नेपाली भाषा र साहित्यमा निरन्तर साधनारत साहित्यकारको अग्रपंक्तिमा आउने नाम हो मनिराज जोशी । लामो समयदेखि लेखनमा सक्रिय रहेका स्रष्टा मनिराज जोशीको जन्म वि.स. २०१२ असोज २६ गते डोटी जिल्लाको गाजरी गाउँमा भएको हो । पश्चिमका तारा, महाकाव्यका नायक उपाधिद्वारा सम्मानित विशिष्ट प्रतिभा तथा सरस्वतीका वरदपुत्र जोशीको कलम गद्य र पद्य दुवै विधामा सशक्त रुपले चलेको छ । सुदूर पश्चिम क्षेत्रबाट राष्ट्रिय रूपमा स्थापित हुन पुगेका जोशीका विभिन्न विधामा कृतिहरू प्रकाशित छन् । हालसम्म उनका एकतिस वटा विभिन्न विधा कृतिहरू प्रकाशित छन् । जसमा सातवटा महाकाव्य रहेका छन् । जोशी सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्दै नेपाली साहित्य फाँटमा सुपरिचित साहित्यकार हुन् । नेपाली साहित्यका अन्य विधाको तुलनामा उनको कलम काव्य विधामा सशक्त चलेकोे छ । नेपाली कविताको क्षेत्रमा जोशीले ओझेलमा परेका महान व्यक्ति, महत्त्वपूर्ण क्षेत्र, धार्मिक स्थान तथा विषय आदिलाई सङ्कलन गरे, उने, सिंगारे अनि सरल, सहज र सुन्दर पदहरू समावेश गरेर काव्यात्मक कालिगढी प्रस्तुत गरे । नेपालको सांस्कृतिक तथा सामाजिक परिवेश र सुन्दर प्रकृतिको चित्रण गदै जोशीले मिठा कविताहरू सिर्जना गरेका छन् । मानवतावाद र प्रचीनताप्रति मोह राख्दै उनले आफ्ना रचनाहरूमा विभिन्न बिम्ब, प्रतीक, रस, अलङ्कार आदिको समुचित प्रयोग गरेको भेटिन्छ । साहित्य लेखनका साथसाथै उनको जीवनका विभिन्न आयाम छन् । सामाजिक संघ सस्थामा नेतृत्वदायी भूमिकाका साथै सल्लाहकारका रुपमा रहेका जोशी चर्चित ज्योतिष पनि हुन् ।
प्रसिद्घ महाकाव्यकार जोशीद्वारा रचित प्रकाश महाकाव्य (२०७३) पूर्वीय साहित्य सिद्घान्तमा आधारित उत्कृष्ट महाकाव्य हो । सामाजिक जीवनका विभिन्न क्षेत्रहरूमा महत्त्वर्पूण भूमिका खेल्ने एक वा अनेक नायक नायिकाहरूका चरित्रमा आधारित भएर महाकाव्य रचना गर्ने परम्परा रहेको छ । तिनै सिद्धान्तहरूको शीरोपर गरी प्रकाश महाकाव्य पनि लेखिएको छ । छन्द, अलङ्कार, रस, गुण आदिको समुचित संयोजनले सिंगारिएको महाकाव्यले नेपालको निरंकुश शासन प्रणाली विरुद्घ आवाज उठाउने एक क्रान्तिकारी सचेतक एन.डी. प्रकाश चटौतलाई नायक बनाएको छ । देशभक्ति भावनाले ओतप्रोत भएका चटौतका जीवनका विभिन्न आयामलाई कृतिमा नवीन काव्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
अलङ्कारको सैद्धान्तिक परिचय
