शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

उपन्यासकार कंकुरा बोहरा र उनको जेल उपन्यास


शनिबार, चैत १२ २०७८
  • 2.3K
    Shares

  • images
    images
    उपन्यासकार कंकुरा बोहरा र उनको जेल उपन्यास

    संसारमा धेरै मानिस जन्मिन्छन् र समय सकिएपछि संसार छोडेर जान्छन् । अहिलेसम्म संसार कति मानिस जन्मिए, कति मरे तिनको कुनै लेखाजोखा छैन ।  जसले आफू जन्मेको केही चिनो छोडेर जान्छन् तिनीहरु मृत्युपछि पनि चर्चामा आइरहन्छन् । आफ्नो लागि भन्दा पनि अरुको लागि बाँचेकाहरुको भौतिक शरीर यस संसारमा नरहे पनि उनीहरुको नाम भने सदाका लागि अमर रहन्छ । यसरी आफ्नो नाम यस संसारमा छोडेर जान सफल नारी हुन कंकुरा बोहरा । शिक्षा, समाज तथा  नेपाली भाषा साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएर आफूलाई अमर बनाउन सफल कंकुरा बोहराको जन्म वि.सं. २०२९ साल अषाड २० गते द.न.पा. २ देहिमाण्डौँ जोलाघट्ट (साविकको देहिमाण्डौँ ३) बैतडी जिल्लामा भएको थियो । हरु देवी बोहरा र बहादुर सिंह बोहराकी पुत्रीरत्नका रुपमा जन्मिएकी कंकुरा बोहरालाई साहित्यमा अस्मिता नामले पनि चिन्ने गरिन्छ । गरीब परिवारमा हुर्केकी कंकुरा सानै उमेरदेखि अनुशासित, लगनशील र पढाइप्रति विशेष रुचि राख्ने गर्दथिन् । पराइ घर जाने छोरीहरुले नाम लेख्नसम्म मात्रै जाने पनि भइहाल्छ भन्ने सोच भएको तत्कालीन समाजमा आफूले संघर्ष गरेर आफ्नो अध्ययनलाई निरन्तरता दिइन् । १२ कक्षासम्मको अध्ययन सकेर गाउँकै जनचेतना प्रा.वि.मा शिक्षिक भएर काम गर्न थालिन । आफू शिक्षक पेशामा हुँदा गाउँछिमेकमा पढाइबाट बञ्चित रहेका बालबालिकाहरुको खोजी गरी अभिभावकहरुलाई सम्झाइ बुझाइ विद्यालय भर्ना गर्न लगाउथिन् । विद्यालयमा बालबालिकाहरुलाई खुब मायाप्रेम गरी पढाउने कंकुरा बोहरालाई सबै बालबालिकाहरुले खुब माया गर्दथे । गाउँमा कुनै असल मान्छेको उदाहरण दिनु परेमा हरेक मानिसको जिब्रोमा पहिलो उदाहरणका रुपमा कंकुरा पर्दथिन् । तत्कालीन समयमा केटा मान्छेले समेत गर्न नसकेको काम केटी मान्छेले गरेर देखाएको प्रसङ्गमा उनको धेरै प्रशंसा हुने गर्दथ्यो । बिहान बेलुका घरको काम दिउषो विद्यालयमा पढाउने कंकुरा एक संघर्षशील नारीका रुपमा चिनिन्थिन् । उनका बुबा बहादुर सिंह बोहरा पनि डोट्याली लोक साहित्यका पारखी हुनुहुन्थ्यो । डोट्याली लोक डेउडाका पारखी उनी सुदूरपश्चिममा एक प्रख्यात डेउडियाका रुपमा परिचित हुनुहुन्थ्यो । सानै देखि साहित्यिक माहोल पाएकी उनी विभिन्न पत्रपत्रिका तथा नयाँनयाँ पुस्तक पढ्न खुब मन पराउँथिन् । उनी बालयकालदेखि नै गीत गुनगुनाउने र लेख्ने गर्दथिन् । तत्कालीन समयमा बैतडीजस्तो पिछडिएको क्षेत्रमा साहित्य सम्बन्धी कुनै पनि गतिविधि नहुने, पुस्तक नपाइने त्यसैमा पनि महिलाहरुले साहित्यमा लाग्न अति नै कठीन भएकाले उनभित्रको प्रतिभा प्रस्फुटन हुन पाएन । पाँचसात  वर्ष जनचेतना प्रा.वि. मा शिक्षण गरेपछि उनी वैवाहिक जीवनमा बाधिन पुगिन । वैवाहिक जीवनमा बाधिएपछि उनले उक्त विद्यालयबाट सरुवा गर्नु पर्यो । त्यसपछि उनी खोड्पेमा शिक्षण गर्न थालिन ।  उनले सफल प्रेम कविता संग्रह र वि. सं. २०६१ मा जेल उपन्यास पनि प्रकाशन गरिन । यस्तै समस्याहरुसँग संघर्ष गर्दागर्दै ६० कै दशकमा उनी यस संसारबाट सदाका लागि बिदा भइन । उनले यस संसारलाई छोडेर गए पनि शिक्षा तथा साहित्यका क्षेत्रमा उनले गरेको योदान सधैँ अवस्मरणीय रहेको छ । 

