सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैतडी  जिल्लामा प्रचलित लोकगीतहरूको एक झलक


बुधबार, चैत ९ २०७८
  • 1.7K
    Shares

  • images
    images
    बैतडी  जिल्लामा प्रचलित लोकगीतहरूको एक झलक


     
    सार संक्षेप
    नेपाल विभिन्न जातजाति, भाषभाषी, धर्म र संस्कृतिको सगोल रूप हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा बसोबास गर्ने प्रत्येक नेपालीहरूको आ–आफ्नो भाषा, संस्कृति, चालचलन, रीतिरिवाज, मूल्यमान्याका कारणले सबैको छुट्टै चिनारी छ । पूर्वको धाननाचदेखि सुदूर–पश्चिमको डेउडा गीतसम्म सबै नेपालको शोभाबढाउने संस्कृतिहरू हाम्रो देशका सम्पत्ति हुन् । यिनीहरूको संरक्षण र संवद्र्धन गर्नु सबै नेपालीको कर्तव्य पनि हो । यही हेतुले यस अनुसन्धानमूलक लेखमा बैतडी जिल्लामा प्रचलित लोकगीतहरूको खोजी गरेर तिनीहरूको परिचय गराउने कार्य गरिएको छ । यो अनुसन्धानमूलक लेख बैतडेली सांस्कृतिक लोकगीतहरूसम्बन्धी ज्ञान गर्न चाहने जोसुकैलाई पनि उपयोगी हुने छ ।


    १. पृष्ठभूमि 
     नेपालको सुदूर–पश्चिमाञ्चल विकासक्षेत्र महाकाली अञ्चलमा पर्ने बैतडी जिल्ला भारतको पिथौरागढ जिल्लाको सीमानासँग जोडिएको छ । यस जिल्लाको पूर्वी सीमा बझाङ जिल्लासँग सेती नदी, पश्चिमी सीमा भारतको पिथौरागढ जिल्लासँग महाकाली नदी, उत्तरी सीमा दार्चूला जिल्लासँग चौलानी नदी र दक्षिणी सीमा डडेलधुरा जिल्लासँग जोडिएको छ । भौगोलिक स्थितिअनुसार यो जिल्ला २९ͦ  १९ʹ देखि २९ͦ ४१ʹ उत्तरी अक्षंशसम्म र ८० ͦ  १५ʹ देखि ८० ͦ  ५४ʹ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको कूल क्षेत्रफल १४८३.३६ वर्ग किलोमिटर रहेको छ (पैंतोला २०७१ ः २५) ।
     बैतडी जिल्लामा अवस्थित उच्च पर्वत ग्वाल्लेक केदार पौराणिक ग्रन्थमा वायोतड जुन नामले प्रसिद्ध छ उक्त वायोतड पर्वतबाट बैतडी जिल्लाको नाम रहेको पाइन्छ । वायु +उत्तड शब्दबाट निर्मित उक्त शब्दको शाब्दिक अर्थ बढी हावा लाग्ने पहाड भन्ने हुन्छ । वयोतड शब्दबाट अपभ्रंश हुँदै बैतड र कालान्तरमा बैतडी हुन गएको बुझिन्छ । त्यस्तै बैतडी नामसँग बह (हावा) तडि (अडिने ठाउँ) मिलेर बहत्तडी शब्द बनेको र यसैबाट अपभ्रंश भई बैतडी नाम रहन गएको प्रसङ्ग पनि गाँसिन आउँछ (पैंतोला २०७१ ः २५)। प्राकृतिक भू–बनावटका दृष्टिले बैतडी जिल्ला समुन्द्री सतह ३९० मिटरदेखि ६९३८ मिटरको उचाइसम्म फैलिएको छ । २०६८ सालको जनगणनाको तथ्याङ्कअनुसार बैतडी जिल्लाको कूल जनसङ्ख्या २,५०,८९८ जना रहेको छ । बैतडीमा बैतडेली भाषाको प्रयोग गरिन्छ । ठाउँपिच्छे बैतडेली भाषामा पनि विविध भेदहरू रहेका छन् । बैतडी जिल्लामा दुईवटा  नगरपालिका रहेका छन् । ऐतिहासिक हिसाबले हेर्दा यो जिल्ला पूर्वमध्य कालमा खस मल्लहरूको अधिनमा रहेको थियो भने खसहरूको पतनपछि यहाँ बाइसे राज्यहरूको राज सुरू भएको पाइन्छ । बैतडी जिल्ला डोटी राज्यको अधिनमा रहेको देखिन्छ । बहादुर शाहको पालादेखि नेपाल एकीकरणका क्रममा बैतडी जिल्ला पनि एकीकृत नेपालमा मिलाइएको पाइन्छ । 


