निराश चेहरा, हतास अनि गह्रुङ्गो मन, हातमा हसिया र कमरमा जेउडो बाँधेर धेरै समय देखि खुटकुणिमै टोल्हाइ रहेकि थिइन धनसरा बज्यै ।
तल्लोमल्लो घरका सबै यताउति काम धन्दा लागि सकेका थिए ।गोठमा गाइबाख्रा भोकै थिए ।चुलोमा आगो नबलेको पनि दुई छाक भैसकेको थियो । घर आउछन भनेका बुढा पनि कोरोनाका लाग्दा उतै अडकिएका छन बेकाम भएर ।ओ काखी, निका छ ब ? आवाज सुनेर झसङ्ग पर्दै उठछिन बज्यै । पाउलागि ढोक्दै मानमतीले काकीका लागि ल्याएको कोशेली दिदै सोध्छिन, सञ्चो छैन कि काकी ?
के भणौ बुवा ठिकै छौँ , कहिले आइछै, नन्दिना निका छन त? ठिकै छन, मानमती काकीको अवस्था फरक पाउछिन र नजिकै बसेर सञ्चो विसञ्चो, केही नराम्रो भएको पो छ कि ? सोद्धा भक्कानिएर रुदै मानमतीलाई अँगालो कसेर कि भणौ मेरा दशधारा दुद खडगया..... । उतिखेरै घाँसको भारी र महीको ठेकी बोकेर रघुवीर पनि त्यही आउँछन । उता मानमतीको अँगालोमै धनसरा बज्यै बेहोस भै सकेकि छिन ।
रघुवीर र मानमती दुबैंले बज्यैलाई आँगनमा सुताउँछन्, मुखमा पानि छर्कन्छन् । एक घडी पछि होसमा आउञ्जेल मानमतीले आमाबाट बिग्वाले मन्दिरमा नान्दिनीलाई के के पो गरि मारेको कुरा थाहा पाइसक्छिन । रघुवीर हत्केलामा आफ्नै टाउको टेकाउदै सोच्छन्, चिन्ता किन गर्नु हुन्छ भन्छु , के गर्ने डरहाल्लो पोर सालै जेल कोच्या भए यति बिघ्न के गर्दो हो, छोरीबेटीलाई हात हाल्ने, पुलिस पनि उस्तै मिलाउ मिलाउ भन्ने यसपाली त सर्वनाशै पार्यो । यी हुल्याबहुर्याको केइ भर नाइ ।आमाबुबाले सकिनसकि भविष्यका सहारा छोराछोरी हुर्काउँछन्, त्यै पनि दुर्गम गाउँको जीवन, विदेशको चौकिदारी, ढुङ्गा माटोसँग लड्नु, सन्तानै कपुत भएपछि कति मन रुँदो हो ।
बुबा तै कि अनारै डिठ जन पडौ, उथै झट्ट मरौ भनेर सोच्छु.....। बज्यैले मानमतीलाई केही भन्न चाहेकि थिइन् । उहाँ बीचैमा रोकिनुभयो काकी अब त्यसको बारेमा सोच्दै नसोच्नु । हामी छँदै छौँ, काका र भाइ पनि आइ हाल्छन्, कान्छा बुबा पनि यही त छन् । दाई विदेशिदा घरको अभिभावकत्वमा कम्ति त रघुवीरले गरेका थिएनन् । सानो छँदाको त ठिकै थियो बिग्वा पल्ला गाउँका स्कुल जान थाले पछि चालढाल त अलि फरक देखिदै थियो । बेलाबेलामा सोद्धा राम्रै कुरा गर्दथ्योे । ढाँटला भन्ने लागेकै थिएन । अल्लारेहरूको भर हुने रहेनछ ।
ओ बौजु, तम चुप्प लाग, मलाई पनि तमैले पाल्या हो । मैले खाएका दशधारा खेर जानदिने छैन । हिजो खाना खाऊ भन्दा ठग्नु भयो लौ उठ आज त मेरो सामुन्ने खाना खाऊ ।
