बैतडी जिल्ला प्राचीन धार्मिक तीर्थस्थलहरूले भरिपूर्ण रहेको छ । यस क्षेत्रमा रहेका विभिन्न मन्दिर तथा तीर्थस्थलहरुको आफ्नै विशेष महत्व रहेको छ । यस क्षेत्रमा रहेका देवीदेवता, मन्दिर तथा तीर्थस्थलहरुको इतिहास हाम्रा पुर्खाहरुको लोकजीवन र वंश परम्परासँग जोडिएको पाइन्छ । यस्तै आफ्नो छुट्टै विशिष्ट पहिचान बोकेको मन्दिर मध्ये बैतडी जिल्लाको मेलौली नगरपालिका ७ ओझागाउँमा रहेको शिव मन्दिर पनि एक हो । पहाडको सुन्दर प्रकृतिमा प्राचीनतम इतिहास बोकेको यो मन्दिर स्थापनाको इतिहास बुढापाखाहरुले सुनाउने गर्दछन् ।
तत्कालीन समयमा मालराज ओझा सिद्धपुरूष थिए । उनले कुण (महाकाली तट) देखि कलौनसम्म (स्वराड जो पछि तल्लो र मल्लो गर्खा बने) तत्कालीन राज्यबाट यजमानी विर्ता र ओझागाउँको जमिन दानमा प्राप्त गरेका थिए । मालराजकै वंशज गोसु ओझा पनि चमत्कारी थिए त्यसैले त “ गोस्या ओझाइ चामल हलाइ “ किस्सा प्रचलित छ। तिनकै सन्तान कालु , मालु र चैतुका सन्तानहरूले कुलदेवका रूपमा शिवशक्ति मान्दै आएका छन् । हाल चैतुका सन्तान थर परिवर्तन गरी अवस्थी भएका छन् । इष्टदेव जागेश्वर महादेवकै स्वरूप शिव नामले ओझा गाउँमा पुज्यमान भएको भनिन्छ । स्व. हरिदत्त ओझाको कथन अनुसार ओझाहरूका पुर्खा महाकाली पूर्व बसाइ सर्नुभन्दा अघि चार पुस्तासम्म जागेश्वर धामका मूल पुरोहित रहेका थिए । सम्भवतः त्यो समय जागेश्वर धामको स्थापना काल थियो होला । ओझा गाउँ बसेपछि पनि मुख्य पर्वमा जागेश्वर धाम जाने गरेकोमा कुनै संकटका बेला (धाःड) इष्टदेव प्रति जे जति समर्पण थियो, परेको बेला आफूलाई साथ नपाएको भनि क्रुद्ध हुँदा शिव दर्शन भइ जहाँ गए पनि साथ नछोड्ने वाणी मिल्दा ओझागाउँमा शिवस्थल स्थापना भएको किम्बदन्ती छ । समयक्रमसँगै महारूद्र, शिवनाथ, ग्वाल्लेक केदार तथा मेलौली भगवती समेत इष्टकुल देवका रूपमा मानेर ओझागाउँका ओझाहरूले महत्त्वपूर्ण जिम्मेवारी समेत सम्हालेको पाइन्छ । मन्दिरका मुख्य कारीबारी ओझा नै रहने गरेका छन् भने ओझा बाहेक भट्ट, चन्द, पार्की, दमाई, आउजी, लगायतका थरिहरूले पनि शिव मान्दै आएका छन् । ओझागाउँकै शिवदेवता को मन्दिर विसालपुर असुर गाउँमा पनि रहेको छ र त्यहाँ कश्यप गोत्रिय भट्टहरूले मान्दछन् । त्यहाँ पनि पुजारी ओझा मात्रै रहने परम्परा छ ।
हाल यस मन्दिरमा दुवै नवरात्री, गौरा पर्व, शिवरात्रीसँगै वर्षमा दुई पटक न्वाकी चढाउने दिन, एक पटक पाटी होम लगायतका दिनहरुमा विशेष पूजा लाग्ने गर्दछ ।
.gif)