दार्चुला । नेपाल–भारतका सुरक्षा अधिकारीबीच भारत पिथौरागढको जोलजीविमा समन्वयात्मक बैठक बसेको छ । बिहीबार बसेको बैठकमा सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारी बीच छलफल भएको छ ।
नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने,तेस्रो मुलुकका नागरिक भित्रिए÷नभित्रिएको जानकारीका लागि दुवै देशका सुरक्षा निकायले सीमामा परिचयपत्र निगरानीमा कडाइ गर्नुपर्ने प्रस्ताव बैठकमा गरिएको छ । त्यसैगरी नेपाल–भारतसँग जोडिएका सबै झोलुंगे पुलबाट आवतजावत गर्ने नागरिकलाई कोरोना जाँच तथा कोरोना लागे÷नलागेको सुनिश्चित गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।
सीमामा हुने चोरी, तस्करी, लागुऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार, शंकास्पद सूचना आदानप्रदान गर्नेबारे दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ ।
सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति नरेन्द्र बम, प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्ट, सीमा चौकी तथा सशस्त्र प्रहरीका विभिन्न बोर्डर आउट पोस्टका प्रमुखको सहभागिता थियो । भारतका तर्फबाट ५५ बटालियन पिथौरागढका कमान्डेन्ट एसके शर्मा, जोलजीवि थानाका इन्स्पेक्टर प्रदीप कुँवरलगायत सुरक्षाकर्मीको उपस्थिति थियो ।
.gif)