अलङ्कार संस्कृत भाषबाट आएको व्युत्पन्न शब्द हो । यस शब्दले पूर्वीय साहित्य सिद्घान्त अन्र्तगत महत्त्वपूर्ण स्थान ओगटेको छ । अङ्कारको सामान्य अर्थ सजावट भन्ने हुन्छ । कुनै पनि कुरालाई भएको भन्दा राम्रो र आकर्षण पार्न गरिने सजावट वा शृङ्गार नै अलङ्कार हो । “मानवीय सभ्यता र भाषाको विकासका सँगसँगै लोक जीवनका उक्ति वैचित्यहरूमा अलङ्कारको बीज रहेको पाइन्छ तापनि लेख्य रुपमा भने सर्वप्रथम वैदिक साहित्यमा नै आलङ्कारिक प्रयोग भएको पाइन्छ”(पौडेल,२०६७ ः७७) । पूर्वीय काव्य परम्परामा अलङ्कारवादी सम्प्रदाय एक समृद्घ सम्प्रदायका रुपमा रहेको छ । वैदिक संहितादेखि प्रयोग हुँदै आएका विविध अलङ्कारका बारेमा पहिले सामान्य उल्लेख नाट्यशास्त्रमा आचार्य भरतराजले गरेको भेटिन्छ । भरतले उपमा, दीपक,रुपक एवम् यमक भनेर यी चार अलङ्कारको चर्चा गरेको पाइन्छ । अलङ्कारका बारेमा विशद सैद्घान्तिक लेखाजोखा गरेर यसलाई व्यवस्थित रुपमा चिनाउने काम भने आचार्य भामहबाट पाइन्छ । “भामहको काव्यालङ्कार पूर्वीय काव्यशास्त्रीय विवेचनामा पहिलो ग्रन्थ मानिन्छ । उनले अलङ्कार विवेचनामा ३८ अलङ्कारको चर्चा गरेका छन् ” (अधिकारी, २०५६ ः पृ ४५ ) । भामहपछिका दण्डी, वामन, रुद्रट, उद्भट, आदि उत्तरवर्ती धेरै विद्वानहरूले यसबारे सैद्धान्तिक बहस र चर्चा गर्दै आएको परम्परा छँदैछ । यसबाट अलङ्कार सिद्धान्त एउटा सिद्धान्त मात्र नभई संस्कृत साहित्यशास्त्रको समृद्ध सम्प्रदायकै रूपमा रहेको कुरा सिद्ध हुन्छ ।
उपमा अलंकारको परिचय
काव्यमा शब्दका माध्यमबाट सौन्दर्यको सृष्टि गर्ने शब्दालङ्कार र अर्थका माध्यमबाट सौन्दर्य सृष्टि गर्ने अर्थालङ्कार गरी अलङ्कारका दुई प्रकारका रहेका छन् । यी दुई प्रमुख भेदमध्ये अर्थालङ्कारका पनि विभिन्न भेदहरूको चर्च गरिएको पाइन्छ । अर्थालङ्कारमध्येको एउटा भेद उपमा हो । उपमाको व्युत्पत्तिगत अर्थ हुन्छ, उप≠समीपे मीयते ≠ परिच्छदते अनयाँ इति उपमा अर्थात् जसबाट नजिकको सम्बन्ध स्थापित गरिन्छ त्यो उपमा हो । यसका उपमेय (जसलाई उपमा दिइन्छ), उपमान (जसद्वारा उपमित गरिन्छ) सामान्य धर्म (उपमान र उपमेयको साझा गुण) र उपमान उपमेयबीच तुल्यता जनाउने झैं, सरी, जस्तै आदि वाचक शब्द गरी चार उपकरण हुन्छन् । यसमा उपमेयभन्दा उपमान विशिष्ट गुणयुक्त हुन्छ । उपमेय साध्य हो भने उपमान साधन । अतः उपमामा उपमानमा रहने विशिष्ट गुणलाई उपमेयसँग दाँजेर उपमेयलाई पनि उपमान जस्तै विशिष्ट तुल्याइन्छ । प्रकाशमणी दहालका अनुसार ः
लेखक आफूले प्रस्तुत गर्न चाहेको वस्तु, व्यक्ति वा परिस्तिथिलाई अझ स्पष्ट पार्न वा बढाइ चढाइ गर्न वा त्यसको महत्ता वा न्यूनता सशक्त ढङ्गले प्रस्तुत गर्न चाहँदा त्योसँग मिल्दाजुल्दा अन्य वस्तु, व्यक्ति अवस्थासँग दाँजोर वा तुलना गरेर प्रस्तुत गर्दछ । त्यसरी तुलना गर्न प्रयोग गरेको शब्द नै उपमा हो । (दहाल,२०७३ ः पृ ३०१)
