स्कन्ध पुराणले कर्णाली नदीदेखि पश्चिम नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड स्थित कुमायू क्षेत्रलाई मानसखण्डका रुपमा छुट्याएको पाइन्छ । यस क्षेत्रमा अधिकांश हिन्दु धर्मावलम्बीहरुको बासस्थान रहेको छ । यो समुदाय भाषा, कला, साहित्य, लोकसाहित्य तथा सांस्कृतिक दृष्टिकोले अति नै समृद्ध रहेको छ । यहाँ क्षेत्रमा प्रचलित संस्कृतिको आफ्नो छुट्टै मौलिक पहिचान रहेको छ । यस क्षेत्रमा अन्य समुदायभन्दा भिन्न तथा मौलिक रुपमा मनाइने थुप्रै चाँडपर्वहरु रहेका छन् । यस क्षेत्रमा मौलिक रुपमा मनाइने चाँडपर्वहरुमा विशु, ओल्के, गौरा, बुडि़डनी सगराँत, दशैं, तिहार, नरहरी, फागु, आदि हुन् । यी चाँडपर्वहरुको आफ्नो छुट्टै मौलिक पहिचान हुनुका साथै यिनीहरुले यस क्षेत्रको भाषा, कला, साहित्य, संस्कृति, इतिहास तथा समग्र लोकजीवनको झल्को दिने गर्दछ । यस्तै मौलिक पहिचान बोकेका विभिन्न पर्वहरुमध्ये गौरा पर्व पनि एक हो । गौरा पर्वलाई स्गानीय बोलिका आधारमा गोःरा भन्ने गरिन्छ । यस क्षेत्रमा प्रचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिीनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिदै आइरहेको पाइन्छ । तिनी शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो । गौरा भाद्र महिनामा पर्ने गर्दछ । यो अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुबै पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुबै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गर्दछन् । गौरा विशेष गरेर यस क्षेत्रका नारीहरुले उपासना गर्ने पर्व हो । विवाहित नारीहरुले आफ्नो कुलपरम्परा अनुसार पुरुषहरुजस्तै यज्ञोपवितका रुपमा दुवधागो लाउने प्रचलन यस क्षेत्रमा रहेको छ । पहिलोचोटी उक्त दुवधागो लगाउनका लागि उजेली गौरा परेको पर्व सर्वप्रथम पुत्रदा एकादशीको ब्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने चलन यस क्षेत्रमा रहिआएको पाइन्छ ।
पुत्रदा एकादशीको ब्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि यो ब्रतको सुरुवात हुने गर्दछ । करिब एक हप्ता अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिगाउने गरिन्छ । यसका लागि पूजाको वेदी बनाइ त्यसमा फूल अक्षता राखी त्यसमाथि गोबर, दुबो र जौँतिलले सजाएको तामाको ताउलीमा चन्दन अक्षत लगाइ राखिन्छ । गौरी गणेशको आवाह्न गरी धुपबत्ती, पाती, फल आदि चढाएर पूजा गरिन्छ । त्यसपछि पाँचप्रकारका अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस मिसाएर तिनलाई छानी तामाको भाँडोमा भिगाइन्छ । उक्त पाँच अन्नको मिश्रणलाई नै बिरडा भन्ने गरिन्छ । उक्त बिरुडा भिगाउने बेला महिलाहरुले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिगाउने बेलाको फाग गाउने गर्दछन् । उक्त फागमा मानसखण्डकी सबै नारीहरु गौरा पर्वको ब्रत लिन लागेका र आफूले पनि यो ब्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मायसर भनिने) लाई नगरमा गएर