    उनको जेल उपन्यास सुदूर पहाडका नारीहरुले आफ्नो जीवनमा भोग्नु परेका पीडाहरुमा आधारित रहेको पाइन्छ । विवाहपछि जन्मघर छोडेर पराई घरमा गइसकेपछि महिलाहरुले भोग्नुपर्ने विभिन्न पीडाहरु यस उपन्यासले बोकेको पाइन्छ । एउटा नारीले पढेलेखेर जतिसुकै अगाडि बढे पनि आफूले सन्तान जन्माउन नसक्दा गाउँसमाज र घरमा उसको केकस्तो स्थान  रहेको हुन्छ भन्ने कुराको यथार्थ चित्रण यस उपन्यासमा गरिएको पाइन्छ । पुरुषप्रधान समाजमा महिलाले जतिसुकै अगाडि बढे पनि उसलाई केवल खुट्टाको जुता सरह मान्ने गरेको प्रवृत्तिको यथार्थ चित्रण गरिएको यस उपन्यासमा शान्ती पात्रका माध्यमबाट नारी समुदायले भोग्नुपरेका पीडाहरु उजागर गरेको पाइन्छ । 


    शान्ति यस उपन्यासकी मुख्य पात्र हुन् । पेशाले शिक्षकका रुपमा काम गरिरहेकी शान्तिले आफूभन्दा कम अध्ययन गरेको बेरोजगार केटासँग बिहे  गरेको हुन्छ । शान्ति दिनमा विद्यालय पढाउने र साँझ बिहान घरको काम पनि गरिरहेकी हुन्छे । घरको खर्च देखि लिएर श्रीमानका हरेक सौख पुरा गर्न शान्तिले कुनै कसर बाँकी राखेकी हुँदैन तर पनि उनले घरपरिवार तथा श्रीमानबाट माया तथा अपनत्वको भाव पाउँदिन । श्रीमान श्रीमतीकै पैसाले विभिन्न सौख पुरागर्ने देखि लिएर साँझ बिहान रक्सी धोक्न समेत बाँकी राख्दैनथ्यो । बिभिन्न निहु पारेर रक्सीको मातमा हरेक दिन श्रीमतीलाई कुट्ने गर्दथ्यो । श्रीमतीले सन्तान जन्माउन नसकेकोले पनि उनले बेलाबेलामा कटुवचन सहनु परिरहेको थियो । उसले शान्तीको पैसा मात्र प्रयोग गर्ने तर मायाप्रेम भने अरुलाई नै गर्ने गर्दथ्यो । यस्ता विविध घटनाहरुले शान्तिले आफ्नो जीवनमा कहिल्यौ शान्ति पाइनन् । यस्तै अवस्थामा दिक्काइरहेकी शान्ति आफूसँगै शिक्षण गर्ने शिक्षकसँग प्रेममा बाधिन पुग्छिन् र त्यसबाट पनि उनले सोचेजस्तो प्रेम नपाएको महशुष गर्दछिन् । 


    यसरी पुरुषप्रधान समाजको कारण नारीले भोग्नु पर्ने विभिन्न यातना र पीडाहरु यस उपन्यासका माध्यमबाट व्यक्त गरिएको पाइन्छ । घरपरिवार तथा पतिको प्रेम नपाउँदा महिलाहरुले बाध्य भएर अर्को विकल्प खोज्नु पर्ने तथा परपुरुषसँग सम्बन्ध जोड्नुपर्ने बाध्यताको  चित्रण यस उपन्यासमा गरिएको छ । विकल्प खोज्दा पनि एउटी महिलाले पाउनुपर्ने पीडामा कुनै कमी नरहने र महिलाका समस्या जुनसुकै ठाउँ र परिवेशमा उस्तै रहने तीतो यथार्थलाई  यस उपन्यासमा देखाउन खोजिएको छ ।  




    प्रतिक्रिया दिनुहोस