धिरज जोशी । २०५९ सालमा एसएलसी परीक्षामा फेल भएँ । घर र ऋणको बोझले फेरी जाँच दिने माहोल थिएन । चैत्र २८ गते आँगनमा दुई जना आए । एक जना सोराडको भैँसीको व्यापार गर्ने तुर्का थिए, अर्का भने नौला मान्छे सुकिला लुगा लगाएका ।
भैसीवालाले भैसीको कुरा गरे । अर्काले भने पल्लो गाँउबाट समेत लेबर काम गर्ने मान्छे खोज्दै आएको र भारतमा राम्रै कमाईमा काम लगाउने सुनाए। अनी बुबाले मेरा पाखुरमा समात्दै सोध्नुभयो, ‘यसले भ्याउला त काम ?’ मुस्कुराउँदै जवाफ दियो सुकिलो मान्छेले, ’यसले त अरुभन्दा दुई÷चार हजार बढ्ता कमाउँछ । किन नभ्याउनु नि ?’
दुई पल्ट टालेको बोराको सुरुवाल समातेँ मैले । फेरि एसएलसी दिने÷नदिने कुरै गर्न पाइएन। मैले यति चाहीँ सोधे– कैले जाने ? कपडा सुक्लान त ?
सुकिलो मान्छेले बोल्यो, ’किन सुक्नु प¥यो? कमाउन जाने मान्छेले कमाएर नयाँ किनिहाल्छ नी ।’
मैले पैसा कमाएको सपना देख्न थालिसकेको थिए। पैसा कमाएपछि के–के किन्ने‘ व्यापारीले भोलि घाकिरिको घडी नबज्दै तल दोबाटोमा आउन भन्यो। कपडा सुक्न कुर्ने हैन, अब टालो हालेको हैन ६ खल्ति भएको पैन्ट किनौला भनेर उसले आस्वस्त पा¥यो ।
आमालाई भने पठाउन मनै थिएन । नपठाए हुन्न र भन्नुहुन्थ्यो बुबालाई । म निस्किएँ । आमाको हात हल्लाएको देखिन छोड्यो । दोबाटोमा सुर्के झोलामा कमिज र स्कुलको पैन्ट बोकेर म कुरिरहे व्यापारीलाई । भैसीसहित हामी छ जना हिड्यौँ । भैसी पनि बेचिएका र हामी पनि बेचिएका। भैसीहरु काठमाण्डौँतिर काटेर खान्छन् रे । हामीलाई काटेर नखालान् ।
तर अरु त बिक्री भाउका हिसाबले, हुर्काइका हिसाबले र भविष्यका हिसाबले हामी एउटै थियौँ । डोरीले बाँधिएका ऐसी ट्रकमा हुलिए। हामी अभावले डोरिएकाहरु जीपमा ।
मेरो बारेमा गाइँगुइँ सुनिन्थ्यो ‘यसले सक्छ र ?’ मलाई के थाहा थियो मैले केही गर्नपर्ने हो, सक्ने÷नसक्ने अनुमान लगाउनु ? मलाई त बस हजार कमाउनु थियो । ऋण तिरेर गाँउमै बाख्रा चराउँदै आमासँगै लेकबेसी गर्न मन छ । मलाई हजारबाट लाख कमाएपछि के गर्ने होला भनेर सोच्दै एक दिनपछि हामी गुहाटी पुग्यौँ । पाँचै जनलाई छुटाछुट्टै ठाँउमा लगियो । म सिमेन्ट फ्यक्ट्रीमा । सिमेन्टका बोरा गन्ने र लेख्ने काम थियो। छ महिनासम्म म घुलमिल हुन लागेको थिए । छ महिनापछि गाँउबाट मजस्तै अर्को आयो। अब मेरो काम उसले गर्ने र म ट्रकमा सिमेन्ट लोड गर्ने काममा गएँ । म बिरामी पर्न थाले। पेटबाट रगत आउन थाल्यो। थला परे। अस्पताल लग्ने कुरा भयो । सिकिस्त छ, मर्न पनि सक्छ भनेर पुलिसलाई पनि कम्पनिले खबर ग¥यो । पुलिसलाई डक्टरकै अगाडि बै विस्तार लगाएँ । तर पुलिसले मैले भनेजस्तो लेखेन। ८ घन्टा मात्रै काम। दुई टाइम खाना, १५ हजार तलब । तर वास्तविकता थियो अर्कै, १८ घन्टा काम गरेर तिन हजार तलब। ट्रकमै खानु, ट्रकमै सुत्नु । किन साँचो लेखेन होला भनेर मतलब पनि गरेन। चार वर्ष सिमेन्टमा काम । मुखमा बाँध्ने रुमाल पनि छैन । छाती पोलेर धेरे हुँदा पहेलो रंगको चक्कि दिन्थे खानासाथ निद्रा लाग्थ्यो। सधैँको अस्तव्यस्त वर्षभरी, तर एक दिन हामी पनि सुकिला हुन्थ्यौँ किनकी हामी त्यो दिन ताली बजाउन जान्थ्यौँ । सबै नयाँ लुगा । रातो भेस्ट, हरियो टोपी। सबैलाई दशैँ आयो जस्तो लाग्थ्यो। तर दशै थिएन‘
मे १ को दिन मजदूर दिवस हुँदो रैछ । साहूका लागि काम गर्नेहरुले सफा भएर चौरमा ठूला फोटा अगाडि उभिनु पर्थ्यो। ताली बजाउनु पर्थ्यो । साहुको नाम आउन्जेलदेखि उसले बोलुन्जेल ताली। ८ घन्टा ताली बजाएपछि समोसा र पानी खादैँ ट्रकमा फरकिन्थ्यौँ फ्याक्ट्रीमै ।
नेता, मालिक, भाषण ताली, अनि सुपरभाइजरको आदेश। हरेक भाषणमा ताली। पानी खाँदा र पसिना पुछ्दा ताली छुट्ने डर । हात बेचिए जस्ता, स्वाभीमानमा ताला लगाए जस्तो । मलाई त लाग्छ, तालीकै लागि बाँचेकाहरु मसानघाटमा पनि ताली मिल्ने भए जुरुक्क उठेर मुस्कुराउथे होला, अभिमानको हात हल्लाउथे होला ।
दाउरा र टोपी मिलाउँथे होला। चार वर्षअघि मजदूर संगठनको नेता यपाली माननीय भएर आए । हिन्दी भाषण जति बुझियो । त्यसभन्दा बढी सुपरभाइजरलाई देखाउन ताली ठोक्कियो । धेरै मान्छे बटुल्न सकेर आफूभन्दा ठूला मान्छेलाई ताली खुवाउन सकेकाले उनी माननीय भए । उनका भाषणले त हामी ऋण तिरिसकेका हुन्थ्यौँ, घर जान बिदा मिलेको हुन्थ्यो। तर सम्झिदा आँखा रसाउँथे, घाटी सुक्थ्यो र तालीले हात रातो हुन्थ्यो । आखिर गुलाम थिए, हातहरु माथि कुर्सीको मालिकका लागि पड्किनु नै पर्थ्यो ।
छ वर्षमा ऋण तिरो भयो, नेपाल फर्किए । यता नेपालमा पनि मजदूर दिवसको चहलपहलकै बेला बिदामा आइयो । सदरमुकाम गोठालापनीबाट रोड खन्ने ठेकेदारका मान्छे पनि सुकिला भएर सदरमुकामबाट आउँदै थिए । मेरो भने छाती झन्–झन् दुख्न र चक्कर आउन थालेको थियो । गाँउमा आउने स्वयंसेविकालाई समस्या भने । भारतमा खाएको पहेलो औषधी बारे पनि बताए । ‘धन्न बाँच्नु भएछ । त्यस्तो बढी पावरको औषधी त्यतिका वर्ष खान्जेलम्म किन डाक्टरलाई नदेखाएको ? अब छिट्टै देखाइहाल्नु है जिल्ला अस्पतालमै भएपनि। के काम गर्ने ठाँउको बीमा थिएन ?’ प्रश्नैप्रश्नले घेरिए म। बीमा भन्ने कुरा सुन्न चाहिँ सुनेको हो। ताली बजाउन जाने दिन लाखौँको बीमा हुन्छ भन्ने सुनेको हो। छ महिना त यत्तिकै घरमा बित्यो। फेरि चामलको चिन्ता सुरु भयो । भारत फेरि फर्किन मन थिएन, तर मनले के हुन्छ ? बिहे गरेर मात्रै जाने सल्लाह भयो। मित बुबाले हेरेकी कन्या मिलिन्। म त सहर मोटर देखेको मान्छे के कम हुन्थे र, एकदमै राम्री शान्त र सुशिल दुलही विवाह भयो। म बुलाकी भनेर बोलाउँथे। लजालु बुलाकी, तीन÷चार महिना त घरमा बोल्दै बोलेनौँ एक–अर्कासँग । घरमा मेरो छ महिना अरु बित्यो। वैवाहिक जीवन पछि मैले घर गृहस्थी अझै नजिकबाट बुझे। अब बहिनीको लगन जुराउने बेला भयो । त्यही खर्च जुटाउन पनि घर छोड्नै पर्ने । घरबाट नजिकै झुलाघाटमा कागज फ्याक्ट्रीमा काम मिल्यो। ५ हजार तलब। १४ घन्टा काम । राम्रै लाग्यो । तर बुलाकीले पनि जिद्दी गर्न थाली सँगै जाने भनेर । आमाबुबाले पनि माने । ठेकेदारलाई कुरा गरेर चार सयको कोठा भाडामा लिएर फ्याक्ट्री बाहिर बस्न थाले । मालिकका छोरा कम्पनिका म्यानेजर थिए । ठूलो कम्पनि । ठूलै हाकिम । बुलाकी मेरो लागि खाना बोकेर आँउथी। म्यानेजरले म र बुलाकी खाना खाएको हेर्थे । विस्तारै मेरो तलब पनि बढ्यो। मसँग व्यवहार पनि राम्रो हुन थाल्यो । भाग्यमानी तिमी त यति राम्री श्रीमती पाएछौँ भन्थे म्यानेजर। म मख्ख पर्थे। चिल्लो गाडीमा टल्किने जुत्ता र टिलिक्क खल्तिमा सिसा–कलम मलाई कति मन पर्थ्यो । एक अक्षर भएनि त्यो कलमले लेख्न पाए हुन्थ्यो, झन मन पर्थ्यो उनले बुलाकी र मेरो तारिफ गरेको । सधैँजसो बुलाकी खाना ल्याउन आउँदा पुगिहाल्थे म्यानेजर साप।
एक दिन बुलाकी र मसँगै फर्किने भनेर साँझ कोठातिर जाँदैथ्यौँ । म्यानेजर साबले गाडीमा पुर्याईदिन्छु भन्नुभयो । पत्यारै लागेन । ताली बजाउने दिन एक नेताले श्रमिक र मालिक एकै गाडी चढ्ने छन् भनेको सम्झे । कुनै नेता साँचो बोलेछन् जस्तो लाग्यो। हामी गाडीमा डेरा सम्मै पुग्यौँ । म बल्ल सही ठाँउमा पुगेजस्तो लाग्थ्यो। मे दिवस अथवा ताली बजाउने दिन आउँदै थियो ।
बुलाकीले तीन दिन अघि मात्रै म बुबा बन्न लागेको कुरा बताएकी थिइन् । खुशी थियो मन् । सम्पति भनेकै सन्तती हुन भन्ने सुनेको मैले त्यसको महशुस पनि गरे । भोलि त बिहानै रातो भेस्ट ट्राउजर लगाएर भाषण सुन्ने ताली बजाउने दिन । म्यानेजर साबले हामीलाई गाडीमै लैजानु र ल्याउनु भनेका थिए। हामी ७० जना तीन वटा गाडीमा चढ्यौँ । खुलामञ्मा उद्घाटनको ताली बज्यो। घरबाट बुलाकीले फोनमा भनिन्, आज छुट्टीको दिन भनेको हैन ? मलाई अनौठो घवराहट भयो कहिले नभएजस्तो ।
आउनु छिटो डेरामा। उसको स्वरमा आग्रह र डर थियो । जान मिल्थेन कार्यक्रम नसकुन्जेल। गेटबाट जान मिल्थेन, म पर्खाल नाघेर भागे । म डेरामा पुग्दा डेरालाई पुलिसले घेरेको थियो ।
डेराको ढोकाबाट मैले देखे बुलाकी पंखामा झुन्डिरहेकी थिई । मौन थिइ । खुट्टा सुस्तरी हल्लिरहेका थिए। म बेहोसीमा पंखातिर हेरेँ । बुलाकीको कुर्ता सुरुवाल च्यातिएको छ । हातमा टोकिएका डाम। मैले होस् गुमाएछु। ताली बजाएछु। सिठ्ठी फुकेछु। मैले के–के गरेछु थाहा छैन ।कट्यांग्रिए । केही सोच्न सकिन । भुइँमा थचारिए, खाटमुनी म्यानेजरसाबको टल्किने कलमको बिर्को देखे। मैले केही प्रतिकृया जनाउन सकिनँ। सिठ्ठी फुकेँ। ताली बजाए । म बौलाए । मेसिनले हात पोलेको दिन मलाई काखमा राख्दै भात खुवाउँदै छोरा जन्मे सुवर्ण र छोरी जन्मे सरस्वति राखौँला भनेको सम्झे। साना तर मिठा सपना सम्झेँ । प्रेम सम्झे, प्रेमालाप सम्झे । के सम्झिन होला मैले झल्याक–झुलुक बुलाकी सम्झे ।