     जातजातिका दृष्टिले हेर्दा यहाँ बाहुन, क्षेत्री, वैश्य, शुद्र सबैको बसोबास पाइन्छ । धार्मिक तथा साँस्कृतिक हिसाबले यहाँ बसोबास गर्ने अधिकांश मानिसहरू हिन्दू धर्मालम्बी छन् । यहाँका मानिसहरूले मनाउने मुख्य चाँडपर्वहरूमा गौरा, दशैँ, तिहार, माघेसङ्क्रन्ति, बिसु, दुत्या, जाँत, रहेका छन् । गौरा, जाँत, दुत्याजस्ता जस्ता चाँडहरूमा नयाँ नयाँ लुगा लगाउने, निश्चित धार्मिक स्थलहरूमा टाढाटाढाबाट गएर मेला भर्ने, राम्रा राम्रा परिकारहरू पकाएर खाने चलन परम्परादेखि चलिआएको पाइन्छ । जात्रामा टाढाटाढाबाट आएर मेला भर्ने, भगवानको दर्शन गर्ने, भाकलअनुसार दान गर्ने, बली चढाउने गरिन्छ । बलीका लागि बोका राँगाहरू मन्दिरमा लगेर काट्ने परम्परा रहेको छ । निङ्गलासैनी भगवती, तल्लादेही भगवती, त्रिपुरासुन्दरी भगवती, उदयदेव जस्ता मन्दिरहरूमा असोज, मंसिर र चैत महिनामा बली दिने चलन छ । यी जात्रामा जिल्लाभरिका डेउड़ा गायकहरू आएर डेउड़ा गीतमा दोहोरी खेलेर आनन्द लिने गर्दछन् । मुख्यतः परम्परागत रूपमा नेउल्या, साल्ली, जस्ता भाकामा डेउड़ा दोहोरी खेल्ने गरिन्छ । त्यस्तै गौरापर्वमा प्रत्येक गाउँमा भाद्र  महिनामा अष्ठमीको चार दिन अघिदेखि अष्ठमीपछि केही दिनसम्म मनाइने गरिन्छ । गौरा पर्वमा फाग, डेउड़ा खेल, ठाडो खेल, धुम्मारी÷धम्मारी आशिष गान, देवस्तुति गान जस्ता लोकगीतहरू गाउने चलन छ । बैतडी जिल्लाबासीहरूको आङ्खनै रीतिरिवाज, चालचलन र सँस्कृति रहेको छ । जन्म, विवाह, व्रतबन्ध, घरपूजा, अष्टनारायणको पूजा आदि धार्मिक कामहरूमा सगुन फाग, गाउने चलन छ । यो अनुसन्धानात्मक लेख बैतडी जिल्लामा प्रचलित लोकगीतहरूको खोजी गरी ती लोकगीतहरूको परिचय गराउनमा केन्द्रित छ ।

