नेपालमा भाषा सम्बन्धी विभिन्न समयमा थुप्रै बहस तथा आन्दोलनहरु चल्दै आइरहेको पाइन्छ । नेपाली लगायत नेपालमा बोलिने विभिन्न भाषाहरुका सम्बन्धमा विद्वानहरुको एक मत रहेको पाइदैन । नेपाली भाषामा व्याकरणको सन्दर्भमा समय समयमा थुप्रै बहस, आन्दोलन र परिवर्तनहरु हुँदै आए भने नेपालभित्र बोलिने अन्य भाषाहरुका सन्दर्भमा पनि हरेक समयमा विभिन्न किसिमका बहस हुँदै आए । यसै सन्दर्भमा सुदूरपश्चिममा बोलिने भाषाहरुको क्षेत्र निर्धारण तथा नामाकरणका सन्दर्भमा पनि बहस चल्दै आए । कसैले सुदूरपश्चिममा बोलिने भाषाहरुलाई भाषा नभनेर भाषिका, भाषिक भेद आदिका रुपमा अथ्र्याए भने कसैले क्षेत्रगत राजनीतिका रुपमा यस क्षेत्रका भाषाहरुलाई छुट्याउने काम गरे । समग्रमा भन्नुपर्दा कुनै पनि भाषा वैज्ञानिक आधारमा नापतौल नगरी राजनीतिक दुनो सोझ्याउन र आफूलाई अरुभन्दा फरक विद्वान देखाउनका लागि आ–आफ्ना धारणहरु प्रस्तुत गर्दै भाषिक राजनीति गरेको पाइयो । भाषा सम्बन्धी विशेष बहस हुने समय भनेको खास गरी राष्ट्रिय जनगणनाको समय हो ।
यस वर्ष भएको राष्ट्रिय जनगणनाका परिप्रेक्ष्यमा पनि सुदूरपश्चिमका मातृभाषाहरूलाई विशेष गरी जिल्लागत नामाकरणको लागि सामाजिक सञ्जाल तथा अन्य कार्यक्रमहरुमा खुुब बहस चल्यो । तिनै तर्क र अध्ययनहीन बहसहरुमा केही व्यक्तिहरु फुर्किदै भाषिक राजनीतिको कुरा उराल्ने काममा समेत लागेका पाइयो । भाषा आयोग गठनको ३÷४ बर्षको प्रयास पछि डोटेली भाषालाई सुदूरपश्चिममा सरकारि कामकाजको भाषा बनाउन सक्नेमा सिफारिश गरेको छ । जिल्ला गत नामाकरणको सन्दर्भ हेर्दा विभिन्न समयमा त्रिभुवन विश्वविद्यालयबाट सोध प्रतिबेदन (थेसिस)लेख्न पुर्व तिरबाट सुदूरपश्चिम आउने विद्यार्थीहरू जुन जिल्लामा आए त्यसै जिल्लाको नाम राख्न थाले, त्यसैको सिको पछि यता तिरकाले पनि गर्न थाले । विगतमा लामो समय सम्म डोटेली भाषामा प्रसारणको अधिकार तथा राष्ट्रिय भाषाको मान्यता तथा आइ एस ओ कोडको प्राप्तिका लागि आन्दोलन र बहस भएको थियो । यस क्षेत्रमा लामो समयदेखि भाषा सम्बन्धी काम गर्दै आइरहेका विभिन्न विद्वान, संघसँस्था तथा पत्रपत्रिकाहरुको योगदानका कारण डोटेली भाषाका नाममा आइ एस ओ कोड पाउनुका साथै प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा मान्यता पाएको छ । डोटेली भाषाका सन्दर्भमा अध्ययन तथा भाषा विषयमै प्रकाशन कार्यमा देवराज भट्ट शर्मा, देवकान्त पन्त, जयराज पन्त,डा देवि प्रसाद ओझा, उप. प्रा. भुवन बोहरा, खगेन्द्र जोशी, बीरबहादुर चन्द, पञ्चमराज भट्ट, जगदीश ओझा, रमेश पन्त मीतबन्धु, वंशीधर जोशी, डा बद्रि शर्मा, बाशुदेव भाइसाव, बाशुदेव पाण्डेय, आर डि प्रभास चटौत, तिर्थ राज भट्ट, खेमु अठोला, श्रीधर पन्त, डा. पुष्कर राज भट्ट, डा टेकराज पन्त, केशवदत्त भट्ट मेलौली, पुर्ण प्रकाश नेपाल, शिवराज कलौनी ,आत्माराम ओझा, डा मुकुन्द कलौनी, डम्बर शर्मा वडू ,कविराज भट्ट, तीर्थराज भट्ट, एन के जोशी, आर डि प्रभास चटौत, हरीश प्रसाद जोशी, पदमराज वडू, लगायतका सर्जकहरुको योगदान महत्वपूर्ण छ ।
सुदूरपश्चिममा बोलिने डोटेली भाषाका सन्दर्भमा विभिन्न विद्वानहरुले केही अध्ययन गरे पनि थुप्रै कार्यहरु अध्ययनको निरन्तरतामा रहेका छन् । कुनै पनि भाषाको भाषा वैज्ञानिक रुपमा अध्ययन हुनु पर्दछ, त्यसले समग्र क्षेत्रको राजनीतिक, साँस्कृतिक तथा ऐतिहासिक मर्म बुझेर भाषा छुट्याउने काम गरे मात्रै सर्व स्वीकार्य हुन्छ । अध्ययन नै नगरी अहिले जिल्लागत पहिचान खोज्यौं भने भोलि त्यो पनि टुक्रिन्छ र विगतको गर्खा अनुसार नामाकृत हुनेछन र १० वर्ष पछिको जनगणनाका लागि यस्ता अभियान नै चल्ने छन तथा जिल्लागत भाषाको नामाकरण अल्पमतमा पर्ने छन, जस्तो कि स्वराडी, पुर्चौडी, मार्माली बुङली, बोगटानी,जोरायली ........ त्यति बेला जिल्लागत नामाकरणको पनि अस्तित्व के होला ? विचार गरेर मात्रै फुर्किनु ठिक होला ।
यहाँको भाषा सन्दर्भमा व्याकरण, शव्दकोश, भाषिक इतिहास, पत्रपत्रिका र साहित्यिक रचना प्रकाशन, भाषा वैज्ञानिक अध्ययन, विभिन्न परिपेक्षमा भएका कार्यपत्र लेखन तथा प्रकाशन माथि चर्चा र बहसको साटो अहिले चर्चा अर्कै तिर मोड्न खोजेर विद्वता देखाइनु किमार्थ राम्रो होइन । भाषिक मूल संरचना र आधारभूत पक्षको अध्ययन भन्दा पनि केही थोरै शाब्दिक र उच्चारणगत भिन्नतालाई मात्रै अघि सारेर यो भाषा, त्यो भाषा भनेर विभेद सिर्जना गरिनु सान्दर्भिक हँुदैन ।
.gif)