सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

जुँघाका सोखिन मदन चन्द


पश्चिम प्रेस
मंगलबार, पुस २० २०७८
  • 1.2K
    Shares

  • images
    images
    जुँघाका सोखिन मदन चन्द

    हरेक मान्छेका आ–आफ्नै सोख हुन्छन्, कोही कपाल लामो राख्न चाहान्छ, कोही छोटो राख्न चाहान्छ, आफूलाई सुहाउँदो र मन लागेको सौख पुरा गर्न हरेक मानिस लागिराखेकै हुन्छ । यस्तै सोखिन व्यक्तिहरुमा उमेरले निकै पाका तर तन्नेरीहरुभन्दा बढी जोशिला मदन चन्द देखेपछि उनको दाह्री र जुँघाको प्रशंसा नगर्ने मान्छे कमै होलान ।  हाम्रा वाङ्मयका उखान तथा साहित्यमा पनि पुरुषको शोभा र निशानी दाह्री र जुङ्गालाई मान्दै आएको पाइन्छ । झन् डोटेली सङ्गीतमा त गायक अन्तराम विष्टले हाइ तेरा घोप्ट्या जुङा भन्ने गीतबाट जुँघाको मुक्तकण्ठले प्रशंसा गरेका छन्  । यस्तै प्रशंसनीय र हेरिरहुँ लाग्दा जुँघा पाल्न सफल व्यक्ति हुन प्रजातन्त्रका सेनानी मदन चन्द । बैतडीको तल्लो स्वराड तिताबै भन्ने ठाउँमा जन्मिएका मदन चन्द अहिले ९० औँ वर्षमा जीवनको यात्रा गरिरहेका छन् । बिहानै उठ्छन् आफ्नो नित्यकर्म गर्छछन् चियापान गरिसकेपछि एकचोटी आँगनमा बसेर मस्तसँग आफ्ना दाह्रीजुँघा मिलाउँछन्, पत्रिका पढ्छन् अनि मस्त आफ्नो लेखनमा डठिरहन्छन् । उनलाई देख्ने मानिस उनको जुँघाको प्रसंसा नगरी रहन सक्दैन । 
     नेपालमा निरङ्कूश राणाशासनको अन्त्यपछि वि.सं. २००७ सालमा प्रजातन्त्रको उदय भएको हो । हजारौँ नेपाली जनताको त्याग तपस्या र महान सहिदहरुको वलिदानले राणाहरुको एकलौटी शासन व्यवस्ताको अन्त्य गरी प्रजातन्त्रको स्थापना भएको हो । तत्कालीन राज्यका नाइके तथा सामन्तिहरुलाई जनताको शासन मन परेन र उनीहरु विभिन्न किसिमका षडयन्त्र गर्नतिर लागे । फलस्वरुप वि.सं. २०१७ सालमा फेरी पञ्चायती शासन चलाएर जनताको प्रजातन्त्रमाथि प्रहार गरे । यसरी जनताको शासन खोसिएपछि प्रजातन्त्रका पक्षधरहरुले सहेर बस्न सकेनन । सहिदहरुको वलिदानीले ल्याएको प्रजातन्त्रलाई पुनः स्थापित गर्नका लागि प्रजातन्त्र प्रेमीहरु पञ्चायति व्यवस्थाको विरोध गर्न थाले । प्रजातन्त्रको लागि बिभिन्न मानिसहरु आफ्नो जीवनलाई धरापमा र निरङ्कूश पञ्चायति व्यवस्थाको विरुद्धमा आवाज उठाउन थाले । त्यतिबेलाको परिवेशमा पञ्चायति व्यवस्थाको विरोध गर्नु कुनै सामान्य कुरा थिएन ।  तिनै महान योद्धाहरुमध्ये सुदूरपश्चिमको कञ्चनपुर जिल्लाबाट आवाज उठाउने मदन चन्द पनि एक हुन् । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि मदन चन्दको योगदान अतुलनीय रहेको पाइन्छ । नेपालको प्रजातन्त्र पुनस्र्थापनामा योगदान गर्नुहुने व्यक्तित्वहरुमा मदन चन्द प्रमुख व्यक्तिहरुमध्ये एक हुन । मदन चन्दले सुदूर पश्चिममा नेपाली कांग्रेसका तर्फबाट नेपालको प्रजातन्त्र पुनस्थापनाका लागि बिभिन्न किसिमका समस्याहरुसँग झेल्नु परेको थियो । पञ्चायती व्यवस्थाको बिरुद्धमा आन्दोलन गर्नका लागि त्यतिबेलाको समयमा सानो साहसले हुँदैनथे । सरकारका बिरुद्ध बोल्नेहरुलाई जेल सजाय तथा बिभिन्न किसिमका यातना दिइन्थ्यो । मदन चन्द त्यतिबेला सरकारको आँखामा थिए । त्यसैले उनी प्रायःजसो घरमा बस्दैनथे । हरेक बेला उनलाई खोज्नका लागि प्रहरीहरु आइरहने भएकाले कति दिन भोकै बाहिर बस्नुपरेको त अरुको घरमा बास बस्नुपरेको थियो । भोख प्यास तथा ऐश आरामलाई त्यागेर देश र जनताको लागि लड्ने प्रजातन्त्रका शेनानी मदन चन्दको योगदान अतुलनीय रहेको पाइन्छ । 

