यो धर्तीको अनुपम कला वाग हो देश हाम्रो
कालीको यो बगर मसिनोे श्वर्ग भन्दा छ राम्रो
योद्धा जस्तै धरणितलमा बाघले गर्छ गस्ति
शुक्लाफाँटा हरित वनका बीचमा जो छ बस्ति
उफ्री उफ्री हरिण वनमा खेल्दछन् खेल न्यारा
तैरेका छन् अचल जलमा हाँसका प्वाँख प्यारा
हात्ती हिड्छन् विजय पथका मार्गमा मस्किएर
यो धर्तीले फसल तनमा राख्दछिन् पस्किएर
ठाडी भाका मृदुल सुरमा कोइलीले सुसेल्छिन्
आफ्ना भित्री विरह मनका भाव सारा उकेल्छिन्
नाँच्दै नाँच्दै भमर पुतलीे फूलका पात चुम्छन्
पौडी माछा पनि झिलमिला तालमा मस्त घुम्छन्
लिङ्गा मानौँ तपसी ऋषिकोे नैमिषारण्य धाम
मौनी बन्दै मनमन सदा जप्दछन् रामराम
रौटेलाको जलधि दहमा विष्णुको वास जो छ
भम्केनीमा विरचित अहोे १ मूर्ति नेपालको छ
काली मानौँ तरुण वयका गीत गाएर डुल्ने
झोलुङ्गेले पवन गतिमा नाँच नाचेर झुल्ने
गर्छन् मान्छे हरपल यहाँ जिन्दगीको हिसाब
को पढ्ला खै अवनितलको चित्रको योे किताब
.gif)