बैतडी जिल्लामा घर निर्माण गर्दा स्थानीय ठाउँमै रहेका ढुङ्गा, माटो र काठको प्रयोग गरिदै आएको पाइन्छ । परम्परागत घरहरुको छत (पाखो) का लागि पत्थरखानहरुबाट पात्थर निकाल्ने गरिन्थ्यो । डोट्याली भाषामा पात्थर भन्नले बलियो तथा फराकिलो ढुङ्गाको पत्रलाई बुझिन्छ । पात्थरका लागि विशेष किसिमको कडा तथा बलियो ढुङ्गाको प्रयोग रिन्छ । पात्थर जुनसुनै ढुङ्गाको बन्दैन । यसका लागि विशेष किसिमको ढुङ्गाको आवश्यकता पर्दछ । यस्ता ढुङ्गाहरु विशेष खानीमा मात्र पाइन्छन् । गाढा निलो रङको ढुङ्गाको पहाडबाट माथिका धेरै चट्टटान तोडेपछि यस्तो किसिमको ढुङ्गा निस्कने गर्दछ । यस्ता ढुङ्गाहरु फराकिलो र पत्रपत्र परेको हुन्छ। पात्थर बनाउने विशेष सीप भएका मानिसले मात्रै खानबाट ढुङ्गा पात्थर निकाल्ने गर्दछन् । यसरी निकालिएका पात्थरहरुलाई आवश्यकता अनुसारको साइजका काटेर चारपाटे बनाइन्छ । तिनै पात्थरहरुबाट घरको छत हाल्ने काम गरिन्छ । वर्तमान समयमा सिमेन्ट र बालुवाको प्रचलन चलेपछि पात्थरहरुको प्रयोग कम हुन थाले पनि अधिकांश घरहरु अझै पनि पात्थरकै छतले बनेका पाइन्छन् । यस्तै विगत लामो समयदेखि पात्थर निकालिदै बैतडी जिल्लाका अधिकांश घरका छत बनाउने श्रेय देहिमाण्डौँ स्थित पत्थरखानीलाई जाने गर्दछ ।
बैतडीको देहिमाण्डौँ स्थित पत्थरखान पहाडको एउटा पुरै डाँडामा फैलिएको छ। यस खानीका पत्थरबाट दसरथचन्द नगरपालिका लगायत आसपासका अन्य नगरपालिकामा रहेका घरहरु बनेका छन् । बैतडी जिललाका पत्थरखानीहरु मध्ये सबैभन्दा फराकिलो र बलियो पात्थर निस्कने खानका रुपमा यस पत्थरखानीलाई चिन्ने गरिन्छ। यस खानीमा घर निर्माणका लागि दुई मिटर लम्बाइ र एक मिटर चौडाइ जतिका पात्थरहरु निस्किने गर्दछन् । पात्थरको आकार कत्रो राख्ने भन्ने कुरा घरमालिकको माग अनुसार पनि हुने गर्दछ । टाढाटाढा बोक्न असजिलो हुने भएकाले बढीजसो एक मिटर लम्बाइ जतिका पात्थरहरु बढी प्रयोगमा आउने गर्दछन् । विशेष गरी यस क्षेत्रमा निर्माण हुने परम्परागत घरको पाखो निर्माणका लागि यी पत्थरहरुको प्रयोग हुँदै आएको पाइन्छ । यसैबाट पहिलेपहिले विद्यालय, मन्दिर, धर्मसाला तथा न्वाला आदिका छतहरु पनि बन्दै आएको पाइन्छ । वर्तमान समयमा एक पात्थरको लगभग एक हजार रुपैयाँ जति पर्ने गर्दछ । यसरी यस क्षेत्रका घर तथा भवनहरुको छत बनेर ओत मात्र होइन स्थानीय बासीलाई रोजगार समेत दिइरहेको यो खानी केवल मानिसका लागि मात्र नभएर देवीदेवताहरुका मन्दिर निर्माण तथा गौरवगाथाहरुमा पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।
