शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

लङ्गडो इतिहास


मंगलबार, चैत १ २०७८
  • 596
    Shares

  • images
    images
    लङ्गडो इतिहास

    ए साथीहरु
    मेरी इजालाई आमा नबनाऊ
    आमा बन्न त 
    बुबा जन्माएको हुनुपर्छ 
    मेरो बैतडीमा

    जब तिमी अध्यारो कोठामा 
    बोत्तलको पानीले गमला भिगाइ
    गोरु बन्दै जोतिन्छौ
    महाशय 
    त्यो धानले मेरो पेट भरिदैन
    सुनिदैनन् त्यहा भैनहरू
    न त हंसारानी 
    खेतमा हलो जोतिरहेका
    आफ्ना बौस्याका लागि 
    खाना लग्दै गरेकी देखिन्छे
    न त साइबादुर मरेको 
    दर्दनाहक दृश्य
    देखिन्छन त केवल
    आज तु है पानी पानीमा
    कम्मर मर्काउदै 
    सेल्फी हानिरहेका तस्बिरहरू
    असारको महिनामा

    तिम्रो  कोठाभित्रको रोपाइमा
    न त मेरा हलबौस्या देखिन्छन् 
    न बर्खाको पानीमा मुन ओडेर
    हरियो धानको मुठो समाती
    जिन्दगी रोप्दै गरेकी रोप्दारी
    आदि आदि।।

    जति वसन्त पर्खेपनि 
    बहार नआउने तिम्रो राजधानीमा
    जब तिमी प्लास्टिकका फूलहरूसित
    फुटो खिची ऋतुराजको चर्चा गर्छौ
    महाशय,
    त्यसमा कुनै सुगन्ध आउदैन
    मेरो गाउँमा त
    बहार आउन वसन्त पर्खिनु पर्दैन
    माघको तुसारोमा 
    जब मेरी भाउजु सौलाकी जालमा 
    तित्मल्याका घुत्ता लिइ आउछिन्
     उनीसँगै वसन्त घुमिराख्छ
    लाग्छ वसन्त त कैदी हो 
    मेरो गाउँको झेलखानामा थुनिएको

    मेरो इतिहास खोज्न आएका
    तिम्रा एक हुल अल्लारे 
    हुइय्य कारभित्र पसी 
    एक हातले प्याप्सीको बोतल चुस्दै
    झ्यालभित्रबाटै
    मेरो गाउको एक फुटो खिची
    राजधानी फर्किन्छन्
    तिमी सोच्छौ दुनिया कैद गरिदिए भनेर
    अनि लेख्छौ मेरो गाउको इतिहास
    छाउकुडीको गाउँ
    देउकी प्रथाको गाउँ आदि आदि

    तिम्रो इतिहासमा
    कठ्पत्यामा गोर्खाली शेना
    हराएको इतिहास छैन
    गोपी चन्दको कोट छैन
    मल्ल र पालका बीरताका कथा छैनन्

    मेरो इतिहास जान्न
    गौरामा अठ्यावाली खेल्नुपर्छ
    डुष्को, धुमारी, चैत, भडामा
    डोल्ङा,मुजुरा र हुड्को संग नाच्नुपर्छ
    भैलो हैन बुडो भैलो खेल्नु पर्छ
    मेरो भाषा, इतिहास र सभ्यता खोज्न
    सगुना,फाग र भलौलो गाउनु पर्छ
    मन्दिरका घाट बजाउनु पर्छ
    दमुको धिरोको भाषा बुझ्नु पर्छ
    सिस्नोको बिछौनामा
    बसी औराद र तेराद गर्नुपर्छ
    जाङर लाउनुपर्छ 
    स्याडीका हुड्क्या,
    बिजुलका छलिया सित नाच्नु पर्छ
    मेरो इतिहास त त्यहा खोलिन्छ
    जब तल्ली दे, मल्ली दे, मैतोडा की जात
    गोकुल्याकी मेलामा
    जब मेरा आशुकवि
    बर्तोलो जोशी, रनी चनराजा
    धनाडी मुख्या, बिनासाइ कार्की
    पालीको कल्यान भट्ट , देमाणु रजबार
    लम्मरी डेउडामा सवाल जवाफ गर्छन्
    त्यहा खुल्छन इतिहास मेरो गाउका

    अठोला, खटोला, पल्याल 
    खलगाडका ज्योतिषका पाताडामा छ
    मेरो वंशावली
    भोजका पातहरूमा
    कटौजको मसीले लेखेको
    वडुवाको कागजमा 
    निङालोको कलमले लेखेको
    जुन किताबको जिल्ला
    रतुवाको छालाले बनेको छ

     मेरो इतिहास लेख्ने सामर्थ्य 
    तिमीमा छैन
    लङ्गडो छ तिम्रो इतिहास
    गोराहरूको हुइल चेयरमा बसेर लेखेको
    छक्का पन्जाले अछामी भाषा टिपे जस्तै
    मेरी बास्साइका बैतडी बज्याले 
    बैतडीको भाषा  बोलेजस्तै 
    तिम्रो इतिहास पनि 
    लङ्गडो छ 
    गमलामा धान रोपे जस्तै ।।
    तिम्रो इतिहास लङ्डो छ। ।




    प्रतिक्रिया दिनुहोस