शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमको मौलिक पहिचान छलिया नृत्य


शनिबार, जेठ ७ २०७९
  • 1.8K
    Shares

  • images
    images
    सुदूरपश्चिमको मौलिक पहिचान छलिया नृत्य

    कलाका विविध रुप मध्ये नृत्य पनि एक हो । लय र तालका आधारमा हात खुट्टा लगायत शरीका विभिन्न अंगहरु चलाउने क्रियालाई नित्य भनिन्छ । आचार्य भरतमुनी नृत्तं ताल लयाश्रयम् भनेर नृत्यलाई परिभाषित गरेको पाइन्छ । पदार्थाभिनये नृत्यम् भन्दै उनले कुनै एक शव्दको अर्थलाई विभिन्न मुद्रासहित अभिनय गरी त्यसको भव प्रशर्दन गर्ने कार्यलाई नित्यका रुपमा लिएको पाइन्छ । नृत्य विशेष गरी ताण्डव र लास्य गरी दुई प्रकारका हुने गर्दछन् । विशेष गरी वीर भाव प्रदर्शन गर्ने पुरुष नृत्यलाई ताण्डव र श्रृङ्गार भाव प्रदर्शन हुने स्त्री नृत्यलाई लास्यका रुपमा लिने गरेको पाइन्छ । तर वर्तमान सन्दर्भमा यी दुबै नृत्यहरु नारी पुरुष दुबैले गर्न थालेपछि लिङ्गका रुपमा नृत्यलाई छुट्याउन मिल्दैन । नृत्यलाई शास्त्रीय र लोक नृत्य गरेर पनि वर्गीकरण गरिन्छ । नृत्यका परम्परागत सिद्धान्तहरुका अनुसार विभिन्न मुद्रहरुको प्रदर्शन गरिने नृत्य शास्त्रीय नृत्य हो भने लोक परम्परामा चल्दै आएको र लोकलयका आधारमा शरीरका अङ्गहरु चलायमान गरी शव्दको भावअनुसारको अभिनय गरिने नृत्य लोक नृत्य हो । नृत्यको परम्परा हेर्ने हो भने धेरै पहिलेदेखि चल्दै आएको पाइन्छ । विभिन्न पौराणिक ग्रन्थहरुमा पनि नटनायिका तथा नर्तकीहरुको वर्णन गर्दै आएको पाइन्छ । श्वर्गका राजा इन्द्रको दरवारमा अप्सराहरुले नृत्य गर्ने गरेका कथाहरु पनि पुराणमा प्रसस्तै  पढ्न पाइन्छन् । भगवान शिवलाई त नटराजकै रुपमा लिने गरिन्छ । त्यसै गरी भगवान कृष्णलाई पनि नृत्यका कुशल कलाकारको रुपमा  लिने गरिन्छ । पहिले पहिले नृत्य विशेष गरी खुसीको अवसरमा र खुसी पार्नका लागि गरिने गर्दथ्यो । एउटा राजामहाजारा तथा अन्य विशेष व्यक्तिहरुलाई खुसी पार्न नृत्य गन्थ्यिो भने अको विशेष खुसीका अवसरमा प्रस्तुत गर्ने गरिन्थ्यो । श्रृङ्गार भावको पर्दर्शन तथा आकर्षणका लागि पनि नृत्य गरिन्थ्यो तर वर्तमान समयमा नृत्यलाई व्यवशायिक रुपमा पनि गर्न थालिएको छ । जेहोस् नृत्य आन्दका लागि प्रसतुत गरिने एक महत्वपूर्ण कला हो ।  
    हरेक समुदायमा विभिन्न किसिमका कला र सँस्कृतिहरु रहेका हुन्छन् । यस्ता सँस्कृति र कलाहरुमा सुदूरपश्चिम पनि अग्र स्थानमा आउने गर्दछ । तिनै कलाहरुमध्ये नृत्यकलामा पनि सुदूरपश्चिमको विशेष पहिचान र मौलिकता रहेको पाइन्छ । सुदूरपश्चिममा नृत्य गर्नुलाई छलो खेल्नु पनि भन्ने गरेको पाइन्छ । नेपालीमा नृत्य अथवा नाँचको समानार्थी रुपमा प्रयोग हुने छलो शव्दबाट छलिया बनेको हो । नृत्य गर्ने तथा छलो खेल्ने व्यक्तिलाई छलिया भनिन्छ । छलिया नृत्य सुदूरपश्चिमको मौलिक नृत्य हो । विशेष गरी खुसीका अवसरमा गरिने छलिया नृत्यको आफ्नो छुट्टै महत्व र मौलिकता रहेको पाइन्छ । छलिया नृत्य विशेष गरी विभिन्न मांगलिक अवसर विवाह, व्रतबन्ध, जात्रा लगायतमा प्रस्तुत हुने गर्दछ । छलिया नृत्यमा स्थानीय स्तरमै बनेका लोक बाँजागाँजाहरुका साथमा गरिन्छ । छलिया नृत्यमा प्रयोग हुने बाँजाहरुमा दमाहा, झ्याली, विगुल, मसक, हुड्को लगायतका बाँजागाँजाहरुको प्रयोग गरिन्छ । सुदूरपश्चिममा बजाइने दमाहाहरु दाइन र बउँ गरी दुई किसिमका हुने गर्दछन् । दाइन अलि ठूलो र मोटो आवाज दिने गर्दछ भने बउँ पातलो आवाज दिने हुन्छ । छलिया नृत्यमा