मागिल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने गर्दछ । मायासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्न भन्दा गौराले जिद्दि गरेपछि गौराको आग्रह बमोजिम नगरमा कलौं बिरुडी खोज्न गएको प्रसङ्ग यस फागमा आउँछ । फागलाई प्रतीकात्मक रुपमा कनया नगरी र मथुरा नगरीलाई उल्लेख गरी मथुरा नगरीकी चेलीबेटीलाई मायासरले गौरीले गौराको ब्रत राखेकाले कलौं बिरुडा माग्दा नदिएको र अपहेलना गर्दै पठाएको र कनया नगरमा रहेकी एक बुढी आमाले उनलाई आदर पूर्वक आसन बस्न दिइ उनलाई कलौं बिरुडा दिएको कथा यस फागमा आउँछ । यसरी घर फर्केपछि महादेवले बिरुडा ल्याए पनि पार्वतीसँग ख्यालठट्टा गरी आफूले कलौ. बिरुडी कतै नपाएको भनेपछि गौरा रिसाएर हातमा हसिया, जेउडो, कुटो आदि समातेर जंगलतिर लागेको कथा यसमा रहेको छ । जंगलमा गएपछि वनका मृगहरुको सहायतले जंगल फाँडेर गरा बनाएको कलौं बोएको र केही समयपश्चत कलौ उम्रेर केसा लागेको प्रसङ्ग यसमा आउने गर्दछ । यसरी गौराले कोसा लागेको कलौंको गोडमेल गर्न थाल्दछिन् । गौरा रिसाएर जंगलमा गइ कलौंखेती गरेको र कलौं खानसम्म भएको थाहा पाएर मायासर जोगीको भेषमा गौराको परीक्षाका लागि जान्छन् । उनले गरामा कलौंको गोडनेल गरिरहेकी गौरालाई कलौ. खानका लागि माग्दछन् । गौराले यो कलौंको पहिलो हिस्सा आफ्ना पति महेश्वरका लागि, दोस्रो गणपति बाला र तेस्रो सरस्वती कन्याका लागि हो त्यसपछि मात्र अन्यलाई खानका लागि मिल्छ भन्ने कुरा भनेपछि गौराले आफूप्रति गरेको प्रेम सम्झेर मुसुक्क हाँसेर फर्किन्छन् । यसरी कलौं उमारेर अर्कोवर्षदेखि गौराले गोःराको ब्रत राख्न सुरु गरेको कथा बिरुडा धुने बेलाको फागमा आउँछ । जसको केही अंश यसरी प्रस्ुतत गरिन्छ ः
टुटी कुडि पास नङरी त बरत लिया मुइले
ल्यास ल्यास मायासर गुसाया हो कलौं बिरुडि खोजि ल्यास
तती है त मायासार गुसाया मथुरा नङरी निसी गया
मथुरा नङरी चेली रे बेटी हो कलौं बिरडि हम दिय
भिगाएको बिरुडालाई षष्ठीका दिन न्वाला, धारा आदिमा गइ धुने गरिन्छ । तामाको ताउलीमा भिगाएको बिरडा राख्दै सगुन फाग गायनसँगै महिलाहरु धारातिर जाने गर्दछन् । यस बेला गाइने प्रमुख फाग मध्ये छोटी बैनाको कथानक भएको फाग महत्वपूर्ण रुपमा आउने गर्दछ । यस फागमा कौरवहरुले पाण्डवहरुलाई षडयन्त्रपूर्वक उनीहरुको यज्ञ सफल हुन नदिन छोटी बैनालाई पठाएको हुन्छ । पण्डवहरुले यो कुरा थाहापाएपछि उनलाई घरमा बस्न आग्रह गरे पनि उनी बिभिन्न बहाना बनमाएर उनीसँगै जाने कुरा गरेको कथा यसमा आउने गर्दछ, जसको केही अंश यसरी प्रस्तुत गरिन्छ ः
पाँचै भाइलु केदार चल्या छोटी बैना लागिन पछेट
जनलागै छोटी बैना पछेटी घर तेरा काखी बालो
काखको बालो दादा फेरी पाउँला तम जासा भाइलु नाइ पौनो