    २. समस्या कथन
     कुनै विषय क्षेत्रसँग सम्बन्धित समस्याको समाधान गर्नका लागि अनुसन्धान कार्य गर्ने गरिन्छ । त्यसैले कुनै पनि अनुसन्धानमा उक्त अध्ययनको विषयवस्तुलाई समस्याको रूपमा लिने गरिन्छ । हरेक अनुसन्धानको गोरेटो  समस्याले नै तय गरेको हुन्छ । यस लेखको पनि निश्चित अनुसन्धेय विषयवस्तु रहेको छ जसलाई समस्या कथनको रूपमा निम्नानुसार प्रस्तुत  गरिएको छ :
    क) बैतडी जिल्लामा के–कस्ता लोकगीतहरू प्रचलित छन् ?
    ख) बैतडी जिल्लामा प्रचलित लोकगीतहरूलाई कसरी चिनाउन सकिन्छ ?


    ३. लेखको उद्देश्य
     उद्देश्यबिनाको कार्य अनि गन्तब्यबिनाको यात्रा कहिल्यै पनि टुङ्गिन सक्दैन । हरेक कार्य गर्नुको निश्चित उद्देश्य हुन्छ । यस लेखको पनि निश्चित उद्देश्य रहेको छ । जसलाई निम्नानुसार प्रस्तुत  गरिएको छ :
     क) बैतडी जिल्लामा के कस्ता लोकगीतहरू प्रचलित छन् सो को खोजी गर्नु,
     ख) बैतडी जिल्लामा प्रचलित लोकगीतहरूको परिचय दिनु ।


    ४. अध्ययन विधि 
     यस अनुसन्धानात्मक लेख सम्पन्न गर्नका लागि मुख्यतः खोज विधिको प्रयोग गरिएको छ । जसमा प्रत्यक्ष क्षेत्रीय अध्ययन विधिको प्रयोगबाट प्राप्त नतिजाका आफ्नो बाल्यकालदेखि युवा अवस्थासम्मको अनुभवबाट प्राप्त ज्ञानका आधारमा र अग्रजहरूका कृतिहरूको अध्ययनका आधारमा सामग्री सङ्कलन गरी सोही आधारमा व्याख्याविश्लेषण गरिएको छ । सामग्री सङ्कलन प्राथमिक र द्वितीयक स्रोतबाट गरी प्राप्त नतिजाका आधारमा विश्लेषण गरिएको छ । यसका लागि क्षेत्रीय अध्ययन विधि र पुस्तकालयीय विधिको प्रयोग गरिएको छ । क्षेत्रीय अध्ययन विधिका आधारमा प्राप्त नतिजालाई प्राथमिक स्रोतबाट प्राप्त तथ्याङ्क र पुस्तकालय अध्ययनबाट प्राप्त तथ्याङ्कलाई द्वितीयक स्रोतबाट प्राप्त तथ्याङ्कका रूपमा समावेश गरिएको छ ।


    ५. लोकगीत
     लोकभावना वा विचारको मौखिक एवम् श्रुति परम्पराद्वारा एक पुस्ताबाट अर्को पुस्तामा सार्दै जाने लयात्मक र गेय अवैयक्तिक भाषिक संरचनालाई लोकगीत भनिन्छ (शर्मा र लुइटेल २०६३ ः ७४) । लोकगीत लोकभावनासँग जोडिएको हुन्छ । यो अधिकांश मौखिक परम्परा तथा श्रुति परम्परामा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । लोकगीतले लोकवासीलाई मनोरञ्जन, अर्ति, उपदेश, शिक्षा अनि ज्ञान प्रदान गर्दछ । लोक साहित्यमा रस, लय र माधूर्यको प्रधानता पाइन्छ । लोकगीतमा लोकभाषा, लोकभावना, लोकविश्वास, लोक परिवेश लोकधर्म, लोकसंस्कृति, लोकका मूल्य मान्यतालाई मूल रूपमा उतार गरिएको हुन्छ । नेपाली लोकपद्यका चार विधामध्ये लोकगीत पनि एक छुट्टै विधा हो । यसअन्तर्गत बालगीतदेखि समाजमा प्रचलित सम्पूर्ण गीतहरू पर्दछन् (आचार्य २०६३ : ७३)।


