चस्व हुने भएकोले नागरिक सर्वोच्चताको नाममा जनप्रतिनिधिहरुलाई पहिलो र निजामतिकर्मचारीलाई दोस्रो प्राथमिकतामा राखिएको हुन सक्छ साथै सैनिक संगठनको अघोषित भूतको त्रासले सैनिक अधिकृतहरुलाई मर्यादाक्रममा पनि पछी पार्न बल पुगेको हुन सक्दछ । मर्यादाक्रम निर्धारण गर्ने मानकहरुमा सम्बन्धित संस्थाको वरिष्ठताको साथै उक्त संस्थामा आवद्ध हुने प्रेरणा र योग्यतालाई पनि उत्तिकै महत्व दिनु जरूरी छ ।
को ठूलो? को अहमता र घमण्ड विर्सेर सरकारी पद र व्यक्तिको योग्यता, सामर्थ्य, जनप्रियता, उपयोगिता, महानता लगायत कुराहरुलाई केन्द्र विन्दुमा राखि समय परिस्थिति, प्रशासनिक संरचना, आदेश शृंखला (चेन अफ कमाण्ड) नबिग्रिने तथ्य मनन गर्दै प्रशासनिक संरचना अनुसारका पद र नियुक्तिलाई उक्त नियुक्तिभर सम्बन्धित पदको वरिष्ठता कायम गर्ने गरि, त्याग, समर्पण र प्रेरणा समेतलाई मध्ये नजर गरि कार्यपालिका, व्यस्थापिका र न्यायपालिका लगायत फौजी संगठनहरुको समेत संलग्नतामा वृहत छलफल पश्चात मात्र विवादरहित मर्यादाक्रम निर्धारण गर्नु पर्दछ । सबै सरकारी कर्मचारी, संवैधानिक निकाय, संघ, संस्था, तह र तप्काले अपनत्व ग्रहण गरेमा मात्र मर्यादाक्रम वास्तवमै मर्यादित हुनेछ अन्यथा को ठूलो? भन्ने अहमता र घमण्डले भरिएको प्रश्न तपाईलाई ठुन्ग्न हर हमेशा तयार रहनेछ ।
.gif)