त्यस दिन न्वाला वा धारामा पनि साँवा धानको गौराको मुर्ती बनाइ बिरुडा चन्दन अक्षत पाती तथा धुपदीपले पूजा गर्ने गरिन्छ । त्यसपछि धोएका बिरुडालाई घरमा ल्याएर त्यसै ठाउँमा राखिन्छ । सप्तमी तिथिका दिन गौरा आउने दिनका रुपमा विशेष प्रकारले पूजा अर्चना गर्ने गरिन्छ । यो दिनमा महिलाहरु दिनभर ब्रत बस्दछन् । साँझपख चेलीबेटीहरुले साँवाधान, कुर्जो, अन्य फूलपाती आदिलाई रातो वस्त्र अथवा घुम्टीमा बेबेर गौराको मुर्ति बनाउने गर्दछन् । गौराको मुर्तिलाई निङलाबाट बनेको डालोमा राख्ने गरिन्छ । एउटा काठको पिर्कोमा पहेलो कपडा बेरेर गौरासँगै महेश्वरलाई पनि राख्ने गरिन्छ ।
गौरा एउटा गाउँसमुदायको एक हुने गर्दछ । एउटा निश्चित घरमा गौरा ल्याइसकेपछि साँझ ब्राह्मण बोलाई पंचपुर्वाङ्ग सहित गौराको पूजा गर्ने गरिन्छ । यो दिन महिलाहरुले कुण्ड नुहाउने प्रचलन पनि रहेको छ । यो पहिलो चोटी गौरा उपासना गर्ने नारीका लागि अनिवार्य हुन्छ भने अरुका लागि ऐच्छिक हुने गर्दछ । गाईको गोबरबाट दुईओटा कुण्डहरु निर्माण गरी त्यसमा गाईको गहत र दुध छुट्टाछुट्टै राखिन्छ र दुबोको सहायताले शास्त्रोक्त विधिअनुसार कुण्ड नुहाउने काम गरिन्छ । त्यस दिन धागोमा विशेष किसिमका सात गाँठा पारेर बनाइएको सप्तमीलाई अभिषेक गरी महिलाहरुले घााटीमा लगाउने गर्दछन् । गौराको मुर्तीमा दुवधागा बाध्ने पनि गरिन्छ । यस अवस्थामा पनि गौरा घरबाट माइत आएको प्रसङ्गमा फाग गाउने चलन छ, जुन फागको केही अंश यसप्रकार रहेको छ ः
सर्क लोक है चलिआइन लोलिगोरा मन्ता लोक उजालो
मन्ता लोक है चलिआइन लोलि गोरा खोली रोडी भैछ उजालो
खोलीरोडी है चलि आइन लोली गोरा सेरी खेत भैछ उजालो
सेरी खेत है चलिआइन लोली गोरा पालुङी सोडा उजालो
पालुङी सोडा है चलिआइन लोली गोरा पटकन भैछ उजालो
यसरी फाग सगुन सहित पूजाअर्चना सकी प्रसाद ग्रहण गरी सप्तमी लगाएपछि मिठामिठा भोजन गरिन्छ । त्यसपछि अष्ठमीको दिन उपयुक्त साइत अनुसार गौरा महेश्वरलाई गो¥या घरबाट सगुन फाग गाउँदै गो¥याखालामा लगि थाली वा कालोपाटमा राखिन्छ । गो¥याघरबाट खालामा लग्दा गाइने सगुनको केही अंश यसप्रकार रहेको छ ः
हिङलो खेलन्नी माय हिङलो खेलन्नी
कसुन देवताइको हिङलो खेलन्नी
भुमिराज देवताइको हिङलो खेलन्नी
हिङलो खेलन्नी माय हिङलो खेलन्नी
कसुन देवताइको हिङलो खेलन्नी
निङ्लाशैनी मायको त हिङलो खेलन्नी
महारुद्र देवताइको हिङलो खेलन्नी
यसरी गो¥याखालामा गोरामहेश्वर स्थापना गरिसकेपछि ब्रतालु महिलाहरुले स्थानीय भाषामा अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा अर्चना गर्दछन् । अठ्यावालीमा गौरामहेश्वरको जीवनकथा आउने गर्दछ । यसमा महेश्वरलाई बडुभाटको रुपमा उभ्याएको पाइन्छ । अठ्यावालीमा आठ आवाली (अध्याय) हुने भएकाले र अष्ठमीको दिन गाइने भएकाले अठ्यावाली भनिएको अग्रजहरु बताउँछन् । यस दिन विवाहित महिलाहरु गौराको वरिपरी झुम्मिएर गोलो घेरामा अठ्यावाली गायन गरिन्छ जुन अठ्यावालीको केही अंश यसप्रकार रहेको छ ः
आठै अठ्यावाली पाड्या गुसाइ के रे बर देला
निरधनी धन दिउँला अपुतिलाई पुत
आठै अठ्यावाली पाड्या गुसाइ के रे बर देला
निगोरस्या गोरस दिउँलो निरअन्नी अन्न
