बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

मानसखण्डकी होलीको इतिहास


पश्चिम प्रेस
शुक्रबार, चैत ४ २०७८
  • 1.2K
    Shares

  • images
    images
    मानसखण्डकी होलीको इतिहास

    वैदिक कालमा किसानहरूले शिशिर वसन्त ऋतुतिर एउटा यज्ञ गर्ने गर्दथे । जसलाई सोमयज्ञ भनिन्थ्यो । जसमा यज्ञवेदीको नजिकै उदुम्वर अर्थात् उमर/ डुम्रीको रूखको एउटा  हाँगो कपडा ध्वजापताकाहरूले सजाएर चीर स्थापित गरिन्थ्यो । ग्राम्य भाषाको प्रयोग गरेर हाँसो ठट्टा गर्दै गीत गाइन्थ्यो । जुन विशुद्ध र स्वस्थ्य मनोरञ्जनका लागि हुन्थे । यस अवसरमा घर घरमा स्वादिष्ट पक्वान्न नयाँ अन्नलाई चाख्दथे । जसलाई नव शष्येष्टियज्ञ भनिन्छ । नयाँ अन्न गौ,जौ ,चना, कलौ, मटर आदि हिउँदे बालीलाई यज्ञाग्निमा पोलेर खाने प्रचलन थियो । जसलाई ऋग्वेदमा प्रयोग  "भडभुजा"  नाम दिइएको छ । आगोले पोलिएको अनाजको बाला/ बालीलाई संस्कृतमा "होला" भनिन्छ  । मानसखण्डको मानसी लोकसंस्कृतिमा गहुँका बाला/ बाली पोलेर "उमा" र जौ का बाला/ बाली पोलेर "कुमास" एवम् चना, कलौ,मटरका कोसा/ कोसी पोलेर होला खाने प्रचलन आजसम्म पनि चलि नै रहको छ । पौराणिक कालमा यही नवशष्येष्टि यज्ञ होली/ होरी का नामले प्रसिद्ध हुन पुग्यो ।

       फागुन चैततिर  रूखबिरूवा तथा फलफूलहरू फुलेका हुन्छन् । केशर ,गुलाल एवम् पुष्परसले प्रकृतिक वातावरण नै उत्साहित , उमङ्गित तथा मदमस्तले रङ्गीन भएको हुन्छ । प्रकृतिको यस रङ्गमा मानवको मन न रङ्गिएर रहन सक्दैन । देवगाथालाई ग्राम्य भाषामा गाउँदै रङ्गका साथ उमङ्गित भएर मानवसमाज उत्सव मनाउन सुरू गर्छ । जसलाई  "होलिकोत्सव" भनिन्छ  । यसरी रङ्गिली होलीको सम्बन्ध पौराणिक काल हुदैँ वैदिक कालसँग रहेको पाइन्छ ।

      फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्मका आठ दिनलाई होलाष्टक भनिन्छ । यसलाई मनाउने आ- आफ्नै लोकपरम्पराहरू रहेका छन् । व्रजमण्डलको मथुरा,वृन्दावन,गोकुल,नन्दगाउँमा अवीर,गुलाल,लड्डु ,रङ्ग र फूलद्वारा होली खेल्ने गरिन्छ भने वरसानाको लठ्ठीमार होली विश्वप्रसिद्ध छ । व्रज क्षेत्रमा मन्दिर अथवा निश्चित स्थानमा वसेर खडी बोली व्रजभाषामा होली गाइन्छ र खेलिन्छ भने होली गाउने वा खेल्ने व्यक्तिलाई रसिया / होरियार भनिन्छ ।

    व्रजको त्यही होली गाउने र खेल्ने परम्परा गड- कुमाउँ हुदै मानसखण्डको बाटोबाट नेपालमा प्रवेश भएक‍ो पाइन्छ । महात्मा केवलानन्दले अछाममा खडीबोली अर्थात् हिन्दीमा गाइने होली लाई स्थापित गरेको पाइन्छ । कालीकुमाउँसँग जोडिएका डडेल्धुरा, बैतडी र दार्चुलामा पिथौरागढ/ कुमाउँ( उत्तराखण्ड,

