शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

परम्परागत पानी घट्ट


बिहीबार , फागुन २६ २०७८
  • 3.3K
    Shares

  • images
    images
    परम्परागत पानी घट्ट


    मानव सभ्यताको विकाससँगै मानिसका आवश्यकताहरुले विभिन्न किसिमका ज्ञान विज्ञानको पनि सिर्जना भएको पाइन्छ । हाम्रा पूर्खाहरुले जीवन जिउने क्रममा आइपरेका विविध समस्याहरुको समाधानका लागि विभिन्न उपायहरुको खोजी गर्दै गए । दैनिक जीवनलाई सजिलो पार्नका निमित्त आफूलाई आवश्यक पर्ने विभिन्न सरसामग्रीहरुको पनि खोजी गर्दै गए । यसै आधारभूमिमा चडेर मानिस वर्तमान विज्ञानको युगमा पुगेको पाइन्छ । आवश्यकता अनुसार ससाना समग्री निर्माणदेखि लिएर वर्तमान विश्वव्यापीकरणको युग सम्म आइपुग्दा हाम्रा पूर्खाहरुले थुप्रै संघर्ष गर्नुपरेको र जसको फलस्वरुप हामीले हाम्रो दैनिक जीवनलाई सजिलैसँग यापन गर्न सम्भव भएको छ । यस्तै विभिन्न किसिमका आवश्यकता परिपुर्ति गर्ने क्रममा गरिएको खोज तथा अनुसन्धान तत्कालीन समयका ढिकी, जातो, पानीघट्ट आदि पनि हुन । मानिसले अन्न पिसेर पकाइखाने कुराको सुरुवातदेखि नै यस्ता खोजहरु भए जसले गर्दा हातले चलाउनुपर्ने जातोलाई पानीले चलाइर पिठो बनाउने कार्य सम्भव भयो । डोट्याली भौतिक लोकवार्ता अन्तर्गत पानीघट्ट पनि हाम्रा पूर्खाहरुको खोज तथा अनुसन्धानको उपज हो । पानीघट्टका लागि आवश्यक ढुङ्गो सबै ठउँमा पाइदैन । यो एक विशेष प्रकारको कडा ढुङ्गोबाट छिनोले गोलो आकार दिइने र बिचभागमा गोलो प्वाल पारिन्छ । घट्टका लागि यस्ता दुईवटा ढुङ्गाहरु आवश्यक पर्दछन् । यसरी घट्ट बनाइसकेपछि यसका लागि अर्को महत्वपूर्ण वस्तु भनेको पानी हो । ससना खोलबाट कुलो काटी पानी ल्याएर द्यार तथा पानीमा छिटो नकुहिने काठको पानी वेगसँग बगाउने पनालो बनाइन्छ । उक्त पनालोबाट वेगले बगेको पानीले काठको टर्वाइनजस्तो घुम्ने साधन फेदाडो बनाइएको हुन्छ जसलाई बेउ र फलामको काँगियोको माध्यमले घट्टसँग जोडिएको हुन्छ र फेदाडो घुम्दा घट्ट घुम्दछ  । घट्टलाई हलुको या गह्रुङ्गो पार्ने काम आडोले गर्दछ । आडो जति माथि टिप्यो घट्ट उति हलुको र तेजसँग घुम्ने गर्दछ । मसिनो पिठो बनाउनुपरे आडो बसाउने र खस्रो पिठो बनाउनु परेमा आडो बसाउने काम गर्नु पर्दछ । घट्टमा अन्न खसाउनका लागि खास गरी काठको डालो घट्टको ठिक माथि झुण्ड्याइएको हुन्छ । र त्यसमा घोडीले डालीलाई हल्लाउने काम गर्छ र अन्नका दाना घट्टको ओइरो या प्वालमा खस्ने र घट्ट घुमेपछि आटोको रुपमा बाहिर निस्कन्छ । अझै पनि सुदूरपश्चिमका कयन भागमा पानी घट्टको प्रयोग भइरहेको पाइन्छ । घट्टमा पिसेको आटा गुणस्तरीय र स्वादिलो हुने गर्दछ । घट्ट विशेष गरेर एक समुदायको एक हुने भएकाले पालैपालो गरी पिस्ने गर्दछन् । घट्ट हेर्दा सामान्य जस्तो लागे पनि यसको सबै पक्रिया राम्ररी अध्ययन गर्ने हो भने यो एको त्यतिबेलाको वैज्ञानिक चमत्कार नै थियो । घट्टको महत्वका सम्बन्धमा डोटेली लोक समुदायमा प्रचलित गीत पनि रहेको छ, जुन यसप्रकार छ 


    घट्टको मसिनो धुलो जाताराको बाडी
    हरान पस्या नाइ धेकिना आब कठै लाडि  


    यस गीतको पहिलो हरफले पनि घट्टको महत्वलाई दर्साएको पाइन्छ । घट्टको मसिनो पिठो र जातोमा पिसेको बाडी एकदमै स्वादिलो हुने कुरा यसबाट प्रस्ट पार्न खोजिएको छ । समाजमा हुने विभिन्न सामाजिक तथा साँस्कृतिक कार्यमा भोजनका लागि पिठो तयार पार्न घट्टको प्रयोग हुने गर्दथ्यो । साथीभाईहरुसँग रातभरी घट्ट बस्दाको रमाइलोपन पनि एक विशेष प्रकारको हुने गर्दथ्यो । रातभरी यसरी सामाजिक, वैज्ञानिक, साँस्कृतिक तथा आर्थिक महत्व बोकेको पानीघट्टको संरक्षण गर्नु आज हामी सबैको कर्तव्य बन्न पुगेको छ । 

    ghgh.png

     




    प्रतिक्रिया दिनुहोस