‘साला! बिबिको मारदिया और अब नौटंकी कर्ता है’– बुटले मेरो टाउको बजा¥यो। पुलिसको बुट। म बेस्कन ताली बजाँउदै सिठ्ठी सेलिरहेको रहेछु । मैले म्यानेजरलाई त सम्झेकै थिएन । त्यो पुलिस देखेँ अनि याद आयो । त्यो पुलिस अफिसर र म्यानेजरलाई एक दिन फ्याक्ट्रीको अफिसमा सँगै रक्सी खाएको देखेको थिएँ ।
अनि म म्यानेजरलाई नि सम्झिन थालेँ । म पुलिसको गाडीमा हिरासतमा छँदै बुलाकी कालीको किनारमा जलिसकि छिन् । मेरो नासो सुवर्ण र सरस्वतिको सपना पनि जलिसकेछ। बुलाकीसँगै हाम्रो सपना र सन्तान पनि जलेछ ।
पाँच दिनपछि हिरासतमा पुलिसले सोध्यो, ‘कसैमाथी शंका छ?’ म नङ टोकिरहेको थिए। जीउभरी पिसाबको गन्ध । पुलिसको बुट ढाडमा प¥यो। मलाई अब खाटमुनीको कलमको बिर्को बाहेक केही याद थिएन । मैले ‘म्यनेजरमा शंका छ’ भने। अर्को बुट टाउकोमा प¥यो तर त्यो पुलिसको थिएन, म्यानेजरको थियो। म्यानेजर पनि त्यही थिए भन्ने त्यसपछि थाहा पाएँ । ‘इस भोसडीवालेको बोर्डर पार फेंक दो’ भन्ने अन्तिम वाक्य सुनेपछि म नेपालमै थिएँ। होस आयो, चेत आएन। बाचुन्जेल वर्षौसम्म कलमका बिर्को बटुल्ने गर्थे । चौर देख्योकी ताली बजाउन जाने र सिठ्ठी सेल्ने गर्थे ।
अझै सम्झिन्छु त्यो अन्तिम चौर, अन्तिम ताली। बुलाकीको अन्तिम दिन। उसको डर अस्वभाविक लागेकै थियो । कहिल्यै नडराउने, कहिल्यै फोन नगर्ने बुलाकीको अन्तिम बोली । थाहा थियो उसलाई तर कहाँ थाहा थियो त्यो चौरको तालीको भोको मालिकलाई ।
एक नशा छ, एक भोक छ । तालीको भोक । जिवनको त्यो अन्तिम दिन दिउसोभरी चौर भएजति ठाँउहरुमा गएर ताली बजाएर आएको थिए । सबैका भाषण सुनेको थिए तर यसपाली समोसा पानी कसैले दिएन ।
दिउँसोको थकाईले निराश भएर सडक छेउको होलमा भाँडा माझे। साहुले दिएको जुठो भात खाए। सुत्न गएँ पुलमुनी खोला किनारको सडकमा । सिमेन्ट बोक्ने नाइट ट्रक पल्टियो, पुलको बीम भत्कियो र मेरो टाउकोमा बज्रियो। शरीरबाट मेरो चेत सधैँलाई बिदा भयो ।
मैले मेरो कहानी यहाँ यो लोकमा मजस्तै मजदूरहरुलाई सुनाएँ । ओहो ! आज पनि मजदूर दिवस रहेछ । आजकै दिन कति मजदूरले नेपालकै धर्तीमा ज्यान गुमाएँ । हामीले सुची बनायौँ । मजदूर दिवसको दिउँसोको भव्य कार्यक्रम, ताली र सिठ्ठीको समय सकिएर साँझको मजदूर दिवसको रात्रिभोज चल्दै थियो सहरमा हामीले आजै मरेका मजदूरको सुची बनाउँदा । लौ, ८०० मजदूर मरेछन् आजको मजदूर दिवसमा । २५० को त भोलि दाहसंस्कार होला । कसैले सोध्यो, अनि बाँकी नि ? अरु त बेवारिसे लास हजुर !
.gif)