यसरी आठ छेउटा भएको मुख्य अठ्यावाली गायन गरिन्छ । अठ्यावालीमा गौराको जन्मदेखि विवाह पछिसम्मका कथाहरु आउने गर्दछन् ।यसमा गौरीको जीवनका विभिनन घटनाहरुको वार्णन गरिन्छ । बिचमा महादेवले दास्रो विहे गरेको प्रसङ्गका रुपमा गौराकी सौता ल्याएर स्थापना गरिन्छ । अठ्यावाली सकिएपछि महिलाहरुले आफूले ओडका पछ्यौरीहरु शिरमाथि ओडर त्यसको भित्रपट्टी पसी धर्मकथा वाचन तथा श्रवण गर्ने गर्दछन् । त्यसपछि औँल्याखेल प्रदर्शन गरिन्छ । औंल्याखेल पश्चात् उपयुक्त साइत हेरी फल फट्काउने कार्य गरिन्छ । त्यसका लागि दिनभरी अठ्यावाली गाउँदै पूजा गरेका बिरडा फूलप्रसाद र फलहरु एउटा च्यादरमा हाली दुई जना पुरुषहरुको सहायताले पाँच पटक आकाशमा फाल्ने गरिन्छ । यसरी आकाशमा फाल्दा पहिलो पटक पूर्व दोस्रो पश्चिम, तेस्रो उत्तर, चौथो दक्षिण र अन्त्यमा सिधा आकासतिर फाल्दछन् । महिलाहरुले उक्त आकाशतिर फालेका बिरुडाप्रसादलाई आकाशबाटै ग्रहण गर्न पछ्यौरी तथा रुमाल तथा हात छोडेर बस्ने गर्दछन् । तिनी प्रसादहरुलाई अन्य बिरुडामा मिसाएर टाउको पूज्ने कार्य गरिन्छ । त्यसपछि दुबधागो लगाउँछन् । दुबधागो भनेको महिलाहरुको यज्ञोपवित हो । यो सुतीको रातो धागोमा पहेलो र कालो पोरी पारेर सुन्दर बनाइएको हुन्छ । दुबधागोमा दुई पाला हुने गर्दछन् । यसमा रहेका रातो, पहेलो र कालो रङलाई क्रमशः महालक्ष्मी, महासरस्वती र महाकालीको प्रतीकका रुपमा मान्ने गरिन्छ ।
यस क्षेत्रका नारीहरु यस दिन सर्वप्रथम आफ्नो श्रीमान र त्यसपछि घरपरिवार तथा अन्य गाउँका नातासम्बन्धका व्यक्तिहरुको टाउको पुज्ने गरिन्छ । यस अवसरमा नारीहरुले आफूभन्दा नातामा माथि रहेका पुरुषहरुलाई समेत आषिर्वाद दिने गर्दछन् । उक्त आर्षिवादको केही अंश यसप्रकार रहेको छ ः
लखत्या लखत्या
पाँच भाय जेठो, पाँच भाय कान्सो
हिमान्जलो हिउँछन्जा सम्म जिजागिरेइ
समुद्रको पानी छन्जा सम्म जिजागिरेइ
गुबाइ जनी फुलेइ, दुबाइ जनी चौड पिजेइ
अइरै जनी झालताल भएइ
जोली खाट सिनपाएइ, जोला गाई दुन पाएइ
जोला पुत पाएइ
गोराको बिरुडो दशैको जोरो तेरा मुण्डाइन पड्डोइ रौ
यसरी सबैको टाउँको पुजिसकेपछि बिरुडाबाट पाँच छुट्टै गेडाहरु निकाली पञ्च बिरुडीलाई प्रसादका रुपमा नचपाइकन पानीसँग निल्ने गर्दछन् । यसरी अष्ठमीको बिरुडा प्रसाद ग्रहण गरी मिष्ठान्न भोजनका रुपमा स्थानीय परम्परागत परिकारका रुपमा लौन, सेल, बटुक, पुरी माणा आदि पकाएर खाने गरिन्छ ।
त्यसपछिका दुईतिन दिन लगातार रुपमा स्थानीय देवीदेवताका मन्दिरहरुमा पुरुषहरुले ढोलक र मिजुराका साथ ढुस्को, धमारी, चैत तथा डेउडा खेल खेल्ने गर्दछन् । विशेष गरी रामायण तथा महाभारतकालीन कथावस्तुमा आधारित ढुष्को धमारी चैत तथा स्थानीय देवीदेवता तथा इतिहासप्रसिद्ध कथानक बोकेका गाथाहरु समुहमा खेलिने गरिन्छ । नृत्यगेयात्मक रुपमा खेलिने यो खेलमा मौलिक कलाको प्रस्तुति हुने गर्दछ । यस अवसरमा देवीदेवता तथा मन्दिरका कर्मचारीहरुलाई बिरुडा प्रसाद दिने चलन पनि रहेको छ । विभिन्न देवीदेवताका मन्दिरमा जात्रा लग्ने चलन पनि यस क्षेत्रमा रहेको पाइन्छ । दिनभरी यस्ता खेल खेलेपछि धामी