    , भारत) मा समान रूपले एउटै लय,बोली र भाषामा,एउटै पहिरन र एउटै तरिकाले  गाइन्छ, खेलिन्छ र मनाइन्छ ।उभी-उभी गाएर खेलिने "उठी ह‍ोली" बसी- बसी गाएर खेलिने" बैठी होली " र बाटोमा हिँड्दा-हिँड्दै गाएर खेलिने " बाटा होरी " गरी तीन प्रकारले होली गाइन्छ र खेलिन्छ । यसमा भगवान् श्रीकृष्ण र गोपिनीको प्रेम रासलीलाका प्रसङ्गहरू, श्रीरामको लीलाका प्रसङ्गहरू एवम्  सांसारिक विशुद्ध प्रेम गीतहरू गाइन्छन् । एकचालीस वर्षअघिदेखि कञ्चनपुर ,कैलालीमा समेत मानसखण्डीय होली गाइने र खेलिने गरिएको छ भने थारू अर्थात् डगौरा चौधरी र राना थारूले गाउने र खेल्ने होरीको सम्बन्ध थार प्रदेश अर्थात् भारत राजस्थानको बोली भाषा र संस्कृतिसँग रहेको पाइन्छ । कतै हाल होलीका गीतहरू कतै कतै राष्ट्र भाषा नेपाली र स्थानीय बोली एवम् लवजमा पनि गाइने गरिन्छन् । यद्यपि आज होरीका रङ्गहरू अबीर ,गुलालका रूपमा बजारबाट किन्न सकिन्छ तथापि सल्लोको फूलबाट पहेँलो ,सिन्दुरे, गहुँको कलिणाबाट कालो एवम् आँप बाँज आदिका टुसाहरू नीलो कालो रङ्ग  बनाउने गरेको पनि पाइन्छ । मेल तथा सल्लाको लिङ्गोमा रङ्ग बिरङ्गी कपडाहरूका टुक्राटाक्री टाङी चीर गाडने चलन रहिआएको छ । अष्टमी अथवा  एकादशी- द्वादशीदेखि प्रत्येकको घर- आँगनमा गई होलियार अर्थात् पुरूषहरूले होलीका गीत गाउँदै खेल्ने गर्छन् भने आईमाईहरू दर्शक श्रोताका रूपमा हुन्छन् । देवर- भाउजू  तथा भिना- साली का बीच अवीर, गुलाल र रङ्गका साथ  हाँसो मजाक गर्दै खेलिने रङ्गिली होली सुप्रसिद्ध रहेको छ । गाउँ वा समुदायका आ- आफ्ना होली मण्डलीहरू हुन्छन् यसमा तरूण,जवान र बूढा- पाका सबै उमेर समूहका व्यक्ति  हुने गर्दछन् ।  फागुन शुक्ल अष्टमीका दिन गाडेको चीरलाई होली पूर्णिमाका दिन चीर- दहन गरिन्छ र त्यसको छारले छरेउली खेली प्रसादका रूपमा तिलक लगाइन्छ ।

      यसरी रक्षाबन्धन,दशै , दीपावली र होली गरी चार ओटा मुख्य पर्वहरूमध्येको होली महोत्सव  एक आपसमा आशीष लिदै र दिदै वर्ष दिनको रिस राग भुलेर एक दोस्रोलाई रङ्ग दल्दै गला मिल्दै हर्ष – उल्लासका साथ मनाइन्छ ।  (आचार्य घनश्याम लेखक ; मिति २०७८ चैत ०१ गते)

     


  • सम्बन्धित विषय:

  • # होली पर्व
  • प्रतिक्रिया दिनुहोस