शीर्षक वाक्य नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक घोषणा पत्रको चाहानाभित्र समेटिएको छ । व्याकरणका दृष्टिले हेर्ने हो भने चाहाना सदैव इच्छार्थक हुन्छ । इच्छार्थक वाक्यमा प्रस्तुत यस वाक्यले हरेक नेपालीलाई खाना पुगोस् भनेर कामना गरिएको छ । इच्छार्थक वाक्यको प्रयोग हुन सक्ने र नसक्ने दुबै सम्भावना बोकेको तर भैदेओस् भन्ने कामना गरिएको अवस्थामा हुने गर्दछ । सोझो आँखाले हेर्दा यस भावनात्मक वाक्यले कुनै पनि नेपाली भोकले नमरुन भन्ने हो भने यसै वाक्यलाई विभिन्न दृष्टिकोणले गहिरो विश्लेषण गरेर हेर्ने हो भने यसका थुप्रै अर्थहरु निस्कन सक्छन् । यसको एउटा अर्थ विश्व जगत विज्ञान र प्रविधिको उचाईमा पुगिरहेको बेलामा सबै नेपालीहरुको थालमा बिहान बेलुकाको खाना सम्म पनि छैन भन्ने हो । कामना जुन कुरा छैन त्यसैका लागि गरिन्छ । विश्व जगत विज्ञान र प्रविधिको लडाइ लडिरहेका बेला हामी अझै बिहान बेलुकाको छाक टार्न लडाइ लडिरहेको तीतो यथार्थ पनि यस वाक्यले झल्काउँछ । यस वाक्यको गहन अर्थ नेपाली राजनीतिको इतिहासलाई विश्लेषण गर्ने हो भने विगतदेखि वर्तमानसम्म नेपालले केवल भोकको लडाइ लड्दै आएको पाइन्छ । इतिहासका कुनै कालखण्डहरुमा राजाहरुका महान वाणीका रुपमा मेरो राज्यका जनताहरु कोही पनि भोकले नमरुन भनी पशुपतीनाथ सामु यस्तै इच्छार्थक वाक्यहरु प्रस्तुत हुन्थे । शतकौँ अघि प्रस्तुत हुने यस्ता इच्छार्थक वाक्यहरु २१ औँ शताव्दीसम्म आइपुग्दा पनि दोहरिदै आइरहेका छन् तर नेपालमा शासन गर्दै आइरहेका कुनै पनि शासकको यो इच्छा पुरा हुन भने सकेको छैन । जब कुनै देशका नागरिक बिहान बेलुकाको छाक टार्न नै सकिरहेका छैनन भने त्यो देशको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।
वर्तमान अवस्थामा नेपालजस्ता देशहरुले एकातिर भोकसँग युद्ध लड्नु परेको छ भने अर्कोतिर विश्व जगतसँगै दौडिनु परेको छ । एउटै बाटो भएर एउटै दूरी पार गर्न एक जना भोकभोकै दौडिनु परेको छ भने अर्को विज्ञानको बुँइ चढेर रकेटको गतिका हावामा उडिरहेको छ । एउटा बलियो गोरु र अर्को निर्धो गोरुको दाँइले खेत जोत्दाको अवस्था यहाँ पनि देखिएको छ । बलियो गोरुको खिचाइ र कमजोर शरीरमा हलीको चोट सहन बाध्य निर्धो गोरुले बीचमै पल्टिनु बाहेक अर्को कुनै विकल्प छैन । नेपाल पनि वर्तमान अवस्थासम्म आइपुग्दा केवल निर्धो गोरु बनेर जोतिदै आएको छ जुन कतिबेला पनि पल्टिने सम्भावना रहन्छ । विश्व जगत विभिन्न ग्रहहरुको आयु र यहाँको अवस्था मापन गर्दै पछिको मानव वस्तिका लागि अन्य ग्रहहरुमा सम्भावनाको खोजी गरिरहेका बेला नेपालीले बिहान बेलुका आफ्नो थालमा खाना हुने नहुने सम्भावनाको खोजी गर्नु अत्यन्तै दुःखदायी अवस्था हो । विश्व जगत