     बैतडी जिल्लामा डेउड़ा, सगुन, फाग, पडेली, भोलाउलो, भैनी, भड़ा, धुम्मारी÷धमारी, चैतेलो, होली जस्ता लोकगीतहरू प्रचलित छन् । ती मध्ये सगुन, फाग सांस्कारिक माङ्गल गीतअन्तर्गत पर्दछन् भने धुम्मारी, भड़ा, चैतेलो जस्ता लोकगीतहरू पुराना राजा रजौटा र सूरवीरहरूको वीरताको गान र बहादुरीपूर्ण घटनाको गुणगानसँग सम्बन्धित छन् । त्यस्तै डेउडा जस्ता गीत जात्रा, मेला र चाडपर्वमा गाइने नृत्य प्रधान गीत हुन् । बैतडीमा प्रचलित केही मुख्य लोकगीतहरू र यिनीहरूको प्रस्तुतिगत सन्दर्भलाई निम्नानुसार प्रस्तुत गरिएको छ :


    ५.१ डेउड़ा गीत 
     डेउड़ा बैतडी जिल्लामा प्रचलित लोकदोहोरी गीत हो । खेलेर गाइने हुँदा डेउड़ालाई देउड़ा खेल पनि भनिन्छ । नेपाली भाषामा यसलाई डेउडा उच्चारण गरिन्छ । विशेषतः डेउड़ा खेल गौरा, जाँत, दुत्या जस्ता पर्वहरूमा खेलिने गरिन्छ । आजभोलि डेउड़ालाई कुनै विशेष अवसरमा प्रतियोगितात्मक रूपमा पनि खेलाउने गरिएको पाइन्छ । डेउड़ा खेल÷गीतमा कम्तिमा दुई जना अन्तरा जुराउँदै गीत भन्ने देउडिया (गीदरा) हुन्छन् भने बाँकी डेउड़ा खेल्ने खेल्कराहरू (मान्छेहरू) वृत्ताकारमा हातमा हात जोडेर खुट्टा र शरीरको चाल मिलाउँदै भाका मिलाएर गीत गाउने हुन्छन् । दोहोरीकर्ताहरूले प्रश्नोत्तर शैलीमा छनोट गरिएको भाकामा मिल्ने गरी गीत सिर्जना गर्दै अन्तरा भन्ने र अन्य खेलाडीहरूले अन्तराहरूलाई भाका मिलाएर गाउने गर्दछन् । डेउडि़याहरूको परिचयबाट डेउड़ा गायन सुरु हुन्छ । भाकामै परिचय सोध्ने र परिचय दिने गरिन्छ । डेउडि़याहरू बिचमा प्रश्न सोध्ने र उत्तर दिने अन्तराद्वारा नै चल्छ । प्रश्नको उत्तर दिन सक्ने र नसक्ने आधारमा हारजित हुन्छ । जाँतहरूमा रातभरि पनि डेउड़ा खेल्ने गरिन्छ । त्यस्तै प्रतियोगितात्मक डेउड़ा खेलमा कुनै निश्चित विषयवस्तु दिएर सोही विषयवस्तुमा केन्द्रित रहेर २÷२ डेउडि़याहरूलाई निश्चित समय दिएर सोही समयमा जसले विषयवस्तुसँग सम्बन्धित तोकिएको भाकाअनुसारको लयमा प्रश्न र उत्तर राम्रो गर्न सक्छ निर्णायकले उसैलाई विजेता घोषण गर्ने गर्दछन् । 


