सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सहिद दिवसको सान्दर्भिकता


बुधबार, माघ १६ २०८१
  • 681
    Shares

  • images
    images
    सहिद दिवसको सान्दर्भिकता

    जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै माघ १६मा देशभर सहिद दिवस मनाइँदै छ।

    विश्वमा आफ्नो देशका बहुसंख्यक जनताको स्वार्थको अगाडि लामो सङ्घर्ष गर्दागर्दै उद्देश्य प्राप्तिका लागि आफ्नो जीवन नै उत्सर्ग गर्ने, जीवन आहुति दिने वा मृत्युवरण गर्ने व्यक्तिलाई सम्मान गर्न शहीद घोषणा गर्ने प्रचलन छ । शहीदले देखाएको मार्गमा लागिरहन तथा ती महामानवहरूको बलिदानको गाथा भावी पुस्तालाई जानकारी गराउन सहिद दिवस मनाउने प्रचलन संसारभरि नै चलेको देखिन्छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र आत्मसम्मानका लागि अनवरत र अथकित सङ्घर्ष गर्ने क्रममा तत्कालीन शासकबाट मृत्युदण्ड पाएकाहरुलाई पनि सम्बन्धित व्यक्तिको योगदानको स्मरण गर्न शहीद घोषणा गर्ने परम्परा चलेको हो ।

    अब नेपालको सन्दर्भतिर लागौं माघ १६ को दिन विशेष गरि नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज वुलन्द गर्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गर्ने गरिन्छ। भित्री मनले बडो महत्वका साथ मनाउनुपर्ने दिवस हो सहिद दिवस । राजनीतिक परिवर्तनको एउटा ऊर्जाशील चिनो र गौरवका रूपमा लिइने राष्ट्रिय दिवसका रुपमा  सहिद दिवस २००७ सालको प्रजातान्त्रिक आन्दोलन पश्चात् निरन्तर रुपमा मनाइँदै आएको छ ।

    इतिहास देखि आज सम्म राणा शासन विरुद्धको आन्दोलन देखि ०६२-०६३ को जनआन्दोलन , शसस्त्र माओवादी जनयुद्ध, विभिन्न जातीय आन्दोलनहरु, मधेस आन्दोलन, लैङ्गिक र पिछडावर्ग आदि तमाम आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरुको ‘रूप जे-जस्तो भए तापनि सार एउटै थियो त्यो हो सार्वभौम नेपली नागरिक लाई रैती वाट नागरिक बनाउने । ति महान् सहिदका भावनाका सार भनेको सदियौं देखि वञ्चित भएका अधिकारको सुनिश्चित गर्ने, सम्पूर्ण नेपाली जनताको मर्म र भावना समेट्ने लोकतान्त्रिक संविधान निर्माणपछि समुन्नत, समृद्धि र समावेशी सहित सुशासन तथा शान्ति र अमनचयन युक्त राज्य/समाजको निर्माण नै हो । 

    जव ईतिहासका ती विर सपुतहरुको विरंगनाका कथा सम्झिन्छु तब आफु भित्र पनि वीरताको साहससँगै जोसले शरिरमा काँडा उम्रिन्छ । कति योगदान छ तिनको जसले अप्ठ्यारोमा देशका लागी लडे , खुकुरीको धारमा बाँचेर लडे र  खुकुरीका भरमा देशलाई बचाए । क्रान्ति र शान्तिको अभिष्टका खातिर प्राणोत्सर्ग गरे । अन्यायको विरुद्धमा आवाज घन्काउने सहिदका बलिदानीसँग नेपाल आमाको अटुट नाता छ । ती सपुत नेपाल आमाका गौरव जसले प्रजातन्त्र प्राप्तिका निमित्त प्राण दिए , हाँसी हाँसी देशको निम्ति फाँसी चढे र माटोको माया गरेर यो देशलाई मुटु सुम्पिए । ती सहिद जसले व्यक्तिगत स्वार्थको पुन्तुरो बिर्सेर देशको स्वतन्त्रताका लागि लडे आज तिनै सहिदको स्मरणमा कलम चलाउदै गर्दा र देशको दुरावस्था केलाउदै गर्दा कतै यो देशले सहिदको अपमान त गरिहेको त छैन भनि मन भक्कानीएर आउंछ ।

    विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए। उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ।पछिल्लो कालखण्डमा निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झना तथा उच्च सम्मान पनि यसै दिवसमा गर्ने गरिन्छ। 

    वीर पुर्खाको योगदानसँग रमाएको इतिहासमा नेपाली सान र गौरवको चिन्ह छ । आजसम्म पाएका सुन्दर उपलब्धिलाई सहिदका रगतले कोरेर सार्थकता दिएको यथार्ता कसैले विर्सने कुचेस्टा किमार्थ स्वीकार्य हुन सक्दैन । आजको सान र हिजोको स्वाभिमानको लागि बलिदान दिनु कुनै केटाकेटी खेल थिएन , पारिवारिक स्वार्थलाई तिलाञ्जली दिएर नेपाल र नेपालीको मर्म बोध गर्ने खुबी ती योद्धामा थियो । सहिदले परिवर्तनका निम्ति, ज्यादतिका निम्ति आवश्यकतालाई नियालेर प्राण आहुति दिएको हुन्छ । आफ्नो स्वाभिमान, जाति, भाषा, संस्कृतिको रक्षार्थ मृत्युको बलिवेदीमा आफुलाई चढाएको हुन्छ  । घर, परिवार, आमाको न्यानो काखलाई त्यागेर परिवर्तनको हुङ्कार मच्चाइँदा प्राण उत्सर्ग गर्ने हिम्मत सबैमा हुदैन।विभिन्न कालखण्डमा जनताको स्वतन्त्रता निमोठिएको, आस्था चुँडिएको अनि मानवतालाई कालकोठरीमा थुनिएको वेदनाको विरुद्ध, शासनका विपक्षमा बोल्दा कयौं सपुतहरुले  आफ्नो अमूल्य प्राणलाई यो देशका निम्ती हांसीहांसी उत्सर्ग गरे तिनै  सपुतहरुलाई श्रद्धापुर्वक हार्दिक नमन छ ।  