गुणस्तरीय खाना खाइरहेको बेला नेपालीको थाल अझै खाली देखिनु दुःख मात्रै होइन लज्जाको विषय पनि हो । यसको दोष एकातिर विभिन्न समयमा शाशन गर्दै आइरहेका शासकहरुको हो भने अर्कोतिर हामी नेपालीहरुको कर्तव्य विमुखताको उदाहरण पनि हो । विभिन्न देशमा गएर मरुभूमिको बालुवामा हरियाली बनाएर आउने हामी नेपालीहरु आफ्नो देशको भएको हरियाली पनि उजाड गर्नमा मात्रै लागिरहेका छौँ । अन्ध राष्ट्रभक्ति र विगतका झुटा वीरताका गाथाहरुमै रमाइरहने हामीहरुले अरुको देश बनाएर आए पनि आफ्नो देशका लागि भने सिन्को भाँचेका छैनौ । अरुले गरिदेला र हामी खाऔँला भन्ने आसमै हामी पछि परिरहेका छौँ । विकासका लागि हामी सरकारलाई गाली गर्न हजारौँ दिन खर्च गछौँ तर आफ्नै बाँझो खेत खन्न एकदिन पनि खर्च गर्न तयार हुँदैनौ, यस्ता इच्छार्थक वाक्हरु दोहरिनु पनि यसैको परिणाम हो । राजनीतिक दलहरुले पनि एकातिर कोही भोकले नमरुन भन्ने कामना गर्ने तर भोकले नमर्नका लागि के गर्ने भन्ने कुरामा कत्ति पनि चासो नदेखाउले यस्ता वाक्यहरु सधैँ अमर रहिरहन सफल छन् । साँच्चिकै नेपालीहरु भोकले नमरुन भन्ने चाहना लिइएको हुन्थ्यो भने पार्टीहरुका घोषणपत्रमा र राष्ट्रको संविधानमा हरेक नेपालीले आठ घन्टा काम नगरि खान नपाइने भन्ने कडा निर्देशन हुनु पर्दथ्यो । सरकारले त्यसै अनुरुप कामको सिर्जना गर्नुपर्दथ्यो । यहाँ काम नभएर भन्दा पनि काम नगरेर बेरोजगार बसेकाहरु धेरै छन् । एकातिर विद्यावारिधि भन्दा पनि माथिसम्मको शिक्षा घोकाइदिने अर्कोतिर त्यस अनुसारको काम सिर्जना गर्न नसक्नुले डोटेली उखान ‘जोत्ताइ गडो नाइ गोठ चारहल बल्ल’ भनेजस्तै भएको छ ।
नेपालमा रहेका सबै राजनीतिक दल र हरेक नेपालीको चाहाना कुनै पनि नेपाली बिहान बेलुकाको छाकबाट बञ्चित हुनु नपरोस भन्ने हो भने सर्वप्रथम देशको संविधान र राजनीतिक पार्टीका घोषणापत्रहरुमा नेपालमा रहेको दक्ष जनशक्ति र स्थानीय स्रोत साधनको उपयोग गर्नका लागि स्पष्ट खाका र कानून निर्माण गरिनु पर्दछ । राज्यले नेपालभित्रका स्थानीय स्रोत साधन र सम्भाव्यताको खोजी गरी कामको सिर्जना गर्नुपर्दछ भने हरेक नागरिकले पूर्वाहग्रहरहित रुपमा राज्यले खटाएको जुनसुकै काममा पनि दिनको आठ घन्टा कत्ति पनि लापरवाही नगरी काम गर्नु पर्दछ । नेपालमा सम्भावना भएका कुनै पनि विदेशी वस्तु आयात गर्न बन्द र हरेक नागरिकले स्वदेशी उत्पादन मात्र प्रयोग गर्नु पर्दछ तब मात्रै हरेक नेपालीको थालमा खाना हुनेछ, काही पनि भोकले मर्नुपर्ने छैन अन्यथा चुनावका बेलाका यी भावनात्मक वाक्यहरु केवल जनताबाट भोट तान्ने कामका लागि मात्रै प्रयोग भइरहने छन्, पटकपटकका घोषणापत्रहरुमा यिनै वाक्यहरु दोहरिइ रहनेछन्, हरेक नेपालीको थालमा खाना होस् ......!
.gif)