विद्वानहरूले उपमा अलङ्कारका विविध सूक्ष्मातिसूक्ष्म भेदहरूको चर्चा गरेका छन् । यसका मुख्य गरी पूर्णोपमा, लुप्तोपमा, उपमेयोपमा, मालोपमा र रसनोपमा रहेका छन् । उपमाका यी पाँच मुख्य भेदमध्ये पनि नेपाली साहित्यका सन्दर्भमा पूर्णोपमा र लुप्तोपमाको मात्र स्पष्ट रूपमा प्रयोग भएको देखिन्छ । उपमा अलङ्कारका लागि आवश्यक मानिएका उपमान, उपमेय, वाचक शब्द र साधारण धर्म यी चारै उपकरणहकरूको स्पष्ट प्रयोग देखिने उपमा नै पूर्णोपमा हो । प्रकाश महाकाव्यमा पनि विभिन्न ठाउँमा पूर्णोमा उपमा अलङ्कारको प्रयोग भएको भेटाउन सकिन्छ । अलङ्कारका चारै उपकरणमध्ये एक वा दुई वा तीन उपकरण लुप्त भएको अवस्थालाई लुप्तोपमा भनिएको छ । प्रकाश महाकाव्यमा पनि विभिन्न ठाउँमा लुप्तोमा उपमा अलङ्कारको प्रयोग भएको भेटाउन सकिन्छ । त्यस्तै सन्दर्भले उपमानलाई उपमेय र उपमेयलाई उपमान बनाएर देखायो भने उपमेयोपमा अलङ्कार, उपमेयो र उपमालाई शृङ्खलाबद्ध ढङ्गले प्रस्तुत गरिएमा रसोनोपमा अङ्कार र एउटा उपमेयका साथ धेरै उपमानहरू मालाजस्तै उनिएर आएमा मालोपमा अलङ्कार हुन्छ । ‘प्रकास’ महाकाव्यमा प्रयुक्त यिनै उपमा अलङ्कारलाई यहाँ रेखाङ्कन गरिएको छ । त्यसका केही नमूनाहरू निम्नानुसार छन् ः
हामी भिन्न महत्वपूण कसरी, के हो उपादेयता ।
हाम्रो शक्ति तदुक्ति युक्ति छ भने, देखाउ त्यो भिन्नता ।।
लागौं अग्र परोपकार पथमा, त्यो शान्ति आलोकमा ।
हामी नै पशुझैं परस्पर लडी मर्ने भयौं झोकमा ।। (पृ ः ३१)
प्रस्तुत हरफहरूमा – हामी (मानिस) उपमेय, कुकुर – उपमान, धर्म – परस्परमा लड्नु र वाचक शब्द – झैं प्रयोग भएका कारण पुर्णोतमा अलङ्कारको प्रयोग भएको छ ।
गोलाकार मुहार बाबरसरी, सिन्दूरझैं रङ्ग छ ।
लामो भाल विशाल लाल लतिका, लावण्यतालङ्कृत ।।
निर्विघ्नेश्वर आखुवाहन प्रभो हे पार्वती नन्दन ।
जोडें हात अथातः गर्न कविता, आए गरें वन्दना ।।(पृ ः १९ )
प्रस्तुत श्लोकमा उपमेय – पार्वतीलाई विविन्न उपमानहरूद्वारा चित्रण गरिएको छ । उपमानहरू – बाबर, सिन्ुदुर, लावण्य, नन्दन आदि । त्यसकार प्रस्तुत श्लोकमा मालोपमा उपमा अलङ्कारको प्रयोग भएको छ ।
अन्य केही उपमा अलङ्कारका उदाहरणहरू ः
भण्डार हो वैवभ रत्न खानी ।
सर्वौषधी पीयूषतुल्य पानी ( पृ ४४)
नीलो क्षितिजको मानौं थामेको शीरझैं गरी ।
उभिउको छ शैलेन्द्र देवेन्द्र परि सुन्दरी । ( पृ ः ४८)
अमूल्य जन्म पाएर हराएर गयो भने ।
