इतिहास पुराना घटनाहरुको संगालो हो । लिखित रुपमा भएको कुरा मात्रै इतिहास हो भन्ने हुँदैन । लेखेको जति सबै प्रमाणिक हो भन्ने पनि हुँदैन । खास गरी पुरानो पुस्ता इतिहासको मुख्य स्रोत हो भने त्यसैसँग जोडिएको लोकजीवन, लोकसाहित्य लगायत विभिन्न स्थान, त्यहाँ भएका चिजवस्तु सबै इतिहासका स्रोत र प्रमाणित गर्ने आधार हुन् । यस्तै इतिहासको साक्षी बनेर बसेको धज्या ढुङो पनि एक हो ।
सुदूरपश्चिमको बैतडी जिल्लाको स्थित ग्वाल्लेक क्षेत्र अन्तर्गत गताड क्षेत्रमा शीला हो धज्या ढुङो । यो एक देवशीलाका रुपमा पुरातात्विक सम्पदाका रुपमा सुरक्षित रहेको छ । परापूर्व कालमा उत्तरी क्षेत्रबाट आउने आक्रमणकारीहरुको बारेमा पश्चिमी क्षेत्रका जनतालाई यहीँ देवशीलाले जानकारी गराएर जीउधनको सुरक्षा गराउँथे । गताड क्षेत्र आग्लो स्थानमा पर्ने भएकोले यहीँ अग्लो स्थानबाट सबैलाई जानकारी गराउन सजिलो हुन्थ्यो होला । स्थानीय भाषामा यो देवशिलालाई धज्या ढुङो भनिन्छ । झाडीहरुको बिचमा यो शिला मानिस जस्तै उभिएको छ । तत्कालीन समयमा बैतडीको उत्तरी क्षेत्रबाट लुकेर आएका आक्रमणकारीको पूर्व सूचना यहीँ शिलाले ठूलो स्वरमा कराएर अर्थात स्थानीय भाषामा ठूलो स्वरमा डाडाबाट कराउनुलाई धाद दिनु भनिन्छ । त्यहीँ भएर होला यो शिलाको नाम धादबाट अपभ्रंश हुँदै धज्या ढुङो रहन गएको ।
बैतडीको उत्तरी क्षेत्रबाट आएका जीउधन लुटेराहरुले पश्चिमी क्षेत्रका जनतालाई किन जानकारी गराएको भनी आफूसँग ल्याईएको खुकुरी तरवारद्वारा यो ढुङ्गामा प्रहार गरेका थिएँ । तरवार तथा खुकुरीका घाउहरु अहिले पनि यो शिलामा देख्न सकिन्छ । साथै खुकुरी तथा तरवारले प्रहार गरेको ठाउँबाट रक्त निस्केको हुनाले अहिले पनि यो शिलामा र यसको वरिपरि रातो चिन्हहरु देख्न सकिन्छ ।
संरक्षणको खोजीमा पिल्सिरहेको यो शिलाको संरक्षण गर्नु अतिआवश्यक छ । यो ग्वाल्लेक क्षेत्रको मात्र नभएर सुदुरपश्चिमकै एउटा जीउँदो इतिहास हो । प्रदेश सरकार तथा स्थानीय सरकारको ध्यान जानु जरुरी छ । नत्र एउटा इतिहास मेटिएर जान सक्छ ।
.gif)