     पछिल्लो समयमा बैतडेली डेउड़ा गायकहरूले दर्जनौँ डेउडा गीतका एल्वमहरू रेकर्ड गरेर बजारमा उपलब्ध गराएका छन् । जसमा अन्तराम विष्ट, स्व. चन्द्रदेव वडू, महेशकुमार औजी, दीपक संगम वि.सी लगायतका गायकहरूका ‘पञ्चै बाजा ठोकी आया तेरा बरौन्या, धइ हेर धइ हेर मनि हिरू छलिया नचौन्या’, ‘छम छमला चैतका चर्किला घाम छमछम, भैँसी तिसाई रैग्या वैना छम’, ‘रङ्गीबाँज’, ‘सुदूरपश्चिम स्वर्गसरी’, ‘पिरतीमा आगलागीगै मेरीलाई माया पिरती आज परईका भाग लागिगै’, ‘घुम्टो ओड़ी लाजमाण्याकी तुई त मेरा मन पण्ड़्याकी’, ‘पूर्णीमाकी जून जसी तुई त मेरा दिलमा बसी’, जस्ता दजैनौँ बैतडेली डेउडा भाकाहरू बजारमा प्रचलित छन् । यी एल्बममा रेकर्ड भएका डेउडा गीतहरू सबै जसो युवा युवतीका प्रेमालापसँग सम्बन्धित दोहोरी पाइन्छन् । 


    ५.२ बैरा
     विशेष गरी एकान्त क्षणमा वा वनजङ्गलमा स्याउला सोत्तर लिन गएको बेला मान्छेले एक्लै आफ्ना मनका वह पोख्दै गाउने गीतहरू बैरा हुन् । सु, कठै लाड़ी, इजु, जूनकिड़ी जस्ता भाकामा बैरा गाउने गरिन्छ । गीत र गायनका दृष्टिले सामान्यतः डेउड़ा र बैरा उस्तै लागे पनि यी दुई बिचमा मुख्य एउटै भिन्नता छ, त्यो हो एकोहोरी र दोहोरी । दुई जना गायकाको बीचमा गीतका माध्यमबाट हुने घम्साघम्सी देहोरी डेउड़ा हो भने कुनै एक व्यक्तिले आफैँ एक्लै अन्तराको निर्माण गर्दे सु, कठै लाड़ी, इजु, जस्ता भाकामा गाइने गीत हो । बैरा गाउँदा प्रायः जसो गीत गाउनेले लयअनुसार आरोह–अवरोह मिलाउन घाँटीमा हातले छुने गरिन्छ । बैतडीमा प्रचलित ठाड़ी भाकाका गीतहरूलाई बैराको संज्ञा दिन सकिन्छ । वर्तमान सामयसम्म आइपुग्दा बैतडीमा थुप्रै ठाडीभाकाका गीतहरू रेकर्ड भएर एल्बम मार्फत बजारमा सर्वत्र उपलब्ध पाइन्छन् । अन्तराम विष्ट, महेशकुमार औजी जस्ता गायकहरूका हाइ तेरा घोप्ट्या जुँङा, घुम बादल अपिका रोल, मन्दिर भत्क्यो एइ आत्माको पूजा मुइ काँ गरूँ जस्ता ठाड़ी भाकाका गीतहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । 


    ५.३ सगुन, फाग र माङल
     तत्सम शब्द शकुन को तत्भव रूप सगुन हो । जसको अर्थ शुभ लक्षण, माङ्गलिक वस्तु, शुभ लग्न, शुभ साइत आदि भए पनि लोकगीतका सन्दर्भमा यसको अर्थ अशुभको विनास र शुुभको कामना गरी गाइने हो (आचार्य २०६३ ः ११६) । फाग पनि सगुन जस्तै गाइने मङ्गल गीत हो । बैतडेली भाषामा फागको अर्थ माहुरीको घार हुन्छ । मौरी जस्तै भुनभुन गरी महिला वर्गले गाउने गीत भएकाले शुभकार्यमा गाइने मन्त्र गीतहरूलाई फाग नामाकरण गरिएको हुन सक्छ (पन्त २०३२ ः १४) । फाग जन्मदेखि व्रतबन्ध र विवाहसम्मका जीवन संस्कार, जात्रा, पर्व, उत्सव, यज्ञ, पूजापाठ आदि अनेकौँ अवसरहरूमा नारीद्वारा सामूहिक रूपमा गाइने बैतडेली लोकगीत हो ।


