हो हामी सबै मनुष्य नै हौ तर पनि मनुष्य कसरी बन्ने सन्दर्भमा यो लेख अमानवीय नै होला तर सत्य यहीँ हो कि हामी पशु समान जीवन बुझ्नलाई होइन जीविकोपार्जन गर्नलाई मात्र दिनरात भौंतारिरहेका छौँ । आज म यदि तपाईं वा म मनुष्य कसरी बन्न सक्नुहुन्छ, सक्छु ? यो गहनीय एवम् चिन्तनीय प्रश्नको उत्तर दिने प्रयास गर्नेछु । हो हामीले सुन्दै आएका छौँ, आहार निद्रा, भय, मैथुनमा जीवन समर्पित हुन्छ भने मनुष्य हुन कदापि सक्दैनौँ, हामी पशु समान नै हुन्छौँ । अतः पहिलो सिँढी भनेकै आहार, निद्रा, भय, मैथुनको त्याग गर्नु हो । यिनीहरूलाई केही प्रष्ट बनाउनका लागि अझ यसरी भनूँ ।
आहार– आहार अर्थात् खाना हामी अनावश्यक रूपमा खाना खानु हुँदैन बाहिर बजारमा पाइने विषादीले पूर्ण खानाहरू त कदापि खानुहुँदैन । घरमा पनि ठीक समयमा आवश्यकता अनुसार नै खाने समय समयमा उपवास आदि बस्ने, जति शरीरलाई आवश्यक हुन्छ त्यति नै खानु, अनावश्यक भोजनलाई त्याग गर्नु नै आहार त्याग हो । यस्तो सोच्नुहुँदैन कहिल्यै पनि खाना नखानु आहार त्याग हो । तात्पर्य यो हो कि आवश्यक जति छ त्यति नै ग्रहण गर्नु समय समयमा उपवास आदि बस्नु आहार त्याग हो ।
निद्रात्याग – गुडाकेश भनेर अर्जुनलाई किन भनिन्छ ? हो निद्रालाई जित्न सक्ने सामर्थ्यवान् भएकाले । लक्ष्मणले पनि श्रीरामका वनवास अवधिसम्म निद्रा ग्रहण गरेका थिएनन् । आखिर कसरी त ? यसका लागि योग निद्राको साधना गर्नु अति आवश्यक हो , जागिरहँदा पनि सुत्नु आध्यात्मिक निद हो । ढिलो सुत्नु छिटो उठ्नु मात्र निद्रा त्याग होइन । थोरै समयमा पनि प्रयाप्त निद लिन सक्नु वा जाग्दाजाग्दै पनि निद पूर्ण गर्नु निद्रात्याग हो भनिन्छ नि श्वाननिद्रा अर्थात् कुकुरको जस्तो निद्रा एकछिन्मै जागिहाल्ने एकछिन्मै निद पूर्ण गरिहाल्ने हो हामी मनुष्य बन्न चाहन्छौँ भने निद्रामाथि पनि विजय प्राप्त गर्न सक्नुपर्छ ।
भयत्याग – भय अर्थात् डर मृत्युदेखि डर, भोलि के हुन्छ होला ? जीवनदेखि डर, घरमा मातापिताको डर, स्कुलमा गुरुको डर अझ कुनै बच्चालाई मातापिताले हातमा राखी माथि हावामा फाल्ने र समात्ने गरेमा बच्चा भयका कारण धेरै रुन्छ पनि किन ? उचाइमा बच्चादेखि लिएर वृद्धसम्म नै डर रहन्छ । जति उचाइ बढ्दै जान्छ त्यति भय बढ्दै जान्छ । उचाइ केवल दुरी होइन प्रगतिको उचाइ । उचाइसित नै भय बढ्ने भए उचाइ नै घटाइदिऊँ न त ? यसो मनमनमा विचार सोच्नु कदापि हुँदैन उचाइ त्यो बढाउदै जाने हो साथमा भयलाई हटाउँदै, मन सफा, सत्यवादी, साहसी हुनसकेमा भय कसको ? बाहिरी भयहरू चोर, सर्प, बाघ, भालु यीद्वारा मुक्त हुन सक्नुपर्छ मृत्युको भय नै छैन भने किन डर ? भित्री भयहरू कसैले देखेका छैनन् क्यारे भन्दै आफ्नो आचरणलाई अन्धकारतिर लग्दै भित्रभित्र नै डराउनु भित्री भय हो । केही गल्ती भइसकेपछि दुनियाँले केही नभने पनि मनले उत्पत्ति गरिरहन्छ एक किसिमको भयलाई यो भित्री भय हो, यदि हामी मनुष्य बन्न चाहन्छौ भने भयलाई नि त्याग गर्न सक्नुपर्छ ।
