हिन्दु परम्परामा आधारित षोडस सँस्कार मध्ये जन्म सँस्कार एक महत्वपूर्ण सँस्कार हो । मानव जीवनको सुरुवातमा गरिने यही सँस्कारले संसारमा उसलाई कुन नामबाट चिन्ने भन्ने कुरा पनि यसैबाट टुङ्गो लाग्ने भएकाले हिन्दु परम्परामा यो महत्वपूर्ण सँस्कारका रुपमा चिनिने गर्दछ । नामाकरण गरिने तथा विशेष गरेर नौ दिनको समयावधीसँग जोडिएकाले यसलाई नामाकरण तथा न्वारन पनि भन्ने गरिन्छ । डोट्याली समुदायमा प्रसुतिलाई व्यथा लागेको समयदेखि न्वारन नहुन्जेल सम्मको विभिन्न समयलाई विशेष महत्वका साथ हेरिने गरिन्छ । गर्भवतीलाई व्यथा लाग्दा घरपरिवार तथा छिमेकका अनुभवि स्त्रीहरुले हेरचाहा गर्ने र विभिन्न किसिमका सरसल्लाह दिने गर्दछन् । जन्म खुसीको अवसर भएकाले बच्चा जन्माउने आमालाई कष्ट भए पनि सबैको अनुहारका नव आगन्तुक बच्चाको स्वागतको खुसीयाली र पर्खाइको कौतुहलता हुनु स्वभाविक हो । व्यथा लागेको थाहा पाएपछि अनुभवी महिलाहरुले प्रसुति हुनका लागि उचित स्थानको व्यवस्था गर्दछन् । बालक जन्मिदा साहस दिने, सल्लाह दिने कार्य गरिन्छ । बालक पेटको माथि तिर सरेको अनुभव भएमा बालकलाई तलतिर ल्याउन अनुभवी महिलाले घुँडो लगाउने गर्दछन् । घुँडोको सहायताले बालकलाई प्रवेशद्वारतिर ल्याउने कामलाई घुँडो लगाउनु भनिन्छ । बच्चा जन्मेपछि उसको नाभी अर्थात नाल काट्न पहिले पहिले छुरीको प्रयोग गरिन्थ्यो । चिफ्लो काठमा माथिबाट छुरीले काटेर बच्चाको नाभीलाई घागोले बाध्ने गरिन्छ । बालक जन्मिएको समयका राख्ने कामलाई सङ्क टिप्नु भनिन्छ । यसका लागि पहिले पहिले पानीघडीको प्रयो गरिन्थ्यो । पानीघडी पातलो तामाको कचौरा जस्तो हुन्छ । उक्त घडीको बीचमा सानो प्वाल हुन्छ । एउटा ठूलो भाडामा पानी भरेर उक्त घडीलाई त्यसको माथि राखिन्छ । घडीमा भएको सानो प्वालबाट पानी छिरेर घडी भरिने र एक चोटी पुरा भरिदाको समयलाई एक घडी भनिन्छ । वर्तमान हातेघडीको एक घन्टाको समयमा उक्त घडीको अढाई घडी हुन्छ । यसै आधारमा कति घडी दिन वा रात रहदासम्म बालक जन्मेको भनेर त्यसको लग्न हेर्ने गरिन्छ । यस घडीबाट समय पत्ता लगाउने मानिस एकदम चनाखो र जानकार हुनुपर्छ । पानी भरिदासाथ खाली गरेर फेरी पानीमा घडी राख्नुपर्ने भएकाले यो एकदम कठीन कार्य पनि हो । बालक जन्मेपछि साल निस्कनका लागि प्रतीक्षा गरिन्छ । साल निस्कनका लागि ढिलो भएमा स्थानीय महिलाहरुले प्रसुतिलाई साहस दिइराख्न विभिन्न किसिमका ठट्यौलीहरु पनि