शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्याली लोक समुदायमा नरहरि 'कौवा रोटो दिनेइ सगराँत'


आइतबार, माघ १ २०७९
  • 872
    Shares

  • images
    images
    डोट्याली लोक समुदायमा नरहरि 'कौवा रोटो दिनेइ सगराँत'

    हरेक समुदायको आफ्नो छुट्टै मौलिक पहिचान हुने गर्दछ । कुनै पनि समुदायमा भएको भाषा, धर्म, सँस्कृति, चालचलन, रीतिरिवाज आदि विविध कुराहरुको फरकपन नै उक्त समुदायको पहिचान गर्ने आधार हो । डोट्याली भाषिक समुदायभित्र पनि अन्य समुदाय भन्दा फरक देखिने विभिन्न मौलिक विशेषता रहेका छन् । यस समुदायमा पुर्खौँदेखि बोलिदै आएको भाषा, कला, सँस्कृति तथा समग्र जीवनशैली अन्य समुदायको तुलनामा केही भिन्न रहेको पाइन्छ । प्रकृतिको सुन्दर कोखबाट जन्मेर प्रकृतिकै पूजा अर्चनामा रमाएको यस समुदायले आफ्नो छुट्टै मूल्यमान्यता र लोक परम्परालाई निरन्तरता दिदै आइरहेको छ । जीवनयात्राको क्रमलाई सरल, सहज तथा आनन्ददायी बनाउनका निमित्त हाम्रा पुर्खाहरुले तय गरेका धार्मिक तथा साँस्कृतिक मूल्य मान्यता, रीतिरिवाज, चालचलन आदि विविध कुराहरुले डोट्याली समुदाय साँस्कृतिक रुपमा सम्पन्न रहेको छ । जीवनको महान यात्रामा थकान मेट्नका लागि उकालोमाथिका चौतारी जस्ता समय अनुसारका विभिन्न चाँडपर्व तथा तिनमा गरिने विविध धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरुले हाम्रो सँस्कृतिमा रङ्गीन बुट्टा भर्ने काम गरेका छन् । चलचित्रमा कथा अगाडि बढ्दै गर्दा बीचबीचमा आउने सुन्दर सङ्गीत जस्तै जीवनमा अनुपम आनन्द र उर्जा दिने हाम्रा चाँडपर्व मध्ये माघी पर्व पनि एक हो ।

     
    डोट्याली समुदायमा मनाइने विभिन्न चाँडपर्वहरु मध्ये मकर सङ्क्रान्तिको विशेष अवसरमा मनाइने माघी पर्व पनि एक हो । यस समुदायमा यस पर्वलाई नरहरि सगराँतका नामले पनि चिन्ने गरिन्छ ।  सूर्यले मकर रासीमा प्रवेश गर्दै उत्तरायणी यात्राको सुरुवात गर्नेे यस दिनमा सुदूरपश्चिमका थुप्रै शिवशक्तिका पीठहरुमा पूजा लाग्ने गर्दछ ।  विशेष गरी गंगास्नानको सुरुवात हुने यो दिनमा नजिकका तीर्थ स्थलहरुमा स्नान गरिन्छ । डोट्याली लोक समुदायमा पुस महिनाको औराद र माघ महिनाको स्नानलाई विशेष महत्वका रुपमा लिने गरिन्छ । माघीको दिन बह्ममहुर्तमा सबैभन्दा स्नान गर्ने व्यक्तिलाई धार्मिक लाभ पनि बढी मिल्ने मान्यता यस समुदायमा रहेको छ । विशेष गरी बिहानै स्नान गरी शिवालयहरुमा अभिशेष गर्ने काम यस दिनमा गरिन्छ । सम्बन्धमा यस समुदायमा  पुस महिनाको अन्तिम रातमा कागको लागि रोटी पकाएर राख्ने गरिन्छ । बिहान नुहाइधुवाइ कागलाई चामलको रोटी (माणो) दिने गरिन्छ । यस दिन कागहरुले पनि बिहानै गंगा स्नान गरेर रोटी प्रसाद ग्रहणका लागि आउने भएकाले बालक, युवा, बृद्ध सबैले अनिवार्य रुपमा स्नान गर्नुपर्ने चलन यस समुदायमा रहेको छ । जनक नन्दिनी सीताको पिडौँलामा टोकेर मासुको चोक्टा लगेको कागलाई रामले लखेटेपछि कतै पनि आफूलाई सुरक्षित नदेखेर अन्तमा रामको शरणमा आएको र रामले त्यस कागको एक आँखा फोडर अन्त्यमा शरणमा आएको हुनाले मकर सङ्क्रान्तिको पर्व कागलाई दिएको भन्ने मान्यता पनि रहेको छ । यसकारण कागलाई बिहानै रोटी दिदा सुदुरपश्चिमा बालबालिका हरु रमाउँदै का कौवा का का, मेरो झुनमुन्या माणो बटी खा भन्ने गर्दछ । कागले रोटी लगेर गएपछि कुन ठाउँमा लुकायो भनि बालबालिकाहरु त्यसको पछि जाने गर्दछन् । कागले लुकाएको रोटी ब्याउने गाईलाई खान दिए  सुन्दर झलमल्या बाच्छो पाउने विश्वास गरिन्छ । सुदूरपश्चिममा कागबोलिलाई पनि विशेष महत्वका साथ लिइन्छ । कागले इष्टमित्र तथा पाहुना आउने सङ्केत पनि गर्छ मन्ने लोक मान्यता यस क्षेत्रमा रहेको छ । काग घर नजिकका रुखडालीहरुमा बसेर कराउँदा सरबस कौवा सरबस मेरि दिदी औन्छी सरबस भन्ने चलन पनि रहेको छ ।   यस पर्वमा विशेष गरी चामलको रोटी (माणो), सेलरोटी, लौन आदि  विशेष परिकार पकाइन्छ भने वनमा गएर तरुल खोजेर ल्याउने तथा बारीमै भएका तरुल पनि खनेर पकाउने गरिन्छ । यस दिनमा छोरी चेलीहरु माइत आउने, इष्टमित्रहरु आउने र सबै सँगै बसेर मिठा परिकार खाने तथा रमाइलो गर्ने गर्दछन् । हाम्रो लोक समुदायमा रहेको यस चाँडको विशेष महत्व रहेको छ । हाम्रा यस्ता मौलिक चाँडहरुको बारेमा अध्ययन तथा यिनीहरुको निरन्तरता संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । 




    प्रतिक्रिया दिनुहोस