शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

हिन्दु परम्परामा गंगाको महत्व र बैतडीको ईश्वरी गंगा तीर्थधाम


आइतबार, चैत ६ २०७८
  • 1.8K
    Shares

  • images
    images
    हिन्दु परम्परामा गंगाको महत्व र बैतडीको ईश्वरी गंगा तीर्थधाम

    हिन्दुधर्म सम्प्रदायमा गंगाको विशेष महत्व र पवित्रताको मुक्तकण्ठले प्रशंसा गरेकोे पाइन्छ । गंगा स्नान र गंगाको पूजा अर्चनाले जन्मजन्मान्तरका पाप नष्ट भएर जाने विश्वास रहेको छ । हिन्दु सम्प्रदायमा नित्य गंगा स्नानलाई विशेष महत्वका साथ हेरिने गरिन्छ । विभिन्न समस्या र अशुलभताका कारण नित्य गंगा स्नान गर्न नसके पनि हुन्दु सम्प्रदायका विविध सँस्कार र संस्कृतिमा गंगा स्नान गर्नै पर्ने परम्परा रहेको छ । डोट्याली लोक समुदायमा पनि विशेष पूजा तथा विभिन्न मनोकामना पुर्ती तथा धार्मिक लाभका लागि देवी देवताका लागि गंगाजल ल्याएर मन्दिरको  गर्भगृहमा रहेको प्राकृतिक शीला तथा मुर्तीमा जल चढाउने परम्परा रहेको छ । त्यसै गरी श्रावण तथा माघ महिनाको स्नानका लागि त गंगास्नान तथा अभिशेषका लागि गंगाजलको विशेष महत्व रहेको छ । राज्याभिशेष, वास्तुपूजा लगायतका विभिन्न संस्कृतिहरुमा पनि गंगाजलको उपयोग गरिन्छ । हिन्दु परम्परामा नातक तथा सुतक शुद्धिका लागि पनि गंगास्नान गर्ने परम्परा रहेको छ । हिन्दुहरुको मृत संस्कारमा त यसको विशेष महत्व रहेको छ । अस्तु विषर्जन, चिना विसर्जन, वार्षिक शुद्धि, तीर्थ श्राद्ध लगायत पितृहरुको मुक्तिका लागि गंगास्नान र पिण्डदानलाई विशेष महत्व र अनिवार्यताका साथ पालन गर्ने चलन रहेको छ । गंगाको महत्व धार्मिक रुपमा मात्रै नभएर वैज्ञानिक रुपमा पनि उत्तिकै महत्व रहेको छ । जल बिना जीवन नै सम्भव नरहेकाले गंगाको महत्व धेरै बखान गर्नु आवश्यक नै छैन । वेद पुराण देखि लिएर हरेक धर्म तथा वैज्ञानिक शास्त्रहरुमा गंगाको मुक्त कण्ठले प्रशंसा गरेको पाइन्छ । हिन्दु समुदायमा हरिद्वार, पुष्कर, गया, गंगोत्री, गोदावरी, बद्री, रामेश्वर लगायतका विभिन्न तीर्थस्थलहरुमा स्नानका लागि थुप्रै मानिसहरु जाने गर्दछन् । यस्ता तीर्थस्थलहर भारतमा मात्रै नभएर नेपालमा पनि थुप्रै रहेका छन् । बागमती, देवधाट, गोदावरी, मूलपानी, महाकाली आदि थुप्रै नदीहरुमा गंगास्नान गर्ने परम्परा रहेको छ । 


    नेपालमा रहेका यस्ता विभिन्न  तीर्थधामहरु मध्ये बैतडीमा रहेको ईश्वरी गंगा पनि एक महत्वपूर्ण हो । बैतडी सदरमुकामको तलपट्टी रहेको ईश्वरी गंगाधाममा परापूर्व कालदेखि नै हाम्रा पुर्खाहरुले पवित्र तीर्थका रुपमा मान्दै स्नान तथा पूजापाठ गर्दै आइरहेको पाइन्छ । पहाडको शुद्ध जल बग्ने ईश्वरी गंगाधाममा हिन्दुधर्म संस्कृतिका विविध अवसरमा स्नान गर्न ईश्वरी गंगामा जाने गरेको पाइन्छ । सुन्दर प्रकृतिमा रहेको यो पवित्र तीर्थ स्थलमा शिवस्वरुप जगन्नाथको गुफा पनि रहेको छ । यस गंगामा स्नान गर्नाले जन्मजन्मान्तरका पाप नास हुने जन विश्वास रहेको छ । यस गंगाको जल यस क्षेत्रका विभिन्न देवीदेवताहरुको पूजामा पनि लग्ने गरेको पाइन्छ । विभिन्न शुद्धिकार्यका लागि पनि यही जंगाको जल उपयोग गर्ने गरिन्छ । यस मन्दिरमा विशेष गरी श्रावण तथा माघ महिनामा स्नान गर्नेहरुको भीड रहेको पाइन्छ । पहाडको ओरालो बग्दै गरेकी ईश्वरी गंगा , त्यसैको किनारामा रहेको भव्य मन्दिर र गुफाले यहाँको प्राकृतिक सुन्दरता तथा धार्मिक महत्वलाई झल्काएको पाइन्छ । यस मन्दिरमा विवाह तथा बर्तबन्ध सँस्कारहरु पनि गरिदै आएको पाइन्छ । सङ्क्रान्ति, पूर्णीमा, नवरात्री, शिवरात्री लगायतका पर्वहरुमा  विशेष पूजा अर्चना हुने र विविध अवसरमा रुद्री, अभिशेष, नवाह, सप्ताह, शिवपुराण आदि जस्ता विभिन्न धार्मिक अनुष्ठान हरु पनि यस मन्दिरमा हुने गर्दछन् । राष्ट्रियता पनि एक धर्म हो । हामीले धार्मिक रुपमा विभिन्न कुराहरु गर्दा आफ्नो क्षेत्रमा रहेका तीर्थस्थाल तथा मन्दिरहरुको उपयोग गरि लाभ लिन सक्नु पर्दछ । यसकारण यस्ता पवित्र धार्मिक स्थल हाम्रै गाउँघरमा हुँदाहुँदै धार्मिक लाभका लागि टाढाका तीर्थस्थलमा जानुपर्छ भन्ने छैन । हाम्रा यस्ता थुप्रै तीर्थस्थलहरुको प्रचारप्रसार तथा संरक्षण गरी यिनीहरुमा नै विशेष व्यवस्था गरी धार्मिक तथा पर्यटकीय लाभ लिन सक्नु हामी सबैको आवश्यकता र कर्तव्य हो । 




    प्रतिक्रिया दिनुहोस