महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका पवन सिंहलाई व्यवसायी एवं व्यापारी मात्रै भने त्यो अपूरो हुन्छ । दाहसंस्कारका लागि प्रायः सबैतिर दाउराको समस्या हुन्छ । सिंहले सो सामाजिक उत्तरदायित्वको भावना बोध गरेर मलामीलाई निःशुल्क रुपमा दाउरा वितरण गर्दै आउनुभएको छ ।
कञ्चनपुरमा मात्र होइन् उहाँले भूकम्पका बेला दाहसंस्कारका लागि दाउरा काठमाडाँै समेत पठाए । यस्तै कोरोना कहरमा मृत्यु भएकाको शव व्यवस्थापनका लागि समेत सिंहले निःशुल्क दाउरा उपलब्ध गराए । कञ्चनपुरमा शव व्यवस्थापनका लागि दाउरा माग्न आउने जोकोहीलाई पनि सिंहले खाली हात फर्काएनन् । शव व्यवस्थापन गर्न समस्या भएका सबैलाई काष्ठ व्यवसायी सिंहले दाउरा उपलब्ध गराउँदै आएका छन ।
सुडामा रितुल सःमिल सञ्चालन गर्दैआउनु भएका सिंहले डेढ दशकदेखि मलामीलाई निःशुल्क दाउरा वितरण गर्दै आएको बताए । “भूकम्पका बेला रु ६० हजार ट्रकको भाडा तिरेर शव व्यवस्थापन गर्न काठमाडौँ दाउरा पठाएको थिएँ”, उनले भने, “कोभिड–१९ मा कञ्चनपुरमा एकै दिन दश जनाले ज्यान गुमाउँदा पनि मैले सबैलाई आवश्यक पर्ने गरी दाउरा दिएँ ।” विशुद्ध सामाजिक भावनाका साथ सो दाउरा उपलब्ध गराउने गरेको सिंह बताउछन । “मलामी आए दाउराका लागि मेरोमा कुनै रोकटोक छैन”, उनले भने ।
राज्यले शव जलाउन दाउराको व्यवस्थापन गर्न नसकिरहेका बेला एक व्यवसायीले गरेको समाजसेवाको कदर गरिनुपर्ने महेन्द्रनगरका स्थानीयवासी भोजराज बोहराको भनाई छ । “महाकाली घाटमा आउने मलामीलाई दाउरा उपलब्ध गराएर सिंहले समाजलाई ठूलो गुन लगाएका छन”, उनले भने, “निःस्वार्थ भावले लाखौं रुपैयाँको दाउरा प्रदान गर्नु पुण्य काम पनि हो ।” महेन्द्रनगर बजार र त्यस आसपासका क्षेत्रमा सामुदायिक वन नहुँदा शव व्यवस्थापन गर्न दाउरा किन्नुहुन्छ ।
.gif)