    यद्यपि क्षमा चाहन्छु, वर्तमानमा सहिद घोषणाको राजनीतिले सहिदको आत्मामा कतै नकतै चोट पुर्याउने कार्य गरेको छ । देश र जनताले नयाँ संविधान प्राप्त गरेपछि त झन् सहिद दिवसको औचित्यलाई राजनीतिक दलहरुले नै निरर्थक तुल्याए ,कुनै बेला फलानो सहिद आफ्नो र ढिस्काना सहिद अर्काको भनेर झगडा गर्ने राजनीतिक दलहरुले सहिदलाई आफ्नो सत्ता आरोहणको भर्याङ बनाइरहे। सहिदलाई केवल भाडाका खेताला झै व्याख्या गरे र उनको मुल्य तोके । सहिदका परिवारलाई दुई-चार लाख रकम दिएर सहिदको सम्मान हुदैन , सहिदहरुले आफ्नो प्राण आहुती  आर्थिक क्षतिपुर्तिका लागी नभई सदियौं देखि अधिकार वाट वंचितहरुको अधिकार सुनिश्चितताका लागी गरेका थिए तर तिनै सहिदहरुलाई देशको सहिद होईन दलको सहिद बनाईयो दुर्भाग्य यहि हो ।  

    तर, सहिद त्यो होइन जसलाई सहिद हो भन्नुपर्ने, जनाउनु पर्ने होस् अर्थात् सहिद त्यो हो जसलाई समाज र संसारको खुला हृदयले सम्मान गर्न नचुकोस् । सदैव जुगजुगन्त स्मरणका पानामा सम्हालेर राख्न पाओस् । देशका निम्ति हरेक नागरिकले विभिन्न कोणबाट प्राण दिएकै हुन्छन् । माटोको अटूट नाता गाँसेर हरपल प्रगतिपथमा लम्किरहँदा नेपाल आमाको मुहारलाई चम्किलो बनाउन निःस्वार्थ लड्ने सच्च सपुत नै यो देशका सहिद हुन। नेपाल आमाको इतिहासमा थुप्रै अज्ञात सहिदका नाम पर्दामा नआएका भए पनि ती सहिदको त्याग र वलिदानले यो नेपाली शिर कहिल्यै झुकेन ।वीर गोर्खालीको इतिहाससँग अङ्कित नाममा सहिदको त्याग र वलिदान जोडिएकोछ ।

    कुनै पनि सहिद र उनका भावनाले सीमा छुट्याएको थिएन, जात तोकेको थिएन, पहिचान साँघुर्याएको थिएन । पहाड, हिमाल, तराई वा मधेस जस्ता सीमा छुट्याएर भौगोलिक विखण्डनमा लागेका थिएनन् । आपसी विभाजनको सन्देश पनि दिएको थिएन । न त दलहरुलाई सत्ताको नाफा बाँडफाँट गरी खाऊन् भनी सहादत भएका थिए् । सहिदको आशय अझै असभ्य बन, संसदहलमै जनावरीय स्वभाव प्रदर्शन गर, माइक, कुर्ची भाँच, बहुमत र अल्पमत र गठबन्धनका नाममा दमन गर भन्ने अवश्य थिएन ।सहिदका फोटोमा माल्यार्पण गर्दैमा वा  केवल दुई-चार ठाउँमा गेट बनाइँदैमा, सडक र चौतारोको नाम परिवर्तन गर्दैमा, साइनबोर्ड फेर्दैमा र ओठेभक्ति देखाउँदैमा सहिदको मर्यादा, मान र सम्मान कसरी हुन्छ ?

    सहिदका बलिदानले स्थापना भएको यो सुनौलो लोकतन्त्रमा स्वतन्त्रताका नाममा  केवल छाडातन्त्र, गुटतन्त्र, असहिष्णुता, एक आपसमा झगडा गर्ने स्वतन्त्रता बाहेक जनताका जनजीविकाका सवाल झन् नाजुक र कमजोर हुदै गएका छन ।सायद माथिवाट हेरिरहेका सहिदहरुले पनि आफ्नो वलिदानीलाई ब्यर्थै भए छ कि भनि आफैले आफैलाई धिक्कारी रहेका होलान र भनिरहेका होलान जति रजाई गर्छौ गर हाम्रा भावनाको जति व्यापार गर्छौ गर तर यसरी लोकतन्त्र को उपहास नवाउ । आज सहिद दिवश मनाई रहदां पुन: ती ज्ञात अज्ञात सहिदहरु प्रति भावपुर्णा श्रद्धासुमन अर्पण गर्दै सवै राजनितिक दल तिनका नेता तथा कार्यकर्ताहरुमा सदबुद्धी आओस हार्दिक कामना छ ।

     


  • सम्बन्धित विषय:

  • # सहिद दिवस


  • प्रतिक्रिया दिनुहोस