बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

राणा शासकले सुरुङसहित निर्माण गरेको ऐतिहासिक गर्भा दरबार जीर्ण बन्दै


पश्चिम प्रेस
बिहीबार , भदौ २७ २०८१
  • 408
    Shares

  • images
    images
    राणा शासकले सुरुङसहित निर्माण गरेको ऐतिहासिक गर्भा दरबार जीर्ण बन्दै

    कैलाली ।  चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा बर्सेनि जीर्ण बन्दै गइरहेको छ। विसं १९८४ मा खड्कशम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो ।

    सरोकार भएका वाला निकायले संरक्षणमा चासो नदिँदा ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार दिन प्रतिदिन खण्डहरमा परिणत हुँदै गएको स्थानीय बताउँछन् ।

    राणाकालीन दरबार जीर्ण हुँदै जाँदा पानी चुहिएर पर्खाल भत्किसकेको स्थानीय प्रेम गुरूङले बताए । लामो समयदेखि भवन प्रयोगविहीन बनेपछि भत्किँदै गएको भन्दै दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको उनले जानकारी दिए ।

    ऐतिहासिक दरबारको संरक्षण गर्नसके पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको गुरूङले उल्लेख गरे । ‘राणाकालमा निकै चहलपहल हुने गर्भा दरबारमा २०३२ सालपछि सुनसान बन्दै गएको छ । उक्त दरबारमा २०३३ सालपछि कोही पनि बास नबसेका यहाँका जेष्ठ नागरिकहरु बताउनुहुन्छ’, उनले भने ।

    हावापानी, मौसम र भौगोलिक रुपमा उपयुक्त स्थान भएकाले राणाशासकले गर्भालाई रोजेको हुनसक्ने स्थानीयको बुझाइ छ । पम्परागत ईट्टामा मासको गाह्रो लगाएर निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् ।

    दश रोपनी क्षेत्रफलमा फैलिएको उक्त दरबार तीन खण्ड र तीन तले छ । तत्कालीन राणा शासकले सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङसमेत बनाएको छ । सुरुङ अहिले पुरिएर छ ।

    राणा शासक पोत उठाउन खैराला दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैँनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेका जानकारीहरु बताउँछन् ।

    ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा रु ६० लाख, आव २०७६/७७ मा रु ५० लाख बजेट विनियोजन गरेको थियो ।

    बजेट विनियोजन गरे पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वन हुन नसकेको पूर्वमुख्मन्त्री दीर्घ सोडारीले बताए । उनले सो दरबार पुरातत्व विभागअन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणका लागि विभागको टोली ल्याएर स्थलगत अवलोकन गराएको जानकारी दिए ।

    ‘विभागको टोलीले स्थलगत अध्ययन गरेर त्यसको सम्पूर्ण जानकारी लिएर फर्केको हो’, सोडारीले भने, ‘पुरातत्व विभागले दरबारको मर्मतसम्भारका लागि के गर्दैछ भन्ने कुराको सोधखोज भने गरिएको छैन।’

    चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा राखेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । गर्भा दरबार संरक्षण गरी पर्यटन प्रवर्द्धनको योजना बनाइएको उनले उल्लेख गरे ।

    पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिएको भन्दै बजेट सुनिश्चित भएपछि योजना कार्यान्वयन गरिने उनले जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस