नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण राष्ट्र हो । हिमाल, पहाड तथा तराईं क्षेत्रमा रहेका थुप्रै प्राकृतिक सम्पदाहरु हाम्रा गौरव मात्रै होइनन् बरु देश र सम्पूर्ण देशबासीको जीवनका आधार पनि हुन् । नेपालमा रहेका हिमाल, पहाड र तराईले बोकेका प्राकृतिक सम्पदाहरु हाम्रो राष्ट्रका गहना मात्रै नभएर देशको समृद्धिका आधार पनि हुन् । यस्ता विभिन्न प्राकृतिक सम्पदाहरुमध्ये नेपालमा रहेका जडिबुटीहरु पनि एक हुन् । नेपालको हिमाली क्षेत्रलाई औषधीको भण्डारका रुपमा मानिन्छ ।
विभिन्न पुराणहरुमा पनि देवीदेवताहरुले हिमालबाट जडिबुटी लगेर प्राण बचाउँदै आएका कथाहरु प्रसस्त रुपमा भेटिन्छन् । प्रकृतिले हरेक रोगको औषधी हाम्रै हिमालमा राखिदिएको छ । हिमालमा मात्रै नभएर पहाड तथा तराईक्षेत्रमा पनि थुप्रै जडिबुटीहरु पाइने गर्दछन् । आयुर्वेदमा वर्णित सम्पूर्ण औषधीहरु नेपालमै पाइने गरेका छन् । विगतका दिनहरुमा तिनै औषधीको प्रयोगले हाम्रा पूर्खाहरु स्वस्थ एवम् तन्दुरुस्त रहँदै आएका इतिहासहरु रहेका छन् ।
शरीरको लागि लाभदायी एवम् पोषणयुक्त जडिबुटीहरु हाम्रा हिमाल तथा पहाडहरुमा रहेका पाइन्छन् । रोग लाग्नुभन्दा पनि रोग नै लाग्न नदिने थुप्रै लाभदायी जडिबुटीहरु हुँदाहुँदै पनि हामी वर्तमान अवस्थामा आइपुग्दा स्वास्थ्य क्षेत्रमा धेरै पछाडि रहेका छौँ । वर्तमान देशी चिकित्सा पद्दति हावी हुँदा हाम्रो परम्परागत लोक चिकित्सा पद्दति बिस्तारै लोप हुने क्रममा छ । हिजोका दिनमा हरेक रोगको उपचार यिनै परम्परागत पद्दति र जडिबुटबिाट गाउँघरमै हुने गर्दथ्यो। बढी लाभदायी र कम खर्चिलो यो पद्दतिलाई नजिकको तीर्थ हेला भनेझैँ हामी पाश्चात्य आधुनिक पद्दतिको पछि दगुर्दा एकातिर आर्थिक रुपमा कमजोर हुँदै गयौ भने अर्कोतिर रसायनिक औषधीको साइड इफेक्टका कारण हामी एउटा रोग निको पार्न अर्को रोग निम्त्याइरहेका छौँ ।
परम्परागत चिकित्सा पद्दतिको महत्व बुझ्न नसक्दा हामी आफ्नो शरीर र आयूलाई समेत आफ्नै हातबाट अर्काको हातमा सुम्पिरहेका छौँ । विगतका कथा र इतिहासलाई हेर्दा यिनै औषधीहरुको प्रभावले हाम्रा पूर्खा हजारौँ वर्ष बाँचे तर हाम्रो पुस्तामा हाम्रो औषत आयू केवल ६० वर्ष भनेर प्रमाणित हुन पुगेको छ । हाम्रो आयूलाई घटाउने एक मात्र कारण आयातित सँस्कृति, सँस्कार र विभिन्न क्षेत्रका पद्दतिहरु नै हुन् । हामीले हाम्रो योग ध्यान जस्ता व्वयाम छोडेर शरीरलाई नोक्सान पुगाउने जिमतिर ढल्कियौँ, हाम्रो शुद्ध र शाखाहारी सन्तुलित भोजन छोडेर मांशाहार र पिज्जा बर्गरतिर लोभियौँ, हाम्रा परम्परागत आयुर्वेदिक औषधीहरुलाई छोडेर रसायनिक औषधी सेवन गर्नतर्फ लाग्यो जसको फलस्वरुप हाम्रो आफ्नै मौलिक चिकित्सा पद्दति त नष्ट भयो नै बरु प्रकृतिले उपहार स्वरुप दिएका जडिबुटीहरु पनि बिनाप्रयोग त्यतिकै कुहिएर नष्ट हुँदै गए, तिनीहरुको पहिचान नै हराएर गयो र हाम्रो स्वास्थ्य पनि परनिर्भर भयो । कोरोना महामारी जस्ता भयानक रोगहरुले संसारमा फैलिदा बल्ल हामी हाम्रो लोक चिकित्सा र जडिबुटीहरुको खोजीमा लाग्यौ तर वर्तमान अवस्थामा यसबारेमा जान्ने वैद्यहरु पनि हामीसामु रहेनन् ।
केही बुढापाका र आयुर्वेदको जानकारहरुले भनेअनुसार हामी केही जडिबुटी खोज्नतिर लाग्यौँ र तिनै जडिबुटीहरुले हाम्रो प्राण बचायो ।
वर्तमान समयमा बाँकी रहेको ज्ञान र स्थानीय जडिबुटीहरु हामीले बचाउने सकेनौ भने भविष्यमा ठूलाठूला खतराहरुको सामना गर्नुपर्ने कुरामा दुईमत छैन । यसकारण नागरिकको स्वास्थ्यको जिम्मेवारी सरकारको भएकाले सरकारले हाम्रा स्थानीय जडिबुटहिरुको खोज अनुसन्धान एवम् तिनीहरुको प्रशोधन गरी आफ्ना देशका नागरिकहरुलाई स्वस्थ बनाउनु पहिलो आवश्यकता हो ।
नेपालका विभिन्न भुभागमा थुप्रै जडिबुटीहरु पाइने भएकाले तिनीहरुको पहिचान र स्वास्थ्यक्षेत्रमा तिनीहरुको उपयोग गर्नका लागि सरकारले ठाउँठाउँमा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गरी जतिसक्दो चाँडो यस कार्यका लागि अग्रसर हुनु आवश्यक छ । वर्तमान समयमा यस्ता थुप्रै जडिबुटीहरु सम्बन्धी ज्ञान हराउँदै गएको र अब पनि ढिलो गरे सम्पूर्ण ज्ञान नष्ट हुने खतरा पनि उत्तिकै देखिन्छ । राज्यले हाम्रो लोक समुदायमा ज्ञान र प्रकृतिमा भएका अमृततुल्य जडिबुटीहरुको उपयोगका लागि कदम चाल्नु पर्दछ ।
आफ्नो भूगोलभित्र भएका हरेक चिजवस्तुको उपभोग गर्ने पहिलो अधिकार त्यसै भूगोभित्रका मानिसहरुको हुन्छ । हामीलाई आवश्यक भएका चिजवस्तु बाहिर पठाउनु बुद्धिमानी होइन ।
यसकारण हाम्रो भूगोलभित्र प्रकृतिले दिएका अमूल्य जडिबुटहिरुको उपभोग पनि हामीले नै गर्न पाउनुपर्दछ । आजभोलि थुप्रै राजनीतिक नेताहरुले हाम्रो देशका जडिबुटी बाहिर लगेर बेच्ने र त्यसबाट आयआर्जन गरी देशको समृद्धि गर्ने बुद्धिहिन एजेण्डाहरु प्रस्तुत गरिरहनु भएको छ । आफ्नै शरीरको किड्नी बेचेर धनी हुनु कुनै बुद्धिमानी होइन ।
शरीरको लागि लाभदायी प्रकृतिक औषधीहरु सस्तो मूल्यमा विदेशमा बेचेर महङ्गा रसायनिक औषधीले स्वास्थ्य बिगार्नु बुद्धिमानी नभएको हुनाले हामीले हाम्रा देशमा भएका जडिबुटी हाम्रै देशका नागरिकका लागि उपयोग गरी स्वस्थ रहने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो ।
.gif)