बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

शास्त्रीय र लौकिक रूपमा संयोजित पर्व : श्रावणी


सोमबार, साउन २९ २०८०
  • 1.7K
    Shares

  • images
    images
    शास्त्रीय र लौकिक रूपमा संयोजित पर्व : श्रावणी

    श्रावण महिनाको शुक्लपूर्णिमाको दिनलाई  श्रावणी उपाकर्म, ऋृषि तर्पणी र रक्षाबन्धनको दिनका रूपमा मानिन्छ । यो पर्व वैदिक परम्पराको महत्वपूर्ण दिन पनि हो ।


       सम्प्राप्ते श्रावणास्यान्तम् पौर्णमास्याम्  दिनोदये
       स्नानम् कुर्बितमतिमान् श्रुतिस्मृति बिधानतः 


    श्रावणी पूर्णिमाका दिन दिन शुद्धि नभएको अवस्थामा भने श्रावणी कृत्य नागपञ्चमीमा सम्पन्न गर्ने गरिन्छ । शुक्ल यजुर्वेदी उपाकर्म श्रावणीमा हुन्छ भने सामवैदिक उपाकर्म भाद्र शुक्ल तृतियामा गर्ने विधान छ । सामवेदी उपाकर्म गर्ने तिथि असौजमा पर्ने भएमा भाद्र मसान्त भित्रै गर्नु पर्ने शास्त्रीय मान्यता रही आएको छ ।


    हिन्दु पञ्चाङ्ग अनुसार “चंद्रवर्ष के प्रत्येक माहका नामकरण उस महीनेकी पूर्णिमाको चंद्रमाकी स्थिति के आधार पर हुआ है। ज्योतिषशास्त्र में २७ नक्षत्र माने जाते हैं । इन्हीं में एक है श्रवण मान्यता है कि श्रावण पूर्णिमाको चंद्रमा श्रवण नक्षत्र में गोचररत होता है। इसलिये पूर्णिमांत मासका नाम श्रावण रखा गया है और यह पूर्णिमा श्रावण पूर्णिमा कहलाती है । (भारतीय ज्ञान कोश)
    यो पर्व यसकारण  महत्वपूर्ण छ कि यो आत्मशुद्धिको पर्व हो । ऋषि (रिसि÷रिखि) बन्दन (तर्पण) को पर्व हो, प्रायश्चितको पर्व हो । प्रायश्चित,  स्नानदान,  सूर्याराधना,  ऋृषि तर्पण, यज्ञोपवित धारण, रक्षाबन्धन तथा अग्निहोत्र यस पर्वका कृत्य हुन ।
    यस पर्वका सन्दर्भमा व्यापक रूपमा शास्त्रीय निर्देश पाइन्छन् :


    ब्राह्मणैक्षत्रियवबैश्यैःशुद्रै रन्यैश्चमानवै 
    कर्त्यब्यो रक्षिताचारो द्विजान्सम्पुज्यशक्तितः


    नर्मदोत्तरभागे कर्तब्यंसिहयुक्तके 
    कर्कटेसंस्थितेभानां उपाकुर्यात दक्षिणे 


    संङ्क्रान्तिर्गहणंवापि पौर्णमास्याम् यदाभवेत 
    उपाकृतिस्तु पञ्चम्यांकार्या बाजसनेयिभिः


    श्रावण्यांपौर्णमासाढ्यां वोपाकृत्य वौधायनः
    वह्वृचांश्रवणेश्चैव हस्तर्क्षे सामवेदी 


    भद्रायां द्वे न कर्तव्येहो श्रावणी फाल्गुनी तथा 
    यदिस्याद् श्रावणं पर्वम् ग्रहसङ्क्रान्ति दुषितम् 


    उपाकर्म न कुर्बित क्रमातसामग्यजुर्विद् 
    स्यादुपाकरणं शुक्लपञ्चम्यां श्रावणस्य तु 


    घनिष्टाप्रतिपद्युक्तम् त्वाष्टऋृक्ष समन्वितम्
    श्रावणम् कर्म कुर्बित ऋृकयजुर्सामपाकाः (धर्मसिन्धु÷निर्णयसिन्धु)


    उपाकर्मको अर्थ प्रारम्भ गर्नु हो ।उपाकरण भनेको आरम्भका लागि निमन्त्रण हो । यस दिनलाई खासगरी यजुर्वेद र सामवेदमा गुरू परम्परामा शिष्यहरुको गुरूहरू सङ्ग  एकत्रित हुने  दिनका रूपमा मानिन्छ । गुरुकुलका प्रवर्तक ऋृषीहरूको सम्मान गर्दै ऋृषीहरूको पुजन तथा तर्पण गरिने भएकाले रिसितर्पणी भनिन्छ । सुरक्षा संरक्षण र रक्षणका लागि  वैदिक तथा पौराणिक  रूपले शुद्धीकरण तथा अभिमन्त्रित रक्षासूत्र ग्रहण गरिने  दिन रक्षाबन्धन पूर्णिमा  भनिन्छ ।


    येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः
    तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल 

    अर्थात् जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन (डोरो) बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँद्दछु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ ।  यस मन्त्रद्वारा रक्षा बाधिन्छ। यस बाहेक रक्षाबाध्ने लौकिक मन्त्र – रक्षा रक्षा कै कि रक्षा इष्टदेवताकि रक्षा, कुलदेवताकि रक्षा, दुर्गा भवानीकि रक्षा, सीतापार्भताकि रक्षा, पाँछ पाण्डबकि रक्षा, –––––रातै राखै चन्नरमा, दिन राखै सुरिज, सदा राखै धर्तिमाता, रक्षा सुरक्षाम् भुयात्  पनि प्रचलनमा रहेको पाइन्छ। 


    यस दिन बाहेक यज्ञयागादिहरू कै पुर्वाङ्गमा रक्षाविधानको शास्त्रीय विधान छ र यज्ञको मूलकर्म प्रारम्भ वा समापनमा यज्ञसूत्र ग्रहण गरिन्छ  ।सुदूरपश्चिमको बहुसंख्यक समुदायमा घरलाई पनि रक्षासूत्रले बेर्ने बर्तमाला लगाउने गरिन्छ ।


    रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मर्यादा र संयमको प्रतीक हो र टीका आत्म स्वरुप स्थितिमा स्थित हुने प्रतीक हो । सूत्र कुनैपनि वस्तुलाई अविच्छिन गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रथित मानिन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।यस्तो आध्यात्मिक महत्व रहेको छ।


    उत्तर भारतमा प्रचलित राखिको लोक प्रचलन यस्तो रहेको छ जो बिस्तारै नेपाली समुदायले पनि आत्मसात गर्दै लगेको पाइन्छ।


    “उत्तर भारत के अधिकतर हिस्सों में इस दिन बहनें अपने भाइयों की कलाई पर राखी बांधती हैं। उनकी आरती उतारती हैं। इसके बदले में भाई अपनी बहन को उपहार तथा रक्षाका वचन देता है। इस दिन भाई राखी बंधवाने के लिए दूर–दूर से आते हैं । (विकिपेडिया) 


    त्यसलाई पनि प्रवरमान अनुसार त्रि(३)या पञ्च(५)पटक बेर्ने हो ।मृत्युसुतक परेमा हातमा बाधिएको रक्षासुत्र राखिदैन भने श्रावणीमा बाधिएको रक्षासुत्र लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँध्ने लोक प्रचलन पाइन्छ।


    आत्मशुद्धिका लागि प्रायश्चितको विधान अनुसार  दश विधस्नान गर्ने , सककस्कारित भै कर्माधिकारका लागि  योग्य बन्ने र स्वाध्यायका लागि तयार हुने  पर्वका रूपमा श्रावणी रहन्छ।


    वैदिककालमा वैदिक परम्परा अनुरूप  गुरुबाट उपवित भै रक्षण गरिन्थ्यो । हाल आएर राखिको लोकाचारमा परिणत हुदैछ । संस्कारद्वारा सककस्कारित दोस्रो जन्म भयेको मानि द्विज कहलाइन्थे । नविन जनैको संस्कार सहित ग्रहण गरिनाले जनै पुर्णिमा भनिन्छ ।यो दिनमा गंगास्नान पुर्वक धार्मिक कृत्य पनि गर्ने प्रचलन पाइन्छ। धेरै जसो ठाउँमा नदीतट, मन्दिर वा घर मै एकल÷सामुहिक रूपमा श्रावणी कृत्य गर्ने गरिन्छ। । साथै वर्षभरिका लागि जनेउ अभिषेक गरेर राख्ने तथा आफन्तलाई बाँडने परम्परा पनि रहेको पाइन्छ । 


    सामवैदिकहरूले उपाकर्म भाद्र शुक्ल तृतीयामा हुन्छ । असौजमा सामवैदिक उपाकर्म तिथि पर्न गएमा नगर्ने विधान भएकाले शुद्ध भाद्र मै उपयुक्त दिनमा गर्ने शास्त्रीय निर्णय रहेको छ। यस पर्वका विविध वैदिक एवम् पौराणिक प्रसंग पनि छन्। यसको धार्मिक महत्व यसरि पनि रहन्छ––––