बन्दछौं पशुतुल्य जनावर स्वयम् बने ।। ( पृ ः ५७)
बित्दैछन् दिनहौं सुखानुभवमा आनन्दका साथमा ।
मानौं एक समान रात्रिदिन छन्, मुस्काउँदो चन्द्रमा ।।
चम्केको रविझैं प्रभा वदनमा, चम्किन्छ ज्यार्तिमय ।
गै पूवाञ्चलमा विराट् नगरमा आनन्द भोग्दै थिए ।। (पृ ः ५९)
सिंगो ग्राम उमंगमा छ धरती, शृङ्गार गर्दोसरि ।
लाग्यो मन्द बतास सिर्सिर गरी, सौगन्ध न्यानो छरी । (पृ ः ६६ )
बज्दै छ ढोल र सनाइ दमाउ आदि ।
चम्केसरी बिजुलि हेर्दछ नाचिनाची ।। (पृ ः ६७)
शार्दूलविक्रीडित, मन्दाक्रान्ता, वसन्त तिलका, उपजाति आदि छनदको सुगन्ध संयोजित प्रकाश महाकाव्य विभिन्न दृष्टिकाणबाट पनि सफल रहेको छ । रस प्रयोगका दृष्टिले वीर सर प्रधान रहेको कृतिमा अन्य रसहरूका साथै गुणहरूको पनि उपस्थिति रहेको छ । प्रकाश महाकाव्यमा उपमा अलङ्कारका साथै अन्य अलङ्कारहरूको पनि समुचित प्रयोग भएको पाइन्छ । जस्तै ः
रुपक
आँधीसँग मितेरि हुन्छ कसरी, यो देश आँधी भयो ।
मोरो गाौरवको महान ममता, आदर्श खोक्रो रह्यो ।।
वृत्यानुप्रास
छन् आधार धरा चराचर भरा, आधार उन्को बनी ।
झुल्के भानु शशिसरी गगनमा, नौलो दिए रोशनी ।।
निष्र्कष
प्रसिद्घ कवि मनिराज जोशीद्वारा रचित प्रकाश महाकाव्य आलङ्कारिक सौन्दर्यसृष्टिका दृष्टिले निकै समृद्ध रहेको छ । उपमा अलङ्कारका पाँच प्रमुख भेदमध्ये पूर्णोपमाका थुप्रै उदाहरण यसमा पाउन सकिन्छ । भने अन्य भेदहरूको पनि प्रयोग भएकै पाइन्छ । काव्यमा सौन्दर्यसृष्टिको प्रमुख कारकमध्येको एक मानिने अलङ्कारको सहज र स्वाभाविक प्रयोगले यस महाकाव्यको सहज सौन्दर्यलाई उत्कर्षमा पु¥याएको देखिन्छ । उपमा अलङ्कारका यी प्रमुख प्रकारहरूको स्वतःस्फूर्त उपस्थितिले महाकाव्यमा सृजना गरेको अभिव्यक्ति चमत्कारमय हुनु यस काव्यको अपूर्व उपलब्धि हो । कविले अलङ्कारलाई जबर्जस्त प्रयोग नगरीकनै कविताको स्वतःस्फूर्त बेगसँगै बेगिएर अथवा कविताको मूल भावसँग एकाकार भएर यी अलङ्कारहरू उपस्थित भएका छन् । अतः ‘प्रकाश’ महाकाव्यको आलङ्कारिक सौन्दर्य अकृत्रिम, सहज र प्राकृत पनि बन्न पुगेको छ ।
सन्दर्भ सामग्री
अधिकारी, हेमाङ्गराज (२०५६), पूर्वीय समालोचना सिद्घान्त काठमाण्डौं ः साझा प्रकाशन ।
जोशी, मनीराज (२०७३), प्रकाश, काठमाण्डौं ः वागीश्वरीदत्त चटौत ।
दहाल, प्रकाशमणी (२०७३), साहित्यबोध, काठमाण्डौं ः साङ्ग्रिला पुस्तक प्रा.लि. ।
पौडेल, माधवप्रसाद (२०६७), साहित्य शास्त्र, नेपाली समालोचना र शोधविधि, काठमाण्डौं ः विद्यार्थी पुस्तक भण्डार ।
भट्ट, देवेन्द्रप्रसाद,(सम्पादन), (२०७३),द्रष्टा दृष्टि, धनगढी ः कैलाली जनपुस्तकालय ।
.gif)