बर्सिन्छन् कविता कथा गजल त्यो मुस्कान प्याला पिए
ढुङ्गा बन्छ सजीव ती नयनका पर्दा हटायी दिए
बोलीमा छ मिठास गीत नभइ सङ्गीतकी धून हौ
देखिन्छ्यौ तर भेट हुन्न कहिले आकाशकी जून हौ
तिम्रो सौम्य मुहार तान्छ सहजै उफ्रिन्छु लौ बेशरी
बच्चाले जलमा तकेर कहिले खुशी भए झै गरी
बोलेको पनि सुन्दछु हरघडी जस्तो तिमी साथ छौ
देखिन्छ्यौ तर भेट हुन्न कहिले आकाशकी जून हौ
लाग्दा दिक्क सुटुक्क जान्छु म भनी एकान्त संसारमा
सोचेमा पनि खै सिपाही जसरी रोकेर भंसारमा
जादैछौ भन के लगेर मनमा भन्दै अहो छाम्दछ्यौ
देखिन्छ्यौ तर भेट हुन्न कहिले आकाशकी जून हौ
यो कस्तो सपना भनेर कहिले आखा उघार्छु उठी
चिसोमा म नुहाउछु तर पनि जादैन त्यो मोहिनी
योगीझै परमात्मको रसमयी यो साधनाझै छ लौ
देखिन्छ्यौ तर भेट हुन्न कहिले आकाशकी जून हौ
.gif)