ओ देवता बाबु ...?
देवताबाबु .....!
सुन्नुभएन... ?
एकचोटी फेरी विमानस्थलमा
उभिनुपर्ने बेला आएको छ
खाडी मुलुकबाट
बीर बहादुर घर आउँदैछ
गाडीले कुल्चेर मरेको
उसको छोरो रामे
र उसैको पीरमा रोइरहेकी
आफ्नी डल्लीलाई भेट्न
एक चोटी फेरी सम्झाइदिनु उसलाई
स्वास्नी छोराछोरीको पीर भन्दा
आमाको पीर ठूलो हुन्छ भनेर
चितपुर रोडतिर
पाइला चालिरहेका
खड्ग बहादूर
अब बैठकमा जानु पर्दैन
काशीका पुण्य प्रसाद
र चेलीबेटी बेचबिखन गर्ने हिरालाल
आमाको सौदा गर्न
नेपालमै डेरा सारी बसेका छन्
एक चोटी फेरी
त्यही खुकुरी ल्याएर ।
आउने बेला भएको छ
किताबका पन्नाबाट
बलभद्र र अमरसिहहरूले
ओर्लनुपर्ने बेला भएको छ
यहाँ मोटे कार्की र तेज बहादुरहरू
एक बोतल दारु अनि
श्रीमतीका लागि घागरमा
गार्नरसँग बेचिइ सकेका छन्
भानुभक्तका राम
स्वयम् रावण बनेका छन्
जनपुरमा जनकले
सीताको बोलि लगाएका छन् अरे
एक चोटी फेरी आयो गोर्खाली
भन्ने बेला आएको छ
ल्हासाबाट फर्केका मदनहरू
बाटोमै लुटिएका छन् भोटेहरूबाट
यहाँ सर्पहरूको बिगबिगी बढेको छ
राधालाई बोक्सी बनाइएको छ
सीतालाई ठमेलमा बन्द गरिएको छ
ओ देवता बाबु...
देवता बाबु ....
सुन्नुभएन ?
.gif)