त्रासद मौसम गजल संग्रह
लेखक : भुवन निस्तेज
प्रकाशक : समकालीन साहित्य समाज
प्रकाशन वर्ष : २०७२
जन्म स्थान : बैतडी शाहीलेक
नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो भुवन निस्तेज । सुदूरपश्चिमको बैतडी जिल्ला शाहीलेकमा माता मुन्नी देवी र पिता दल बहादुरका पुत्र रत्नका रुपमा जन्मिएका निस्तेज नेपाली साहित्यका कविता, कथा, निबन्ध, गजल आदि विविध विधामा कलम चलाउँदै आइरहनु भएको छ । नेपाली गजलका क्षेत्रमा त उनको विशिष्ट पहिचान रहेको पाइन्छ । गजलका शास्त्रीय मान्यताहरुलाई आत्मसात गर्दै प्रायः बहरबद्ध गजल सिर्जना गर्ने निस्तेजका गजलहरुमा गहिरो भाव अभिव्यक्त भएको पाइन्छ । नेपाली गजलका क्षेत्रमा औँलामा गन्न केही अब्बल कृतिहरु मध्ये त्रासद मौसम पनि एक हो । २०७२ सालमा समकालीन साहित्य समाज महेन्द्रनगरबाट प्रकाशित यस कृतिमा ७२ ओटा गजल रहेका छन् । विविध विषयवस्तुमा रहेर रचना गरिएका यस कृतिभित्रका हरेक गजल र गजलका हरेक सेरले सागरको गहिराइ नापेको आभाष हुन्छ । वैचारिक सशक्तता तथा गहन भाव बोकेका यस कृतित्रिका गजलहरुले विशेष गरी वर्तमान नेपाली समाज र राजनीतिको चित्रण गरेको पाइन्छ । यस कृतिभित्र रहेका गजलका केही सेरहरु यसरी प्रस्तुत भएका छन् :
बसेका छौ सभामा खास झैं,
सनाखत नै नभाको लास झैं
बडो सुन्दर हजुरको काँचको घर
म ढुङ्गे युगको मान्छे हो यही डर
तिमी पो बुद्धका झैं बात गर्छौ
सिरानीका मुनी राखेर खन्जर
लगायो बाँसका खुट्टा भयो फेरी ठूलो मान्छे
रहेनन् पाउ धर्तीमा नटेक्ने भो धुलो मान्छे
मिलेन ऐनामा कतै मिलेन संविधानमा
निसाफ यो गरीबको निलाम भो बजारमा
दिदैन बिक्न यो भनी बजारसङ्ग बाँझ्दछु
म मान चित्र देशको लिएर आज हातमा
म मिल्काएर यो खन्जर बसें लौ फूल सङ्गाली
नयाँ नेपालको चर्चा भयो रे राजधानीमा
पसलमा जून तारा बेच्न आयौ रे
नयाँ व्यापार कुन थाली तिमी आयौ
.gif)