डोट्याली लोक समुदायमा आरु पाकाइ आरु फुलाइ जन आस्या बाबा भन्ने गीति उखान रहेको छ । विशेष गरी आरु फुल्ने र पाक्ने बेला भोकमरी हुने भएकाले यो समयमा पाहुना आएमा सेवा सत्कार तथा भोजनका लागि समस्या पर्ने भएकाले यस्तो भनिएको हुनपर्छ । सुदूरपश्चिम पहाडी क्षेत्र भएकाले अन्नपातको उब्जनी कम हुने र अहिले जस्तो यातायातको सुविधा पनि नभएकाले अर्को खेती नपाकुञ्जेल सम्मका लागि अन्नपातको जोहो गर्न मुस्किल पर्दथ्यो । यस्तो समयमा कि त मानिसहरु बेसा (अन्न खोज्न काम) गर्थे कि मेल, नास्पाती, तथा गिठा, तौड आदि कन्दमुल खाएर गुजारा गर्ने गरेको अहिले पनि बुढापाकाहरुले सुनाउँछन् । कतिपय अवस्थामा मेलका फल सुकाएर त्यसैको पिठो बनाइ रोटी तथा लिटो बनाएर खाने गरेको कुराहरु पनि सुनिन्छन् ।
कुलो लाग्ने जमिन सबैको नहुनु र पाखो जमिन त्यसमै कुनै समय लामो समयसम्म खडेरी पर्दा अन्नको अकाल हुने गर्दथ्यो । किनेर खान पनि बजारको व्यवस्था थिएन । यस्तो समयमा मानिसहरु अन्नपात खोज्न टाढा टाढाका गाउँसम्म पुग्ने गर्दथे । कतिपय अवस्थामा अन्न मिल्दथ्यो भने कतिपय अवस्थामा रित्तैहात घर पर्कनु पर्दथ्यो । दैनिक जीवन चलाउन मानिसहरुलाई धौ धौ पर्ने गर्दथ्यो । त्यसैमा ठूलो परिवार हुनेहरुका लागि त एकदमै समस्या पर्दथ्यो । यस्तो समस्याका कारण मानिसहरु बसाई सर्न पनि बाध्य हुन्थे ।
.gif)