कामेर बिरुडाको प्रसाद लगाइदिने चलन पनि रहेको पाइन्छ । गौराको विशेष अवसरमा सुदूरपश्चिमको मौलिक पहिचान झल्किने लोक डेउडा खेलको प्रस्तुति पनि गर्ने गरिन्छ तर यो गौरामो अनिवार्य पक्ष भने होइन । यसरी तिनचार दिन खेल खेलेपछि उपयुक्त साइत हेरेर गौरा पर्वको समापन गरिन्छ । जसलाई गोःरा सेलाउने भनिन्छ । गौरामा स्थापना गरिएको गौरा महेश्वरको मुर्तीलाई एक निश्चित ठाउँमा लगेर स्थानीय परम्परा अनुसार पूजा अर्चना सहित गौराको बिदायी गरी प्रसाद ग्रहण गर्ने गरिन्छ । यस अवसरमा कतैकतै किर्फी खेल्ने चलन रहेको छ भने कतै लाखेनाँच गर्ने तथा जात्रा मनाउने चलन रहेको छ ।
यसरी गौरा पर्व यस क्षेत्रको मौलिक पहिचान बोकेको पर्व हो । यो पर्व विशेष गरी नारी सम्मानको पर्व पनि हो । यस क्षेत्रमा गौरा पर्वको अवसरमा घरपरिवारका सबै सदस्यका लागि एकसरो नयाँ लुगा किन्ने प्रचलन पनि रहँदै आएको पाइन्छ । त्यसैगरी घरबाहिर स्वदेश तथा विशेषमा रहेका मानिसहरु पनि गोराको बिरुडा प्रसाद ग्रहण गर्नका लागि घर फर्किने, चेलीबेटी तथा इष्टमित्रहरुलाई समेत घरमा बोलाउने रमाइलो गर्ने पर्वका रुपमा लिइन्छ । यस क्षेत्रमा गौराको बिरुडा र दशैंको जमरा जसरी पनि प्रासदका रपमा ग्रहण गर्ने पर्ने मान्यता रहेको छ । यदि कारण बस कोही मानिस घर आउन सकेन भने पनि उनका लागि चिठीको खामभित्र वा कसै मानिससँग पठाएर पनि बिरुडाप्रसाद पुगाउने चलन रहेको छ । आजभोलि कही कतै फोटोमा पूजा गरी पठाइदिने चलन पनि चल्न थालेको छ । यो एक सामाजिक सद्भावको पर्व पनि हो । यसमा समुदायमा सबैले मिलेर एकसाथ गौराको पूजा अर्चना गर्ने गर्दछन् । यो पर्व एक शुद्ध शाकाहार पर्व पनि हो । यस पर्वका अवसरका कही कतै पनि वलिगर्ने, मांस भोजन गर्ने परम्परा रहेको पाइदैन । यस पर्वले यस क्षेत्रका नारीहरुलाई वैदिक मन्त्र उच्चारणको अधिकार समेत दिएको पाइन्छ । शुक्ल यजुर्वेदको दोस्रो अध्यायमा रहेको लक्ष्मीको मन्त्रलाई यस क्षेत्रका नारीहरुले गायत्री मन्त्रका रुपमा ग्रहण गरी नित्य जप्ने गर्दछन् । नारीहरुले पुरषजस्तै यज्ञोपवितका रुपमा दुवधागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गर्दछन् । गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास रहेको पाइन्छ । विवाहित तथा दुवधागो लगाइसकेकी नारीहरुले प्रत्येक वर्ष गौराको उपासना अनिवार्य मानिन्छ । यसरी समग्रमा भन्नुपर्दा नारीहरुलाई विशेष सम्मानका साथ मनाइने यो पर्व धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बाकेको पर्व हो । .यस पर्वले यस क्षेत्रको भाषा, कला, साहित्य, लोकसाहित्य, संस्कृति, इतिहास आदिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको समग्र लोकजीवनको झल्को समेत दिइरहेको छ । यसरी विविध दृष्टिकोणले महत्वपूर्ण यो पर्व मानसखण्ड क्षेत्रकै मौलिक पहिचान र गौरवमय सांस्कृतिक पर्व हो । यसको संरक्षण, सम्बद्र्धन तथा प्रचारप्रसार गर्नु र यसलाई सांस्कृतिक रुपमा निरन्तरता दिनु हामी सबैको कर्तव्य हो ।
.gif)