     जुनसुकै शुभकार्य गर्दा सगुृन÷फाग गाइने गरिन्छ । माङल गीत नयाँ कार्यको शुभसाइतको कामनाका लागि देवी देवताको आराधना गर्दै कार्य सफलता र सुखशान्तिको पुकारका लागि गाइन्छ । सगुन कृुनै पनि कुृराको सुरू हो भने फाग त्यसको मध्य र अन्त्य हो (पन्त २०५५ ः ७५) । यसैगरी बैतडी जिल्लामा प्रचलित सगुन र फाग एकअर्कासँग सम्बन्धित लोक प्रचलित गीतहरू हुन् । सगुन, फाग बैतडी जिल्लाका सांस्कारिक गीतहरू हुन् । यी मन्त्रगीतका रूपमा पनि देखिन्छन् ।


     जन्म, अन्नपरासन, कर्णवेद, विवाह, व्रतबन्ध, तथा पूजाआजा जस्ता शुभकार्यमा महिलाहरूले सगुन, फाग, जस्ता मङ्गल गीत गाउने गर्दछन् । सगुनको सुरुआतमा देवीदेवताले कार्यलाई शुभ र सफल पारून भन्ने कामनाकासाथ देव स्तुति गरिन्छ । सगुनको सुरु ‘सगुन दिय, सगुनाकरिउँ ’ बाट हुन्छ । हरेक फरक किसिमका पूजाआजामा फरक–फरक सगुन र फाग गाइन्छन् । जस्तै जन्मका सगुन र फागहरूअन्तर्गत मङ्गलको फाग, गर्भवासको फाग, शिशु जन्मने बेलाको फाग, पुत्र जन्मको फाग, कन्या जन्मको फाग आदि फागहरू गाइन्छन् । विवाहका सगुन र फागअन्तर्गत पनि जज्ञ निर्माण गर्दाको फाग, विवाह मण्डप बनाउँदाको फाग, विहान सवेरै उठ्दाको फाग, न्युताको फाग, पात गाँस्दाको फाग, ताई लगाउँदाको फाग, सेलपुरी पकाउँदाको फाग, ग्रह पूजाको फाग, गणेश कलस आदि पूजाका फागहरू, जन्ती जाने तयारीका फागहरू, दुलाहा कन्याको घरमा पुग्दाको फाग, गोठो ब्याका (भित्रको विहे), फागहरू, बाहिरको विहेका फागहरू, वरियाँत घरनिर पुग्दाको सगुन, दुलही भित्र्याउँदाका सगुन र फागहरू, चौथीकर्म र दुर्गाउन गर्दाका फागहरू लगायत थुप्रै सगुन तथा फागहरू गाइन्छन् । त्यस्तै षष्ठी कर्मका, न्वारनका, भात चखाइ, अच्छेरारम्भ, ब्रतबन्धसंस्कार, विवाह, गौरा पर्व जाँत आदि विविध अवसरमा पनि विभिन्न कार्य गर्दा छुट्टाछुट्टै सगुन र फागहरू गाउने गरिन्छ ।


    ५.४ धम्मारी
     बैतडी जिल्लामा धम्मारी विशेषतः गौरापर्वमा गाइने एक लोकगीत हो । पुराना लोक प्रचलित ठाउँ विशेष, राजा विशेष, र सूरवीरहरू विशेषका कथामा आधारित भएर धम्मारी खेलिन्छ । मुख्यतः बैतडीमा खेलिने धम्मारीहरू पौराणिक कथाहरूमा आधारित देखिन्छन् । जस्तै ः महाभारतको कथामा आधारित धम्मारी । धम्मारी पनि एक ठाडो खेल नै हो । धम्मारी गाउँदा गाउँको सिपालु÷जान्ने व्यक्तिले लयमा मिलाएर कथा भन्दै जाने र बाँकी धम्मारी गीत गाउनेहरूले एक अर्काको हात समातेर गोलाकारमा धम्मारीको लयअनुसार खुट्टाको चाल मिलाई गाउने गरिन्छ । वीरगाथाको गान गर्दा वीरहरूको तिनीहरूको शारीरिक बनावटदेखि व्यक्तित्त्व, वीरता, परिस्थिति र घटनासम्मको बखान गर्ने गरिन्छ ।


