मेरो लेखाइको प्रकाशन पत्र पत्रिकाकै माध्यमबाट सुरू भयो र ३० वर्षदेखि चलिरहेछ । महेन्द्रनगरबाट प्रकाशित हुने वार्ता, महाकाली, जनवार्ता, अभियान, चुरे टाइम्स, फारवेष्ट टाइम्स, सार्थक, जनसंचार लगायतका समाचारपत्रहरूमा २०५० को दशकमा थुप्रै लेख प्रकाशित भए । लेखेका अधिकांश प्रकाशित भए, केही लेखहरू हराए, सुरूमा मैले आफ्नै रूचि अनुसार लेख दिन थालेको थिए तर जहाँ पायो त्यही दिइदैन थ्यो । पहिचान र सम्पर्क बढदै गएपछि लेख रचना माथि प्राप्त सुझाव अनुसार लेखन परिस्कृत गर्दै गए । थुप्रै पाठकहरूबाट प्राप्त सकारात्मक सुझाव र प्रोत्साहनले लेखनमा बल मिल्यो । नयाँ पत्रिकाहरू थपिदै जाने क्रममा हामीलाई पनि आर्टिकल उपलब्ध गराउनु भन्ने आग्रहबाट हौसला बढ्थ्यो ।
लेखन प्रकाशनकै क्रममा म प्रति बदमासी भएको लागे पछि हालसम्म पनि मैले ती पत्रिकाहरूका लागि लेखिन । स्तम्भ लेखककै रूपमा र सम्पादन मै सहयोग पु¥याएको भए पनि धन्यवाद सम्म भन्न नसक्ने कृतघ्न पनि भेटिए । काम गर्दै जाँदाको अनुभव अग्रजहरूको प्रेरणा,र तालिम छदै भए पनि मेरो स्वभावले अखबारी पत्रकारितालाई मैले निरन्तरा दिन चाहिन । साहित्यिक, खोजमूलक लेखन र सम्पादनतिर लाग्नु उचित ठाने । पत्रकारिताको काम गर्दा कुनै आर्थिक लाभका दृष्टिले लागिन, त्यस क्षेत्रमा लागेपछि पत्रकार महासंघको सदस्यताका लागि निवेदन त दिए तर खुसामद गरिएन । पेशागत संस्थाहरूमा देखिने राजनीति र लबिहरू त्यहाँ पनि थिए । त्यति बेला (५०को दशक) अखबारहरूको सम्पादनका क्रममा चुरे टाइम्स दैनिक, वार्ता, जनसंचारसँगको अनुभव राम्रो रह्यो, धेरै सिकियो र बुझियो पनि । लेखन तथा सम्पादनको फरक धारमा रहेर अविरल मासिक, रामराज्य डोटेली भाषाको द्वैमासिक, गुगुल्डि, संगम, शिक्षक रैबार, आफन्त, अभिवादन, त्रिवेणी भीमदत स्मारिका, अरूणोदय ,लगायतको लेखन सम्पादनमा सक्रिय भइयो । नवज्योती, जनमत, लगायतका साहित्यिक पत्रिकाहरूलाई पनि टाढैबाट भए पनि सक्दो सहयोग गरिएको थियो । धैरै ठाउँमा लेख्दा, सम्पादन र प्रकाशन गर्दा निश्चित दृष्टिकोण, उद्देश्य र मूल्यमान्यताहरूको विचार गर्नु पर्ने हुन्छ, धेरैले सोध्छन् कसरी लेख्न सक्नुहुन्छ? हो लेखन सरल रेखा जस्तो छैन । कुनै बेला त यो लेखेर के पाए भन्ने प्रश्न पनि आफैमा उब्जिन्छ । अभिव्यक्ति प्रसारित गरेरै हँुदैन, प्रभाव आवश्यक हुन्छ । त्यति बेला केही परिपक्व अग्रजहरूको संगतमा बस्दा र काम गर्दा एक जना शुभचिन्तकले भनेको सम्झन्छु–“जगदीश जी, तम अफनी उमर है ऐतिर दौड्डा छ, थगिन्छ ।”
डा. देवी प्रसाद ओझा, देवराज शर्मा, रामवहादुर चन्द, वीर ब. चन्द, वाशुदेव भाइसाव, डा. मुकुन्द कलौनी, पंचमराज भट्ट, खेम भण्डारी, आदिसँग नजिक भएर धेरै सहकार्य गरियो । उहाँहरू भन्दा म कनिष्ट थिए । हरीश प्रसाद जोशी, नारायण गिरी, रमेश पन्त, डा. पुष्कर राज भट्ट, हेमबावु लेखक, नारायण लम्साल, कल्यान ओझा, लक्ष्मी प्रसाद भट्ट, नारा जोशी, चन्द्रकला पन्त, भवानी चन्द, डम्बर शर्मा वडू, कविराज भट्ट रामचन्द्र नेपाल, जनक रसिक, राजेन्द्र रावल , युवराज घिमिरे, चम्फासिह भण्डारी करणदत्त अवस्थी, करन चन्द, लगायतसँगको लेखकीय संगत अत्यन्तै उत्साह जनक रहेको छ । लेखनमार्गमा सदैव अग्रजहरूको सम्मान, र नयाँ पुस्तालाई स्वागतको मान्यता सहित अघि बढने दृढ विश्वासका साथ मैले कार्य सम्पादन गरेको छु । रामराज्य द्वैमासिक र अविरल मासिक एउटा निश्चित मिसन सहित सुरू गरिएका थिए । साहित्यिक पत्रिका प्रकाशनको मुख्य समस्या आर्थिक व्यवस्थापन र बजारीकरण हो । तत्कालीन विभिन्न चुनौतीहरूका कारण निरन्तरता दिन नसकिए पनि जति काम गरिएको थियो त्यो भाषा, साहित्य र शैक्षिक बिषय वस्तु उठानका लागि महत्वपूर्ण थियो ।
.gif)