     उनी राजनीतिमा मात्र नभएर समाजसेवाका क्षेत्रमा पनि उनको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । समाज कल्याण अञ्चल बाल अनाथालय खोली अनाथ बालबालिकाहरुको सेवामा समेत उनको योगदान रहेको छ । तत्कालीन श्री ५ को सरकार श्रम तथा समाज कल्याण मन्त्रालयको आर्थिक वर्ष २०४८ । ४९ को बार्षिक कार्यक्रम अन्तर्गतको कार्यक्रम अन्तर्गत महाकाली अञ्चलको सदरमुकाममा अनाथालय खोल्नको लागि पहल गरी कार्यक्रमका लागि धेरै समय र अर्थ खर्च गरी उनले २०४९ साल अषाड ११ गते समाज कल्याण अञ्चल बाल अनाथालयको समेत स्थापना गरे । सुदूर पश्चिमाञ्चल भित्रका तथा अन्य ठाउँका समाजमा रहेका अनाथ, असहाय, दीन दुःखीहरुलाई आश्रय प्रदान गर्ने गरी ५० जना सम्मलाई आश्रय दिन सक्ने र निःशुल्क रुपमा मा.वि. सम्मको शिक्षा दिलाउने तथा स्वरोजगार युक्त व्यवसायिक तालिम प्रदान गराइ पुनस्थापना गराउने महान लक्ष्य लिएर  समाज कल्याण अञ्चल बाल अनाथालय खोल्नमा मदन चन्दको विशेष हात रहेको पाइन्छ । यस अनाथालयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफरिसमा अनाथ बालबालिकाहरु भर्ना गरी उनीहरुको रेखदेख तथा पालन पोषण तथा शिक्षादिक्षा दिने जिम्मेवारी लिएर संस्थापक अध्यक्षको रुपमा मदन चन्दले सेवा गरेको पाइन्छ । नेपाल सरकारको अनुदान तथा स्थानिय निकाय तथा संघ संस्था व्यापारीहरुको सहयोग प्राप्त भै सञ्चालनमा रहेको अनाथालयले आफ्नो स्थापना कालदेखि नै आबद्ध भएका १७२ जना बालबालिकाहरु मध्ये १४२ जना अनाथ दक्ष भएर आत्म निर्भर बनिसकेका छन् । ५० जना सम्म अनाथ बालबालिका राख्न सकिने भौतिक पूर्वाधार भएको यस अनाथालयमा मदन चन्द ले २०४९ देखि २०६३ साल सम्म जम्मा १५ बर्ष जति सेवा गरेको पाइन्छ भने आजभोली पनि समय समयमा त्यहाँ गएर सल्लाह सुझावका साथै कहिले फलफूल वितरण त कहिले कापीकलम वितरण गरिरहनुहुन्छ । 
     निकै पाका उमेरका भए पनि उनी खुबै अध्ययन गरिरहनुहुन्छ । साहित्य तथा लोकसाहित्यमा उनको औधी रुचि रहेको छ । वि.सं. २०७० सालमा उनले लोक दर्पण र रोशन नामक दुई कृतिहरु पनि प्रकासनमा ल्याउनुभएको छ । लोकदर्पण लोक साहित्यसित सम्बन्धित कृति हो भने रोशन उनको आत्मवृतान्त भएको कृति हो । नेपाली तथा डोटेली भाषाका पारखी मदन चन्दले ८५ औँ वर्षको उमेरमा पहाडी भाषाको शव्दकोश लेख्दै हुनुहुन्छ भने बेलाबेलामा कविता, कथा, तथा गीत र भजनहरु लेख्दै आइरहनुभएको छ  । यसरी बहुमुखी प्रतिभाका धनी मदन चन्दले आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा कुनै किसिमको पनि प्रलोभन नराखी सदा सर्वदा  समाजको सेवामा लागिरहेका छन् । बहुमुखी प्रतिभाका धनी मदन चन्द देशकालागि जस्तोसुकै सङ्घर्ष गर्नुपरे पनि पछि हट्नु हुँदैन, सदैव सत्यको बाटो अगाल्नु पर्दछ मानव जीवन लिइसके पछि गरिब तथा अशहायको सेवा गर्नु हाम्रो कर्तव्य हुन आउँछ निश्वार्थ रुपमा सामाजिक सेवामा लाग्नु पर्दछ भन्ने प्रेरणाका स्रोत हुन । 


    प्रतिक्रिया दिनुहोस