प्रस्तुत गर्ने गरिन्छ जसले गर्दा प्रसुतिको ध्यान पीडामा कम जाओस् । उदाहरणका लागि देवर नाता पर्ने व्यक्तिलाई घरको छाना लगाउने र भाउजुलाई बोल्न लगाउने, भाउजु तपाई हुने की म हौँ भन्ने र भित्र बाट भाउजुले होइन गोसी म नै हुन्छु भन्ने गर्दछन् । झट्ट हेर्दा यो केटाकेटीको खेल जस्तो लागे पनि मनोवैज्ञानिक रुपमा बुझ्ने हो भने यसले प्रसुतिलाई पीडा भुलाउने कार्यमा मद्दत गरेको पाइन्छ । बच्चा जन्मिएपछि तुरुन्तै प्रसुति पेट सेकियोस भन्नका लागि तातो घिउ पिउन लगाइन्छ । बच्चालाई मनतातो पानीले नुहाएर सफा कपडामा सुताइन्छ । सलनाल आइसकेपछि प्रसुतिलाई तातो पानीले नुहाइन्छ । प्रसुतिले बाहिर भित्र जानका लागि हिड्ने बाटोमा पाइलापिच्छे पाट (टायल जस्तो ढुङ्गो) राखिन्छ । जसको कारण प्रसुतिको रगत बगेमा उक्त रगत अन्य ठाउँमा नपरोस यसले अन्य व्यक्तिहरुलाई रोग नसरोस् भन्ने कारण पनि मान्न सकिन्छ । बालक जन्मेको छौटौँ दिनमा ज्योतिषीकहाँ गएर लग्न सोध्ने तथा बच्चाको जन्मसमय अनुसार लग्न, ग्रह रासी आदि हेराउने काम गरिन्छ । तत्कालीन समयमा पहिलो जन्मदर्ताको रुपमा ज्योतिषीहरुकै घरमा बच्चाको विवरण राख्ने काम गरिन्थ्यो । सरकारी रुपमा अहिले जन्मदर्ता गराउनुपर्ने भएक पनि सुरुमा जन्मदर्ता ज्योतिषीकै घरमा अहिले पनि हुँदै आएको पाइन्छ । हेरिसकेपछि न्वारनका लागि पैट अपैट हेरी विशेष गरी केटाको ११ औँ दिन र कन्याको ९ औँ दिनमा न्वारन गर्ने प्रचलन रहेको छ । बच्चा जन्मिदा ११ दिनसम्म आफन्त तथा षपिण्डीभित्र नातक बार्ने चलन रहेको छ । नातकको समयमा मन्दिरमा गए पनि पानी नछुने नियम यस क्षेत्रमा रहेको छ । नातकको समयमा घरमा गरिने विशेष पूजा, बिहे, ब्रतबन्ध आदि पनि षपिण्डीभित्र कसैले नगर्ने चलन छ । बालक जन्मेको छैटौँ दिनदेखि छैटी खेल्ने गरिन्छ । छैटी ढोलक र मिजुराका साथ स्थानीय लोक लयमा समुहमा खेलिने गरिन्छ । छैटीमा विशेष गरी सबैले खेल्ने भए पनि विशेष प्रस्तुतिमा जनजातीहरुको भूमिका हुने गर्दछ । छैटीमा विशेष गरी कृष्ण जन्मका गाथा एवम् मौलिक छटी गाउने गरिन्छ । एघारौँ दिनमा न्वारन गरिन्छ । न्वारनको दिनमा गाउँघरका सबै बन्धुबान्धव, इष्टमित्र आदिलाई निमन्त्रणा गरी भोज खुवाउने चलन रहेको छ । त्यस दिन पण्डितले कर्मकाण्ड अनुरुप नामाकरण सँस्कार गर्ने, महिलाहरुले सगुन गाउने गर्दछन् । पण्डित घरमा पुग्ने बित्तिकै तामाको पवित्र कुणीमा पञ्चगव्य (गाईको दुध, दही, घिउँ, गोमुत्र, गोमय) मा