भाषा, धर्म, संस्कृति, भूगोल लगायतका समान समाजिक भूमिका भएका मानिसहरुको समुहलाई समुदाय भनिन्छ । उक्त समुदायले बोल्ने भाषा, बस्ने ठाउँ, अधिकांश मानिसको पेशा, धर्म, संस्कृति लगायत लोकवार्ताका विषयहरु समान हुने गर्दछन् । उक्त कुराहरुलाई सबैले सामुहिक रुपमा आफ्नो भनेर निर्विवाद रुपमा स्वीकार गरेको हुन्छ । यिनै साँझा विषयवस्तुले फरक फरक मानिसहरुलाई पनि एक सुत्रमा बाधेर मनोवैज्ञानिक एउटै परिवार जस्तो बनाएर भावनात्मक रुपले एकसुत्रमा बाधेको हुन्छ । यसरी नै उपयुक्त साँझा संस्कृतिको सुन्दर धागोमा उनिएर हारजस्तै सुन्दर बनेका विभिन्न समुदाय मध्ये डोट्याली समुदाय पनि एक हो । भूगोल, भाषा, कला, साहित्य, संस्कृति लगायत समग्र लोकजीवनका विषय वस्तुले सुशोभित डोट्याली लोकसमुदायको पनि आफ्नो छुट्टै मौलिक पहिचान रहेको छ । लोकसंस्कृति, लोकविश्वास, लोकमान्यता आदि विविध विषयमा डोट्याली लोकसमुदायको आफ्नो छुट्टै विशेषता रहेको छ । यिनी फरक पनहरुमध्ये यस क्षेत्रमा हाम्रा पुर्खाहरुले फलाउँदै आएका फलहरुका सन्दर्भमा विभिन्न किसिमका लोकमान्यताहरु रहेको पाइन्छ । ती फलहरु लगाउने, हुर्काउने र खाने आफ्नै प्रकारमा मौलिक मान्यताहरु रहेका हुन्छन् । उक्त फलहरुसँग थुप्रै लोकसाहित्य, कथा, किस्सा तथा लोक मान्यता र हाम्रो संस्कृति जोडिएको पाइन्छ । यस्ता फलहरुमध्ये काकडो काक्रो पनि एक हो ।
काकड़ो (काक्रो) विशेष गरी बर्खे फलका रुपमा लगाइने गरिन्छ । यो वैशाख जेठ महिनामा यसको बिया रोपिन्छ । यो रोप्दा विशेष गरी रुखको फेदमा लगाइन्छ भने बिना रुखको ठाउँमा लगाए त्यसका लागि थाक्रो गाड्ने गरिन्छ । काक्रोको सबैभन्दा पहिले फूल लाग्छ र त्यसैमा फल लाग्ने गर्दछ । काक्रोको सानो चिचिलो फललाई छ्याँ भनिन्छ । काक्रोको छ्याँलाई चोर औँलाले देखाएपछि कुहिन्छ भन्ने लोकविश्वास यस समुदायमा रहेको पाइन्छ । काक्रोलाई विशेष गरी पितृहरुको फलका रुपमा लिइने भएकाले असोजको सोह्र श्राद्ध भन्दा अघि काक्रो काट्दा ठाडो चिरा लगाएर काटे पितृ काटिन्छन् भन्ने लोकविश्वास रहेकाले गोलो भागमा काक्रो काटिन्छ । काक्रो काट्दा सर्वप्रथम काट्ने हसियाको टुप्पोले फेदतिरको सानो भाग काटी त्यसमा विस्तारै बिस्तारै सानो सानो चोट हानी फलाउने गरिन्छ । काक्रो फलाउँदा "फल काकडि़ फल फल, जत्ति फूल उत्ति फल, जत्ति पात उत्ति फल, जत्ति सर्कतारा उत्ति फल, तोइ काकडि़ देप्ता चडुलो फल, तोइ काकडि़ पितर चडुलो फल, तोइ काकडि मद बनुलो" फल भन्ने गरिन्छ । हसियाको टुप्पोले फलाइसकेपछि पछाडिपट्टीको तितो भाग भएको हिस्साले फलाएको भागमा घोटिन्छ । त्यसपछि मात्र काकड़ो खाने गरिन्छ । काक्रोलाई पछिसम्म राखेर माघ महिनासम्म लहरोमै रहेको काक्रोलाई माघेसङ्क्रान्तिको दिन मह लगाएर मदका रुपमा गाउँभरी प्रसादका रुपमा बाड्ने गरिन्छ । यसरी माघ महिनामा मद बाडेपछि पुण्य मिल्ने जनविश्वास यस समुदायमा रहेको पाइन्छ । काक्रो चोरेर खाए पनि पाप नलाग्ने र काक्रो मालिकले चारलाई गाली गरे पनि गाली नपर्ने विश्वास पनि यस समुदायमा रहेको पाइन्छ । काकडाकि गालि मुतमा झालि भन्ने किस्सा यस समुदायमा रहेको पाइन्छ यद्यपि चोरेर खानु भने राम्रो कुरा होइन । काक्रो खाँदा त्यसको बियाँलाई प्रसादका रुपमा निधारमा लाउने चलन पनि रहेको छ । त्यसैगरी बुडि पोल्ने सङ्क्रान्तिका दिन बोडि पोल्दा काक्रो चपाएर थुइ बुडि थुइ भन्दै क्राको थुक्ने प्रचलन पनि रहेको छ । एक जना नास्तिक मान्छे जसले कहिल्यै भगवानको नाम लिदैनथ्यो उक्त व्यक्तिलाई हरियो कक्रो भन्दा हरिको नाम आउला भनेर कस्तो काक्रो ल्याउँ भन्दा उसले हरियो वा पहेलो केही नभनी ल्याउ मात्र भनेको किस्सा पनि डोटेली लोकसमुदायमा रहेको पाइन्छ । पितृपक्षमा सरादमा काक्रोको प्रसादलाई विशेष महत्वका साथ लिने गरिन्छ । काक्राको चिरा एकदम सिधा र सुन्दर हुने भएकाले डोट्याली लोकसाहित्यमा जवान युवतीको उपमा दिनमा लागि पनि काक्रोको प्रयोग गरिएको पाइन्छ । उदाहरणका लागि मुइ जमुना भन्ने लोक धमारीमा काकडा चिरा जसी मुइ जमुना भनेर उपमाका रुपमा प्रयोग गरिएको पाइन्छ । यति मात्रै नभएर यस क्षेत्रमा गाइने विभिनन डेउडागीतहरुमा समेत काकडोको प्रयोग गरिएको पाइन्छ । उदाहरणका लागि निम्न गीतलाई देखाउन सकिन्छ ः
काकडो काचोइलै मिठो आम हो पाकेको
धेकेको नाइमिललो भायौ मिलन्छ राखेको
यसरी यस लोकसमुदायसँग जोडिएको भाषा,, संस्कृति साहित्य, धर्म तथा लोकजीवनका विविध पक्षसँग काकडो फल जोडिएको पाइन्छ ।
.gif)