मान्छे भेटन आउँदै पिच्छे बज्यै बेहोस हुन्छिन् । आफैले जन्माएर हुर्काएको सन्तानका कर्तुतप्रतिका धारणाहरूले मथिङ्गल नाचेर आउँछ ।आफूले सानै ठानेको भए पनि बिग्वा त बिध्वा भैसकेको कुरा पत्याउन गाह्रो लागिरहेको कुरा एकातिर छ । अर्को कुरा देश दुनियाँले के के कुरा गर्लान ? कस्ताको सन्तान रहेछ भन्लान् । उसको लागि बुवाले विदेशमा हाड घोटेको कहाँ गयो ? उता बुढाले घटना थाहा पाए के हाल हुने होला ? कान्छो नभएको भए त अपुताली नै पारिसकेको, बिग्वा तै है त कठा लोटि बाग खाइ मद्दो होइ, यी यस्तै कल्पनासँगै बज्यै फेरि दशधारा दुध खड गए कै मा चित्त बुझाउँछिन् । तर पनि के गरून् होला खाला भनेको त अब कुकर्मको फल भोग्छ । तै पनि आफै जन्माएको हो, पाल्योताल्यो नखाइ नलाइ उसैको पुर्ती गर्यो चित्त बुझ्दैन । सर्जमिन मुचुल्का गर्न आएका इन्सपेक्टरलाई सोध्छन् हजूर अब तै को कि हुन्छ ? आमा तम्रा छोराले सत्यानासै गर्यो बालिका बलात्कार अनि हत्यामा आजीवन जेल सजायको माग गरी अदालत मुद्दा जान्छ । इन्सपेक्टरले भनि नसक्दै सुय्य सुस्केरा हाल्दै जान्दिय तै खडऽगया....... तै झेलै किडा पडौन् ।
टोल छिमेकमा गाईगुई चल्छ, सुया चोर सापलो चोरन्छ भन्थे बुढापाका हो रै छ । ठाउँको ठाउँ सानो ठूलो गल्ति नभनि अपराध अनुसार सजाय नपाउदा झन् ठूलो अपराध सिर्जना हुन्छ । हो रै छ आमा झल्झलि विगतको तस्बिर सम्झिन्छिन् ।छोरो टाठाबाठाहरूका साथमा लागेको छ सुध्रदै छ भन्ने सोचेकी थिइन तर उल्टो बाटो पो लागेको बल्ल पो थाहा पाइन ।
मानमतीले साथीसंगीको साउतिमा थाहा पाइछिन् । बिग्वा त पोहर सालै मामाघर गइसक्नु पर्ने रहेछ । पल्लो गाउँकी पहिले आफैसँग पढ्ने साथीसँग छेडछाड गरेर बमण्डरै मचाएको रे । ठानापुलिस हँुदाखेरि गाउँकै सदस्य, मुख्या, काजि मिलेर केइ होइन मिलाएर आउछौँ भनेर तमसुक गरी खसी खाई उम्काए छन् । ठूलाठालुकै सन्तान मुछिएका रहेछन् । त्यै मेलोमा बिग्वा पनि पाटनर, पिडितलाई एक तोला सुन दिउला भनेर माफी मागेछन् अनि थानदार साबलाई खुसुक्क मेसेज पठाएर मिलापत्र गराउने र आइन्दा गडबड नगर्ने भन्न लगाएको रे ।
कुरा सुन्दा बज्यै तीनछक पर्छिन् । छोराप्रतिको मातृमोह घृणामा बदलिदै थियो । सोझी आमाप्रति बिग्वाले गरेको मातृघात यो भन्दा बढी के हुन सक्थ्यो, सत्रुलाई पालेकि रैछु । जबरजस्ति गर्ने अपराधीहरूलाई मिलापत्र गराउने प्रसाशन र तमसुक बनाइ अपराधिन उप्कौन्या समाजका नेताहरूप्रति पनि बज्यै र मानमतीको भरौसा पनि रहेन । काकी, तन लै अपराधी हुन, तसा नेता हम जसा सोजासाजान बेचि खान्या हुन् । मानमतीले ढाढस दिदै भनिन् ।