बैतडी जिल्लामा घर छाउन बाहेका मन्दिरहरुमा कालोपाटका रुपमा चढाउन पनि पात्थरको प्रयोग गरिन्छ । कालोपाट अत्यन्तै फराकिलो र बलियो हुने गर्दछ । यस्तो कालोपाट विशेष गरी देवीदेवताको विणे (आसन) का लागि चढाइने गरिन्छ । देवीदेवताका मन्दिरहरुमा चढाइएका कालापाटहरुमा मन्दिरको पूजाका अवसरमा धामीले काम्दा बस्ने गर्दछन् । कालो पाटलाई देवताको आसन सम्झेर सामानय अवस्थामा कुनै पनि मानिसले खुट्टा टेक्न पाइदैन । अन्य अवस्थामा मन्दिरको कालोपाटमा पूजाआजा गरिन्छ भने केवल पूजाको दिन धामीले कामेको बेला मात्र उक्त पाटमा गएर काम्ने र देवताले छोड्ने बित्तिकै त्यस पाटबाट बाहिर आउने गर्दछन् । कालोपाटमा जुन देवताको मन्दिर हो त्यसै देवताका मुख्य धामीले मात्रै देवता आउँदा पनि चढ्ने गर्दछन् अन्य अवस्थामा उक्त पाट चढ्दैनन् । कुनै पनि देवताको विणका धामी अलग्गै हुने गर्दछन् । एउटै देवताका पनि धेरै धामी हुने भए पनि विणका धामी एउटै हुने गर्दछन् । त्यसै गरी गौराको खालोमा पनि गौराको मूर्तीलाई राख्न पनि कालोपाटको प्रयोग गरिएको पाइन्छ । गौराको खालोबिचमा कालो पाट राखिएको हुन्छ । त्यसै गरी सुदूरपश्चिम क्षेत्रमा विभिन्न देवीदेवताका मन्दिरहरुमा चौखाम राख्ने प्रचलन चौखाम भन्नाले देवताको मन्दिरको आँगनमा साल तथा अन्य वृक्षहरका चार खम्बा गाडेर यज्ञशालाका जस्तो बनाइएको हुन्छ र त्यस बिचको भागलाई चारपाटे आकारमा चिनेर त्यसको माथि कालेपाट राख्ने गरिन्छ । कुनैकुनै ठाउँमा त देवदिेवताको प्रतीकका रुपमा त्यसै पाटलाई पुज्ने चलन पनि रहेको छ ।
बैतडीको देहिमाण्डौमा रहेको पत्थरखानीलाई केवल खानका रुपमा मात्र नहेरिएर महत्वपूर्ण तीर्थस्थलका रुपमा पनि सम्मान गर्ने गरिन्छ । यस खानलाई निङ्लाशैनी भगवतीको मन्दिरमा चढाइने पत्थर भनेर सम्मान गर्ने गरिन्छ । यस खानमा पनि सामान्य रुपमा पूजा लगाउने गरिनछ । विशेष गरी खानमा काम गर्ने व्यक्तिहरुले निङ्लाशैनी देवकिो पूजा यसै खानबाट निस्केका पात्थरमा गर्दछन् भने काममा बाधा नहोस र राम्रो खान लागोस भनने मनोकामनाका लागि पनि यहाँ बह्मणहरु बोलाई पाठपूजा गराउने र नेजा धाजा आदि चढाउने गरिन्छ । निङ्लाशैनी भगवतीको मन्दिरमा यह िखानका पात्थरको छत रहेको छ भने मन्दिरभित्रको विणेमा पनि यही मन्दिरको पात्थर चढाइएको छ। परापूर्वकालमा देहीमाण्डौँबासी बोहराहरलाई यिनै देवीको मुखियाका रुपमा रजबारको पद समेत र कुनै न्या निसाफका लागि मुखियाले मन्दिरको बाहिरपट्टी रहेको कालोपाटमा बसेर न्या गर्ने अधिकार पनि प्राप्त गरेको पाइन्छ। निङ्लाशैनी मन्दिरमा स्वराड र बैतडी क्षेत्रबाट जाात आउँदा पनि यसै पाटमा बसेर धामी कामेर प्रसाद दिन्छन् भने रजबारलाई पनि यही पाटको सम्मान स्वरुप मुखिया र रजबारका रपमा टिका दिने प्रचलन रहेको छ। यस पाटमा यस क्षेत्रका मुख्य ज्योतिष बसेर नयाँ संवतको फल सुनाउने पनि गरिन्छ । प्राचनि किंवदन्ती अनुसार यस मन्दिरमा रहेको धेरै पुरानो कालोपाटको एक टुक्रा उछिट्टिएर थलालगाउँमा पुगेको हुनाले त्यस पाट पुगेको ठाउँमा पनि देवीको थानका रुपमा पूजा अर्चना गर्ने रगौरा पर्व मनाइने गरिन्छ । यसरी यो खान वास्तुकालका साथै धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ। बैतडीमा अन्य ठाउँमा पनि थुप्रै पत्थरखानहरु रहेका छन् । उक्त खानहरुसँग कुनै न कुनै देवीदेवताका पृष्ठभूमिका साथै धार्मिक, सांस्कृतिक महत्व पनि जोडिएको पाइन्छ ।
.gif)