एउटा दाइनसँग चारपाँच वा बढी बउँ दमाहा बजाइने गरिन्छ । दमाहा बजाउनका लागि काठका लट्ठीहरुको प्रयाग गरिन्छ, जसलाई लाकाडा भन्ने गरिन्छ । छलिया नाँच्दा बजाइने बाँजोलाई छलिया बाँजो भनिन्छ । बिचबिचमा धिरो लगायतका बाँजो पनि बज्ने गर्दछ । त्यसै गरी दमाहासँगै झ्याली, मसक र हुड्को पनि बजाइन्छ । बिचबिचमा बिगुल पनि बजाउने गरिन्छ । छलिया नाँचमा नाँच्ने व्यक्तिहरुको विशेष नृत्य पहिरन हुने गर्दछ । परम्परागत रुपमा त्यसलाई झकुलो, फ्रक आदि नामले चिन्ने गरिन्थ्यो यो विशेष गरी रातो पहेलो सेतो रङ्गी कपडाको प्रयोग गरेर बनाइएको हुन्छ । टाउँकोमा विशेष किसिमले मखमलको पगडि लगाइन्छ । छलियाहरुको कम्बरमा विशेष किसिमको कपडाको पेटी पनि हुने गर्दछ । एक हातमा ढाल र एक हातमा तलवार लिइ छलिया नृत्यको प्रदर्शन हुने गर्दछ ।  छलिया नाँचमा एक जनाले सुरुमा लोक डेउडाको छेउटो प्रस्तुत गर्दछन् । यसमा सुरुमा देवीदेवताको मंगलाचरण, प्राथना लगायत आर्षिवादबाट गीतको सुरुवात गरिन्छ । त्यसपछिका गीतहरुमा आन्दित तुल्याउने हाँसोठट्टा लगायतका र श्रृङ्गारिक भावका छेउटा प्रस्तुत गरिन्छन् । छेउटो पछि कुनै एक नाँचन योग्य लोकलयको गीत गाउँदै छलियाबाँजो बजाइन्छ र  धेरै बेरसम्म त्यही बाँजोमा छलियाहरु नाँचदछन् । बाजा रोकिएपछि पुःन अर्को छेउटो प्रस्तुत गरिन्छ । छलियानाँचमा विभिन्न किसिमका जादुगरी र कलाको पनि प्रदर्शन गरिन्छ । उल्टो पल्टेर मुख वा आँखाले पैसा टिप्ने कलालाई छलिया नृत्यमा प्रमुखताका साथ स्थान दिइन्छ । त्यसै गरी दाइन दमाहा बजाउने कला, एउटा छलियाले अर्कोको काँधमा चढेर दाइन बजाउने कला पनि छलिया नृत्यको विशेषता हो । त्यसै गरी बाँजाकै तालमा ढाल तलवारको बाँजी पनि अत्यन्तै महत्वपूर्ण हुने गर्दछ । वीर विरङ्गनाहरुले युद्धमा लडेको प्रहसन देखाउँदै तलवारको प्रहार र ढालले रोक्ने कलाको प्रदर्शन छलिया नृत्यमा हुने गर्दछ । छलिया नृत्यमा लगाइने पोषाक र ढालतलवारले विगतका सिपाहीहरुको झल्को दिने गर्दछ । यस क्षेत्रका सिपाही तथा वीर पुरुषहरुको लोक पहिरन लगाएर गरिने छलिया नृत्यले आनन्द मात्रै नदिएर विगतको झल्को पनि दिने गर्दछ । छलिया नृत्यमा दलित समुदायको महत्वपूर्ण भूमिका हुने गर्दछ । यो नृत्य सुदूरपश्चिमका दलित समुदायको मौलिक कला हो । यो कला हरेक समुदायका लागि प्रयोगमा आए पनि यसको सिर्जना, संरक्षण प्रदर्शनमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको छ । सुदूरपश्चिममा बढीजसो कला सँस्कृतिको जगेर्ना दलित समुदायले गरेको पाइन्छ । वर्तमान विश्वव्यापीकरण र पश्चिमा सँस्कृतिको प्रभावले हाम्रा यस्ता लोक कलाहरु लोप हुँदै गइरहेका छन् । यिनीहरुलाई पशो व्यवशायसँग जोडेर कलाको सम्मान गरी यसको संरक्षण र प्रचारप्रसार गर्नु आजको आवश्यकता हो । राज्य तथा स्थानीय सरकारले यस्ता कलाहरुको संरक्षण र कलाकर्मीहरुको भविष्यका लागि ख्याल पुगाउन सके हाम्रो परम्परागत लोक कला र हाम्रो पहिचान संरक्षणमा टेवा पुग्न सक्छ । यस क्षेत्रका कलाकर्मीहरुलाई आर्थिक रुपमा प्रोत्साहन गर्नु स्थानीय तथा प्रदेश सरकारको पनि विशेष जिम्मेवारी हुने गर्दछ । हामी सबैले पश्चिमा संस्कृतिको सिको नगरी हाम्रा संस्कृतिक तथा मांगलिक अवसरहरुमा यिनीहरुको प्रयोग गर्नु र यसमा लागेका कलाकारहरुको कलाको सम्मान गर्नु हामी सबैको दायित्य हो । यति मात्रै नभएर हाम्रो लोक कलालाई विश्वसामु प्रचारप्रसारका लागि पनि कदम चाल्नु हामी सबैको कर्तव्य हो । 




    प्रतिक्रिया दिनुहोस