    ५.५ भैनी
     बैतडी जिल्लाका मानिसहरूले रोपाईमा गाउने एक लोकगीत भैनी हो । असार÷साउन महिनामा रोपाई गर्दा देवी देवता र अग्रजहरूको  स्तुति, गुणगान र सम्झना गर्दै भैनी गाइन्छ । भैनीमा पनि पुराना लोक कथाहरूका आधारमा गीत सिर्जना गरिएको पाइन्छ । रोपाईको दिन खेत जोतेर धान रोप्न तयार बनाउँदा बाजागाजासहित गाउँदै बजाउँदै भैनी गाउने गरिन्छ । भैनी देवी देवता र अग्रज अनि सूरवीरहरूको स्तुतिमा केन्द्रित हुन्छ । रोपाइँका क्रममा भिन्न भिन्न भैनीहरु गाइन्छन् । उदाहरणका रुपमा रोपाइ गर्दा विऊ रोप्न सम्पूर्ण आइमाईहरुलाई उत्साहित गर्नुका साथै साली धान फल्ने खेतमा विरुवा रोप्न अनुरोध गर्दै गरेको प्रसङ्गको भैनीलाई उद्धवदेव भट्टले श्रमगीत अन्तर्गत राखेर यसरी प्रस्तुत गरेका छन् :


    “कसुन देवताकी साइ छ रोपाइँछ
    कौनका छोडिया बल्ल
    भूमिराज देवताकी र साइछ रोपाइँछ
    उनैका छाडिया बल्ल
    भाइर निकलहो सुना रानी
    साली खेत पुता सारी दिय
    कै देली उकलुँ कै ओरलुँ
    कै बौली पुत्या सारी दिउँलो
    सुना देली उकलुँ रुपा ओरलुँ
    दाइनु बौली पुता सारी दिय । (भट्ट, २०५६ ः ६२)”  


    ५.६ होरी/होली
     बैतडी जिल्लामा प्रचलित लोकगीतहरूमध्ये होली पनि एक हो मुख्यतः फागुन महिनामा होली खेलिने गरिन्छ । हिरण्यकशिपुले आफ्नै छोरा प्रह्लादलाई बहिनी होलिकाको काखमा बसाई डढाएर मार्न खोजेको र बहिनी होलिका डढ्दा पनि प्रह्लाद आगोबाट जिउँदै बाहिर निस्केको पौराणिक कथा प्रचलित छ । यसै कथाको सम्झनामा होलिकाको पुत्लाको रूपमा होली सुरु भएको दिनमा स–सानो सिङ्गै रूख वा रूखका ठुला ठुला हाँगा जमिनमा गाडिन्छ र होली समाप्त भएको दिन दहन गरिन्छ । होरी फागुन अष्टमीदेखि पूर्णिमासम्म मनाइन्छ ।