    ●  श्रावण पूर्णिमा पर रक्षाबंधन मनाने की परंपरा है, अतः इस दिन देवी–देवताओं का पूजन कर रक्षासूत्र बांधें।
    ●  इस दिन पितरों के लिये तर्पण भी करना चाहिये।
    ●  गायको चारा, चीटियों और मछलियोंको आटा व दाने डालना चाहिए।
    ●  श्रावण पूर्णिमा के दिन चंद्रमा अपनी पूर्ण कलाओं में होता है अतः इस दिन चंद्रमा की पूजा करने से चंद्रदोष से मुक्ति मिलती है।
    ●  इस दिन भगवान विष्णु और लक्ष्मी की पूजाका विधान है। विष्णु–लक्ष्मी के दर्शन से सुख, धन और समृद्धि कि प्राप्ति होती है।
    ●  श्रावण मास में भगवान शिव की विशेष रूप से आराधना की जाती है इसलिए पूर्णिमा के दिन भगवान शंकरका रुद्राभिषेक करना चाहिए । (अस्ट्रोसेज पञ्चाङ्ग)


    बिभिन्न समुदायहरूमा यस पर्वका आ आफ्ना शास्त्रीय एवम् लौकिक प्रचलनहरू रहेका पाइन्छन्  । सुदूरपश्चिममा “सौना पन्यु“ देविदेवताको मन्दिरमा  पूजा गर्ने र जाककत पनि हुन्छन् । मेलौली, डिलाशैनी, बडीमालिका, त्रिपुरासुन्दरी, मालिकार्जुन लगायतका प्रमुख पीठहरूमा मुख्य पुजा संगै खलो छुने गरिन्छ ,बोगाल मनाइन्छ, हबि चढाइन्छ । चाडपर्व मनाउने सम्बन्धमा पनि पैलि बोगाल पैथिर चैतोल भन्ने लोक मान्यता छ । सौनापन्युकि जाँतकि सात्विक अर्चन पछि नै खलो छुन्या परम्परा अनुसार  औपचारिक रूपमा भदौमा चैत डेउडा आदि गाउने परम्परा  छ :


    ए ! कालिगाइका पुछड़ैनि पाटका फुरूका 
    दाइन भया इष्टकुल्या दाइना  भयै दुरगा ।
    बैतड़ी तल्लो स्वराडको प्रसिद्ध शक्तिपीठ मेलौलीमा सौना पन्युका सन्दर्भमा गाइने चैत चौखामको खेलमा यसरी गाइन्छ ः
    कै दिन होलि साउन भूतियाकि जाँत 
    कै दिन होलि देवी दुरगाइकि जाँत 
    साउन चतुर्दशी होलि भूतियाकि जाँत
    कातिक चतुर्दशी पन्यू देवी दुर्गाकि जाँत
    छन्चर माङल कातिक पन्यू तब होलि दुरगाकि जाँत 
    त्यसै गरि साउने चतुर्दशी शुक्लको राति द्यार बस्ने महिलाले 
    खोलि दे माता खोल भवानी खोलिका केवाड़, 
    तमरि सेवा आयुँ माता खोलि दे केवाड़
    देवीका मण्डलमाञि जगिन जगाइछ,
    लिपिघसि मण्डलमाञि त जगिन जगाइछ 

    यसरी देवस्थलहरूमा स्थानीय परम्परा अनुसार गरिने पुजा आजा पछि चान्द्रमान अनुसारको श्रावणको  महिनाको अन्तिम दिन  विधिवत् रूपमा केवाड़ खुल्छन । त्रिपुरासुन्दरीमा बोगाल जाककत हुन्छ भने डिलाशैनीका केवाड़ खुल्छन र मालिकाजाँत मनाइन्छ । बाजुराको बडीमालिका मेला यसै चतुर्दशी र पूर्णिमामा भव्य रूपमा मनाउने चलन छ ।


    साउन पुनी मालिका मेला वादै बद्रीनाथ
    सञ्चो छ कि बिसञ्चो छ हजुरका गाथ

    बडीमालिका जान नसकेका  विवाहित महिला रातभर  यै पाला बडिमालिका माईले क्या वर दिन्नी भन्ने गीत गाएर जाग्राम बस्छन्। कतै भने कालिकामालिकाको स्मरण आ–आफ्नै स्थानीय देवस्थलहरूमा पनि गरिन्छ।


    बझाङको सुर्मादेवी र सुर्मा सरोवरको हरेक वर्ष जनै पूर्णिमाका दिन समापन हुने सुर्मादेवी  मेला भर्न  तीर्थालुहरुले शुक्लपक्ष एकादशीका दिन सेलाखेत ,वारील, धम्नाउ, छविस पाथीभेरे गाँउपालिकाको मुम्लामा, रहेको सुर्मा मन्दिरमा पूजा आजा गरी सुर्मा सरोवरको तीर्थयात्रा जाने  गर्छन् ।


