महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका –१६ स्थित निर्माणाधीन विमानस्थल छाडा पशु चौपायाको विश्राम केन्द्र बनेको छ । भीमदत्त नगरपालिकाका विभिन्न वडा बाट छोडिएका पशु चौपायाहरू मजगाउँ विमानस्थलमा आएर बसेका उक्त क्षेत्रका किसानको भनाई छ ।
दिनमा छाडा पशुचौपायाहरु एयरपोर्टमा हुलिने गरेको स्थानीय रमेश विकले बताए । करिब दुई सय बढी चौपाया दिनमा एयरपोर्टको चौरमा विश्राम गर्ने गरेको उनले जनाए । तर रातीमा भने किसानहरू हैरान भएका छन् । मजगाउँका स्थानीय धीर बहादुर धानुकले छाडा पशु चौपायाका कारण रातभरि जाग्राम बस्नुपरेको गुनासो गरे ।
उनले भने,–“रातभरि खेतमै बस्नुपर्छ, चौपायाहरू बालीनालीमा पस्न खोज्छन्, बिहान विमानस्थलको परिसरमा हुल्छौँ राती फेरी खुला गेटबाट चौपायाहरू लगाएको बालीनाली नष्ट गर्न आउँछन् ।” उनले दिनमा भने एयरपोर्टमा थुन्नुपर्ने बाध्यता रहेको बताए ।
स्थानियसरकारले भने व्यवस्थापन तर्फ चासो नदिएको उनले गुनासो गरे । उनले भने,–‘ चौपाया व्यवस्थापनका लागी निश्चित स्थान तोकिएको भए त्यही पुगाउँथ्यौँ, तर दिनमा एयरपोर्ट नै सहारा बनेको छ ।’ एयरपोर्टको गेट खुुला छोडिने हुँदा चौपायाहरु बाहिर निस्कने गरेका स्थानिय बताउँछन् । स्थानीय करुणा विकले चौँपायाहरुको उचित व्यवस्थापन गरिनुपर्ने माग राखिन् । उनले लगाएका गहुँ बाली, दालहन सखाप पार्ने गरेको दुखेसो पोखिन् ।
नगरपालिकाले एयरपोर्ट पुर्णरुपमा सञ्चालनमा आएपछि मात्रै छाडा पशु चौपायालाई सुरक्षित स्थानमा लगिने जनाएको छ । निर्माणाधीन मजगाउँ एयरपोर्ट भित्र दुई सय बढी पशु चौपाया राखिएका छन् । ती चौपाया कहाँबाट आएभन्ने नगरपालिकालाई कुनै यकिन जानकारी भने छैन । भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले अन्य वडा बाट छोडिएका चौपाया स्थान खोज्दै एयरपोर्ट पुगेको हुनसक्ने आशङ्का गरिएको जनाए।
नगरपालिकाले छाडा पशु चौपाया छोड्नेलाई सेवा सुविधा बाट वञ्चित गर्ने देखी लिएर, जरिवाना सम्म तिराउने कार्यपालिका बैठकबाट निर्णय गरेको थियो । जसका लागी तिन लाख खर्च गरेर घरमै गई पशुका कानमा ट्याग लगाइएका थिए ।
भीमदत्त नगरपालिकाका प्रवक्ता चन्दले छाडा पशु चौपाया छोड्ने प्रवृत्तिमा स्थानीयले नै सुधार नल्याउन्जेल पुर्णरुपमा नियन्त्रणमा ल्याउन कठिन हुने बताए । उनले निर्माणाधीन एयरपोर्ट बाट भने उचित स्थान खोजी पशु चौपायाहरूको व्यवस्थापन गरिने जनाए ।
.gif)