थानामा भोलिपल्ट चहल पहल बढेको थियो । गाउँमा गाईगुई चलेको थियो । कोही कसैसित धेरै कुरा गरिरहेका थिएनन् । फेरी के अनिष्ट आइपर्यो ? के रहेछ बुझि त हालाँै भनेर रघुवीर थानातिर जान्छन् ।
बाटोमै उनलाई नै बोलाउन आउँदै गरेका प्रहरीसँग भेट हुन्छ । जिल्लाको टोली आएको छ केही बुझ्न भनेर बोलाउन पठाएका रहेछन् । कुरा बुझ्दै जाँदा त सदस्य, मुख्या, काजी सापहरू बुवाछोरा सहित माथि जिल्लामै मुद्दा परेको रैछ । त्यतिमात्रै कहाँ बिचौलिया भएका पल्लागाउकि सुन्तली, तल्लागाउकि सुर्मा समेत जाकिने रहेछन् । कुरा उइ तमसुक र मिलापत्रको रहेछ । इञ्चार्ज पनि जिल्ला तानिएका नयाँ इञ्चार्ज आएका रहेछन् ।
मुद्दा हेर्ने डिएसपी सापसितको चिनापर्चि पछि रघुवीरसँग सोधपुछ सुरू भयो । गतबर्षको छेडछाड घटनाका पिडितले क्षतिपुर्ति नपाएको, अपराधी र तिनका मतियार माथि कानुन अनुसार कारवाही गरि पाउँ भनि उजुरी परेको रहेछ । कबुल गरेको कुरा पुरा गर्न भन्दा उल्टै धम्की दिँदा रैछन् । सोदापुछिमा गतवर्षको घटनाबारे सोद्धा रघुवीरले धेरै पछि मात्र प्रहरीबाटै थाहा पाएका रहेछन्, तपाईंको भतिजोले त..........यस्तो गरेको रहेछ, ख्याल गर्नु होला सम्झाउनु होला ।
मिलापत्र बारेमा रघुवीर र उनकी भाउजुलाई थाहै नदिइएको रहेछ । उता भतिजो काकासँग उठबसै गर्न छोडेको । गाउँकै ठूलाठालुकै सामुन्ने कड्किदै रघुवीरले बयानमा भनि दिए, डिएसपी साप यी झन् ठूला अपराधी हुन, विकास गर्लान भनेर चुनेका र मानेका को धन्दा त गजप देखियो । गाउँगाउँमा सराब लाइसेन्स दिलाउने, आफ्नैलाई बाटो कुलाका ठेक्दार बनाउन, यी हुनेखानेका छोराछोरीले अरूका छोराछोरी पनि गजेडी, सराबी, बलात्कारी ......हुन सिकाए । अपराध लुकाउन, यिनै गाउँका अगुवाले तमसुक बनाए, मिलापत्र गराए, हामीलाई एक शब्द पनि सोधेनन्, बदनामीका डरले खुसख्यास्स मिलाउछन् । यस्ता त कतिकति मिलाए होलान् ? झोला बोक्न गरिबका चेला प्रयोग गरे । कानुनका रखवाली गर्ने नै जघन्य अपराध मिलापत्रमा मिलाउँछन् भने धेरै के भनौँ कानुनमा जे छ कारवाही होस ।
उता गाउँमा पक्राउका बिरुद्ध नाराबाजी गर्ने एक हुलको गोप्य छलफल चलिरहँदा मानवाधिकारको छानविन टोली पनि आइपुग्छ, पत्रकार पनि ओइरिन्छन, ठूला नेताका सुराकी पनि कानमा मोबाइल झुण्ड्याएकै भेटिन्छन् । कहिलै अखवार नदेखेका गाउँले ठूल्ठूला अक्षरमा गाउँले प्रमुखहरूका कर्तुत छापिएका खबर पढन पाउछन् । आमाको दशधारा दुध खड़(खेर)हाल्ने त धेरै रहेछन्, आमा चित्त बुझाउँछिन् ...धन्य हो धर्तिमाता यिसा हुन्ना भनि त जन्मयाका नाइ .....?
.gif)