मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

थारु बस्तीमा सखिया नाचको रौनक


पश्चिम प्रेस
शनिबार, असोज १५ २०७९
  • 729
    Shares

  • images
    images
    थारु बस्तीमा सखिया नाचको रौनक

    महेन्द्रनगर । यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी दिनभर काममा व्यस्त भए पनि राति अबेरसम्म सखिया नाचमा झुम्नुहुन्छ ।

     उहाँलगायत गाउँका सबै मान्छे साँझ ८ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाच्छन् । “साझ खाना खाएर सबै जना बडघरको आँगनमा जम्मा भएर सखिया नाच्छौँ”, उहाँले भन्नुभयो, “सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौँ ।” उहाँले दशैँ सुरुआत भएसँगै थारु समुदायमा सखिया नाचको रौनक छाउने गरेको बताउनुभयो ।

     “यो नाचमा गाउँका सबैले अनिवार्य उपस्थिति हुनुपर्छ नआउनेले जरिवाना तिर्नुपर्छ”, उहाँले भन्नुभयो, “सखिया नाच सुरु नभएसम्म गाउँमा दसैँँ आएको अनुभूति नै हुँदैन ।” उहाँले पहिलेको पुस्ताले दसैँँ आउनुभन्दा एक महिना अगाडिदेखि नै सखिया नाच्ने गरे पनि पछिल्लो समय यो नाच छोट्टिदै गएको बताउनुभयो । 

     “अहिले दसैँँसम्म मात्रै नाचिन्छ पहिलेको पुस्ताले एक महिनाअघिबाटै सखिया नाच्न सुरु गर्थे”, उहाँले भन्नुभयो, “हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न जरुरी छ ।” 

     थारु समुदायमा दसैँँमा सखिया नाचको विशेष महत्व हुने देवी चौधरी बताउनुहुन्छ । “सखिया नाच नभएपछि गाउँमा दसैँँ आएको हो कि होइन थाहा हुँदैन”, उहाँले भन्नुभयो, “थारू भाषामा सखीको अर्थ साथीसङ्गी हुन्छ, गाउँका सबै साथीसङ्गी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको हो ।”
      
     सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने स्थानीय लक्ष्मीरा चौधरीले बताउनुभयो । उहाँका अनुसार सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङको धोती र रुचिअनुसारको रङको कमिज लगाउने गर्छन् । “गीत नसकिएसम्म नाच सकिँदैन यो धेरै लामो हुन्छ गीत सकिएपछि मात्र नाच सकिन्छ”, उहाँले भन्नुभयो, “गीत गाउनले चलन पछि छुट्टै छ सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्त्यमा गाउन मिल्दैन ।”

      प्रायःपुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन यो समुदायमा रहिआएको छ । आउने पिंढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी गराउने गरेको उहाँले बताउनुभयो ।

     “आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो, “हाम्रो समुदायमा दसैँँ धुमधामका साथ मनाउने गरिन्छ अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ ।”

     थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँँमा यसको रौनक छुट्टै हुने थारु अगुवा बताउँछन् । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन रहेको छ । दसैँँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापीत हुने विश्वास यो समुदायमा रहेको छ ।


  • सम्बन्धित विषय:

  • # थारु समुदाय
  • # सखिया नाच
  • प्रतिक्रिया दिनुहोस