जौँतिल हाली कुश र कुर्जोले पञ्चगव्य मन्त्र गरी घरमा छर्कने र नामाकरणका लागि वेदी बनाउने, पञ्चपूर्वाङ्ग गराइ कन्याको हातबाट प्रसुतिलाई पञ्चगव्य प्राशन गराउने र केराको डाँठमा पैसा र बत्ति जलाएर अड्याएर पैसामा चन्दन लगाई कन्याकै हातबाट बालक र प्रसुतिलाई टिका लगाउने र रक्षा बन्धन गर्ने गरिन्छ । बालकको बुबा कुनै कारणबस घरमा नभए उसको लागि तलवार अथवा खुकुरीमा रक्षा बन्धन गरिने र घर आएपछि उक्त रक्षा उसको हामा बाध्ने गरिन्छ । त्यसपछि थालीमा चामल, पैसा, फल र दीप राखी सर्वप्रथम पण्डितले बच्चालाई आरती देखाउदै नाम सुनाएर आर्षिवचन दिने गर्दछन् । त्यसपछि बुवा, तथा घरका सदस्यहरु तिनपाँच जनाले नाम सुनाउने गरिन्छ । नाम सुनाइसकेपछि बालकलाई नाङ्लो (सुप्पो) मा धान राखी त्यसको माथि कपडा बिछाएर सिरानतिर खुकुरी राखी त्यसमा बच्चालाई सुताइन्छ । उक्त बालकलाई सूर्य लर्शन र भूमि स्पर्शका लागि बाहिर ल्याइन्छ । बाहिर ल्याउँदा बच्चालाई बाबुको काखमा दिइने र आमाले सूर्यको परिक्रमा गर्दै अर्घ दिने गरिन्छ । त्यसपछि गाइको गोबरका कुण्डमा पञ्चगव्य राखी बालकको दायाँखुट्टाको बुढी औँलाले आमाको निधारमा र आमाको दायाँ खुट्को बुढी औँलाले बालकको निधारमा लाउने गरिन्छ । त्यसपछि बालकलाई नाङ्लोका सुताइ पाँचजनाले बालो बडाउने गर्दछन् । सबै जना मिलेर माथि टिप्दै स्थानीय भाषामा बालो बढाउँदाको आर्षिवचन दिने गर्दछन् । उक्त आर्षिवचन यसप्रकार रहेको छ :
बड बाला बड
बाग जति बलियो भएइ
स्याल जति चलाख भएइ
दुबाइ जनि चौडिएइ
गुबाइ जनि फुलेइ
ऐरकी जनी झालताल भएइ
हिमालजलो हिउँ छन्जा सम्म जिजागिरएइ
समुद्रको पानी छन्जा सम्म जिजागिरएइ
यसरी आर्षिवचन दिएपछि बालकको हातमा कापी, कलम र पैसा दिने गरिन्छ । बालकले पैसा समाते धनवान र कलम, कापी समाते विद्वान हुने लोक मान्यता रहेको पाइन्छ । यसपछि विशेष गरी पहिलो सन्ताका रुपमा छोरा जन्मेको भए दुबो हाल्ने चलन छ । आफन्त तथा इष्ट मित्रहरुले बाबुलाई दुबो हालेर सगुनको रुपमा अन्न पैसा दिने चलन छ । पण्डितले दुबो हालेपछि सर्वप्रथम मामाले दुबो हाल्ने चलन रहेको छ । यद्यपी अहिले छोरी जन्ममा पनि दुबो हाल्ने चलन चलिसकेको छ । यसरी सुदूरपश्चिममा आफ्नो छुट्टै मौलिकताले भरिपूर्ण जन्म संस्कार रहेको पाइन्छ । यस्ता संस्कारहरुमा प्रस्तुत हुने लोकसाहित्य र अन्य संस्कारको अध्ययन तथा संरक्षण हामी सबैको दायित्व हुन आउँछ ।
.gif)