मैथुन त्याग – मैथुनको त्याग गर्न नसकेमा अति नै उचाइका व्यक्ति पनि सीधा तल आउन पुग्छन् । परलिङ्गीसित आकर्षित हुने स्वभाव हुन त पश्चिमी संस्कृतिका प्रभावले परलिङ्गी मात्र कहाँ हो र समलिङ्गी समलिङ्गी नै अनावश्यक रूपमा आकर्षित भइरहेको अहिले देखिन्छ यो बिल्कुल गलत हो, कलेज आदिमा विपरीत लिङ्गी एक अर्कासित मस्त अँगालोमा देखिन्छ हुन त स्पर्श गर्नु अँगालो मार्नु निकै सामान्य भयो तर पनि यो गलत हो, प्राणशक्तिको आधारले पनि र अनावश्यक स्पर्शका आधारले पनि । दोस्रोप्रति आकर्षित हुनु, यौनक्रीडामा रमाउनु, मनमा त्यहीँ त्यहीँ मात्रको दृश्य राखिरहनु, दोस्रोको भयका कारण एक्लै पनि अनेक उपाय लगाइ मैथुनमा लिप्त रहनु यी सबै पशुव्यवहार हो मनुष्य व्यवहार कदापि होइन । अझ भन्ने हो भने अहिले विवाह त केवल मैथुनकै लागि जोडिन पुगेको छ यदि यो भएन त्यो विवाह नै भएन यदि यो भयो त्यो विवाह गर्न जरुरत नि भएन आदि आदि । हामी सच्चा मनुष्य नै बन्न चाहन्छौँ भने मैथुनको पनि त्याग अनिवार्य हो ।
मलाई थाहा छ कि तपाईं अति तर्कशील हुनुहुन्छ, अनेकानेक तर्क त दिनुहुन्छ नै तथापि सबैभन्दा महत्त्वपूर्ण तर्क यही हो कि हाम्रो पल्लाघरे दिदी वा दाइ त मस्त सुतेकै देख्छु सुत्ने समयमा, बाहिर खाएकै देख्छु साथीभाइसित मोजमस्तीमा, परस्त्रीसँग लटपटिएकै देख्छु तर पनि धनसम्पत्तिले पैसाले कति माथि हुनुहुन्छ अहोहो माथि भएको कारणले नै त उहाँसित जो पनि नजिक हुन्छन् अति मजाकका छन् । अघि भने अनुसार कठोर नियम त उहाँले केही पालना नै गर्नुभएको छैन त फेरि किन उहाँ मनुष्य होइन ?
स्वभाविक नै हो यो प्रश्न वा जिज्ञासा मनमा उत्पन्न हुनु पनि हामी डाक्टर बन्न सक्छौँ शिक्षक बन्न सक्छौँ अनेक प्रगति गर्न सक्छौँ तर प्रश्न यो हो कि मनुष्य बनेर बन्छौँ वा पशु बनेर ? यदि आहार,निद्रा,भय,मैथुनको त्यागबिना प्रधानमन्त्री नै किन नबनून् ती पशुप्रधानमन्त्री नै हुन्छन्, पशुडाक्टर, पशुशिक्षक नै हुन्छन् । संयममा रहँदैन, स्थायी हुन कदापि सक्दैनन् । तपाईँ यो बन्नू त्यो बन्नू मैले कहिल्यै भन्दिनँ तर तपाईं मनुष्य शरीरमा आएपछि मनुष्य बन्नुहोस् जरुर भन्नेछु । प्रगति गर्नु ठूलो कुरो होइन मनुष्य बन्न साधना गर्नु ठूलो कुरो हो । यी सबै आफ्नै हातमा छ जबर्जस्ती त्याग हुँदैन भने सङ्ग्रह पनि हुँदैन । अतः मनुष्य बन्ने पहिलो सिँढी हामी आजदेखि नै सङ्कल्पका साथ उक्लिन सकौँ आहार,निद्रा,भय,मैथुनको त्याग गर्न सकौँ अनि द्वितीय सिँढी चढ्नका लागि तत्पर बनौँ ।
.gif)