     विद्यालय, क्लव, गाउँ आदिबाट समूह बनाएर अर्थ सङ्कलन गरी कोषमा जम्मा गर्न नजिकका गाउँहरूमा ४/५ दिनसम्म होरी खेल्ने चलन छ । होरी खेल्नेहरूले सेतो पैजमा सुरुवाल (कुर्ता सुरुवाल) लगाएर रङ्गिदै प्रत्येकका घरमा गई होली गीत गाएर रमाइलो गर्ने र घरबेटीबाट चामल, अबिर प्राप्त भइसकेपछि उक्त घरपरिवारको जय जयकार गरी आशिष् दिएर अर्को घरमा खेल्न जाने गरिन्छ । आशिष दिँदा फागु गाइबरे दिउँला आशिष्, तम हम बाँचिरौँला लाखभरि, नुन हुनइरौ पुणाभरि सबजना बाँचिरौन बुड़ाभरि, गेदा हनाइरौन काखभरि ब्वारी खोज्जाइरौन चाखभरि । अइलकी होरी गइगैइ छ उपरी आउँलो भणिगइ छ । जस्ता गीत गाइन्छ । बैतडी जिल्लामा प्रचलित होरी भारतको कुमाउँ गडवालमा गाइने होलीबाट प्रभावित देखिन्छ । केही होरीहरू बेतडेली भाषामा र केही होरीहरू कुमाउनी÷हिन्दी भाषा र बैतडेली भाषा मिसावट गरेर गाउने गरेको पाइन्छ । 


     यी बाहेक बैतडी जिल्लामा चैतको महिनामा चैतेलो गाउने चलन छ । चैतेलो पनि पुराना समयका राजा रजौटा र वीरहरुको गाथा गानमा केन्द्रित रहेको पाइन्छ । चैतेलो गाउँदा हुड्को (बाजा) बजाएर गाथालाई लयमा गाउने गरिन्छ । त्यस्तै विवाह तथा जाँत्रामा भड़ा हाल्ने (गाउने) चलन छ । भड़ा दमाहा बजाउँदै नाच्दै गाउने गरिन्छ । भड़ा गाउनेले छलियाको पोसाक लगाउने गर्दछन् ।


    ६. निष्कर्ष 
     नेपाल साँस्कृतिक बहुलता भएको देश हो । यस देशका प्रत्येक जिल्ला र क्षेत्रमा आ–आफ्नै किसिमका लोक सँस्कृति र प्रचलनहरू छन् । जुन राष्ट्रका गहनाका रूपमा रहेका छन् । बैतडी जिल्लामा परम्परागत रूपमा धेरै लोकगीतहरू प्रचलित छन् । तीमध्ये डेउडा, बैरा, सगुन, फाग, माङल, धम्मारी, ठाडोखेल, चैतेलो, भड़ा, होली मुख्य रहेका छन् । स्वदेशी तथा विदेशी संस्कृतिको प्रभावले यी लोकगीतहरू गाउने प्रचलनमा विस्तारै बिस्तारै कमी आइरहेको देखिन्छ । यी स्थानीय तहका साँस्कृतिक रूपमा प्रचलित लोकगीतहरूको संरक्षण र सम्बद्र्धन गर्न यिनीहरूको अध्ययन अनुसन्धान गर्नु आवश्यक देखिन्छ ।


    सन्दर्भसामग्रीसूची
    आचार्य, कृष्णप्रसाद (२०६३), पूर्वआधुनिक नेपाली साहित्य, लोक साहित्य र आधुनिक  नेपाली निबन्ध, कीर्तिपुर ः क्षितिज प्रकाशन ।
    गिरी, जीवेन्द्रदेव (२०५७), लोकसाहित्यको अवलोकन, काठामाडौँ ः एकता प्रकाशन ।
    पन्त, जयराज (२०५३), अँजुलीभरि सगुन पोल्टाभरि फाग, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा  प्रतिष्ठान ।
    पन्त, देवकान्त (२०३२), डोटेली लोक साहित्य, काठमाडौँ ः नेपाल र एसियाली अध्ययन  संस्थान ।
    पराजुली, कृष्णप्रसाद(२०६४), नेपाली लोकगीतको आलोक, काठमाडौँ ः रत्नपुस्तक भण्डार ।
    शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद (२०६३), लोकवार्ता विज्ञान र लोक साहित्य,  काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
     

     


  • सम्बन्धित विषय:

  • # लोकगीत


  • प्रतिक्रिया दिनुहोस