    हरेक समुदायले आ–आफ्ना कुलदेवताहरूमा रक्षासुत्र र जनेउ अर्पण गर्दछन । लोक प्रचलनको यसै सन्दर्भमा श्रावणी पुर्णिमा र पुत्रदा एकादशी (श्रावण शुक्ल गोर्या एकादशी)लाई पनि शास्त्रोक्त वचन एकादशी ब्रतं बिना गौरीब्रतं तु नाचरेत÷श्रावणी पुर्णिमात्पुर्वम् न तु दुर्बाष्टमी ब्रतम् लाई समेत अंगिकार गरेको पाइन्छ र श्रावण शुक्ल एकादशी व्रत बसेर मात्रै गौराब्रत गरिन्छ र सौनापन्युसम्म चान्द्रमान अनुसारको  श्रावण नै हुने भएकाले गौरापर्वको मूल क्षेत्रमा पूर्णिमा गौरापर्व नमनाउने लोकमत पनि रहेको पाइन्छ।    साउन सकियो भने पछि भदौका ब्रत र पर्व खुल्छन। अहिले त  लगभग चलन हटी सक्यो पहिले श्रावणी पछि मात्रै  गोऽराको लागि टाँजो गर्ने सुरूवात हुन्थ्यो। खास गरी नयाँ कपडा समयमै सिलाउने गरी किनमेल गर्ने प्रचलन थियो । गौराको मौलिक प्रचलन छाडदै गएका र दुर्बाष्टमीमै सीमित समुदायले भने आङ्गिक पर्व परम्परा मान्ने गरेको पाइदैन।


    वर्तमानको बिडम्बना  पर्वहरूमा वणिजवाद छाएको छ । संस्कार नाम मात्रका रहेका तथा आडम्बरी पर्व बन्दै गैरहेका छन ।अहिले बजारमुखीपर्ब भएका छन् । रक्षाबन्धनको महत्व नै नबुझी बजारका राखीको बिगबिगी छ त्यो वणिजवादमा फसेको छ । हातमा बाध्नै नहुने प्लाष्टिकबाट के रक्षा हुन्छ ? मन्त्रपूत रक्षासूत्रको भावनात्मक सम्बन्ध हटेर फेसन र आडम्बरले सात्विक भाव मर्दै गएको छ । भनिन्छ– धारणात् धर्म मित्याहु धर्मो धारयते प्रजा तर धारण गर्ने योग्य नै नभएका वस्तु धारण गर्दा धर्म कहाँ रह्यो ? हुँदा हुँदा राखिको उपहार वाइनका बोतल दिने सम्म पुगेका छन । रक्षाबन्धन भन्दा पनि राखी फैलियो । समुदाय समुदाय बिचमा स्वस्थ रूपमा सांस्कृतिक आदानप्रदान हुनु पर्दछ । एक अर्को समुदायका बिचमा समन्वय र समभावको सट्टा मेरो मात्रै ठिक हो भन्ने प्रवृति बढदै गएका संकेत पनि देखा परिरहेका छन।  यो सास्कृतिक रूपान्तरण भन्दा पनि अन्थानुकरणतिर लम्कदै छ ।  ऋषि तर्पण–उपाकर्म हराउदै गएको छ । यो दिन त आफ्ना पुर्वज वंश ऋृषिहरूप्रति श्रद्धा व्यक्त गर्ने र गुरू शिष्य सम्मिलन हुने दिन हो। वैदिक मन्त्रहरूद्वारा अभिमन्त्रित पुरोहितबाट रक्षासुत्र धारण गर्ने ठाउँमा हाम्रो समाज कता डोरिदैछन भने कथित पुरोहित पनि दक्षिणाका लागि त धागो बेच्दै छैनन् ? कि भन्ने प्रश्न उठ्छ । अग्रजहरूबाट कनिष्ठले मन्त्र र सूत्र ग्रहण गर्ने तथा दिदीबहिनी र भाइ बिचको सकारात्मक एवम् आत्मीय सम्बन्ध जोडने सन्दर्भमा पनि यस पर्बको महत्व छ। चाडपर्वको प्रचलनले सामाजिक समन्वय, सम्बन्धको प्रगाढता, आत्मियताको अभिबृद्धिसंगै संस्कार– संस्कृतिको परम्परा बसाउँछ।संगै धार्मिक अभिष्टसमेत परिपुर्ति गर्दछ।


    हरेक सास्कृतिक पर्वका आफ्ना मौलिक विशिष्टता हुन्छन। कूल– वंश परम्परा तथा लोकाचारसित त्यसको सम्बन्ध रहन्छ, अहिले केही अन्धपरम्परा र आयातीत कुराहरूले सांस्कृतिक विकृति बढिरहेका छन् । समुदायका मौलिकता लोप हुदै जानु भनेको पहिचान गुमाउनु हो ।




    प्रतिक्रिया दिनुहोस