महेन्द्रनगर । झलारीका जेरी बाजे भन्ने बित्तिक्कै ग्राहक हुरुक्कै हुन्छन् । जेरी बाजेलाई नचिन्ने सायदै होलान् । उनको हातको सीपले जेरी शुद्ध मात्रै होइन स्वादिष्ट पनि हुने गर्दछ । त्यही स्वाद लिन पूर्व नेपालदेखि भारत सम्मका ग्राहकहरु समेत झलारी धाउने गरेका छन्, तर बिडम्बना उनको जेरीको स्वादको अगाडि झलारीका अरु पसलेहरु भने हैरान छन् ।
१४ वर्षको कलिलो उमेर देखि नै जीवन बनाउन हिडेका कञ्चनपुरका प्रमानन्द जोशी एक पेशामा अडिक रहे । बैतडीको दोगडाकेदार हाल कञ्चनपुरको महेन्द्रनगर घर भएका ७० वर्षीय जोशीले जिवनको उत्तरार्धमा पनि सेवा गर्नका झलारी शान्ति पथमार्गमा जेरी पसल थापेर दैनिक एक कुण्टल जेरी बेचिरहेका छन् ।
१४ वर्षको उमेरमा जोशी भारतमा गोर्खाली सेनामा भर्ना हुने भनी ५० जना साथीहरुसँगै बैतडीबाट निस्किए । करिब १ वर्षको प्रतीक्षा सम्म नयाँ भर्ना नखुलेपछि उनी सहित ५ जना दिल्ली होटेलमा काम गर्न थाले । सोही समयमा उनले होटेलमा बनाइने मिठाइका परिकार सहित जेरी बनाउने सीप हाँसिल गरे । करिब १५ वर्षको दिल्ली बसाई पछि स्वदेश फर्किएका उनी बैतडी दोगडा केदारमै पसल थापेर व्यापार गर्न थाले ।
जोशीले बनाउने जेरीको स्वादले गर्दा ग्राहकहरु खिचिदै आउन थाले । १५ वर्ष दोगडा केदारमा जेरी सहित मिठाई पसल थापेका जोशी केही समय पश्चात् कञ्चनपुर बसाई सरे । महेन्द्रनगरको गल्लि नम्बर १ मा ०५४ सालदेखि जेरी बेच्न सुरु गरेका उनले जेरीको माग थेग्न सकेनन् । दैनिक डेढ कुण्टल बढी जेरी माग हुन थालेको थियो, उनले भने–“पुरै ग्राहक नै बाजे जेरी भन्दै जेरी खुबै मनपराउथे ।”
महेन्द्रनगरमा ८ वर्ष जेरी बेचेका उनी झलारीमा आएर जेरी बनाउन थाले । झलारीमा भने निकै चुनौँति खेप्नु परेको उनले बताए । झलारीका ५ बढी स्थानमा पसल थापेका उनी थुप्रै चुनौँतिहरुको सामना गर्नु परेको बताउँछन् । बुधबार पश्चिम प्रेसको टिम जेरी बाजे खोज्दै झलारीका खत्री स्विट र जोशी स्विट हाउसमा पुग्यौँ । बाजेको जेरी पसल यही हो भनी बताउँदै आएका उनले यति सम्म पनि भनिदिए कि–‘जेरी बाजे त झलारीबाटै बिस्तापित भएर गइसके, हामी उनकै चेला हौँ, जेरी कति चाहिने हो ?’
जेरी बाजे प्रति झलारीका अन्य जेरी पसल किन डाहा गर्छन त भन्दै हामी झलारीका केही स्थानीयसँग भेट्न पुग्यौँ । उनीहरुको भनाई थियो–बाज सुदूरपश्चिममै फ्यामस जेरी बनाउँछन्, उनकै जेरीका आधारमा झलारीमा जेरीको मूल्य समेत निर्धारण हुने गरेको छ । जोशीले बनाउने गरेको जेरीको स्वाद अन्य ठाउँमा नभेटईने हुँदा पनि पुर्वदेखि पश्चिम आउनेहरु दैनिक जेरी लग्ने गरेका रहेछन् । जोशीले आफूलाई झलारीमा बसेर जेरी बेच्नै समेत नदिइएको बताए ।
२ छोरा २ छोरीका बुवा समेत रहेका उनी पैसा भन्दा पनि सेवाकै लागि जेरी बनाउने गरेको बताउँछन् । उनले भने,–‘संर्घष गरेर नै २ छोरा अमेरिकामा छन्, जेरी बेच्न छोड्न भन्छन् तर ग्राहकहरुले अत्यधिक रुचाएकै कारण जेरी बनाउन छोडेको छैन् ।’झलारीको शान्तिपथ मार्गमा झलारीका गोबिन्द साउँदले पसल थाप्नकै लागि स्थान उपलब्ध गराएपछि विगत केही समय यता सोही ठाउँमा जेरी बेचिरहेको उनले बताए । उनले भने,–‘यस अघि जेरी व्यापारीहरुले घरमालिकसँग कुरा गरी विभिन्न ठाउँबाट पसल नै उठाउन लगाए, तर कसैप्रति बदलाको भावना नलिएका जोशीले समय परिवेश अनुसार चल्न सके सबैको प्रिय बनिने बताए । उनले भने,–‘जेरी व्यवशायी बाहेक अरुसँग सम्बन्ध राम्रै छ, अरुको जेरी नबिक्ने भएकाले मात्रै आफूलाई यस स्थानमा तनाव दिन खोजिरहेका हुन्छन् ।’
आफूले बनाएको जेरी पोखरा, बुटवल, काठमाडौं र भारत समेत जाने गरेको उनले बताए । प्रति केजी रु २ सयका दरले जेरी बेचिरहेका उनले रु.६०, रु १८० मा समेत बिक्री गरेका थिए । जीवनमा संघर्ष नै महत्वपूर्ण हुने बताउँदै जोशीले आफूसँग भएको सीपले सबैलाई उत्कृष्ठ जेरी खुवाउन पाउँदा हर्षित तुल्याउने गरेको बताए ।
.gif)