सर्वोपमाद्रव्यसमुच्चयेन यथाप्रदेशं विनिवेशितेन
सा निर्मिता विश्वसृजा प्रयत्नादेकस्थसौन्दर्यदिदृक्षयेव
महाकवि कालीदासको कुमारसम्भवम्मा संसारका रचयता बह्माले एकै ठाउँमा सम्पूर्ण सौन्दर्य देख्ने इच्छा पुरा गर्न हिमालको सुन्दर काखमा नवयौवना पार्वतीको सिर्जना गरेझैँ कवि वासुदेव पाण्डेयले सुन्दर प्रकृतिको काखमा दुलहीको सिर्जना गरेको आभाष भयो । शव्द सौन्दर्यका माध्यमबाट कविले सिर्जेकी दुलहीको सुन्दरता वर्णन गर्न कुनै एक शिल्पी कवि वा समालोचक नै चाहिन्छ होला, म जस्तो सामान्य पाठकले यो काव्यको सौन्दर्यता खोतल्नु भनेको बालकको पाटीमा गुरुले लेखिदिएका सुन्दर अक्षरमाथि छापेर धव्बा लगाए जस्तै हो । योग साधनाको चरम विन्दुमा पुगेका साधुले आध्यात्मको उज्यालो देख्दा जसरी विचारहीन, शव्दविहीन भएर केवल सौन्दर्यताको पान गरिरहन्छ यो काव्यको पाठ गरिरहदा मैले पनि सबै कुरा भुलेर केवल आनन्दको अनुभूति मात्रै गरिरहेको छु, त्यसैले रसरागको सुन्दर अनुभूतिबाट बाहिर निस्कन चाहान्न । यस्तो अवस्थामा मलाई लाग्छ फूल टिपेर त्यसका पत्रपत्र खोतल्नस भन्दा वास्नाको आनन्द लिनु बुद्धिमानी हो, त्यसैले म पनि काव्यरसको आनन्द लिइरहेको छु ।
थुम्का बन्छन् घट कलशझैँ यज्ञका विघ्नहर्ता
यो धर्ती नै शुभ लगनको लाग्छ हर्ता र कर्ता
कविले कवितामा भनेझैँ म पनि दुलही सौन्दर्यानुभूतिको शुभ–लगनमा काव्यकुम्भका मन्त्रोच्चारित छिटाहरुले आत्मशुद्धिको स्नान गरिरहेको छु । कविले सिर्जेको वसन्तवाटिकाभित्र भमराहरुको राग सुन्दै इन्द्रधनुषको गम्छा काँधमा राखेर मुसुक्क मुस्काइ रहेकी सुन्दर नवयौवना दुलहीको सौन्दर्यता पान गरिरहेको छु । कविले सिर्जेका प्रकृतिका सुन्दर स्वरूपहरूसँगै बिस्तारै पाइला चालिरहेको छु ।
जननी र जन्मभूमि श्वर्गभन्दा पनि महान हुन्छ, सबैलाई प्यारो लाग्छ, जब जन्मभूमि छोडर टाढा गइन्छ तब त्यसको झल्को आँखा वरिपरी रिटिरहन्छ । कविले गाउँ छोडेपछि जसरी कवितामा गाउँलाई श्वर्गको अनुभूति गरिरहेका छन् त्यसै गरी प्रकृतिको लीला र जन्मस्थली कवितासँगै म पनि एक पटक आफ्नो गाउँ पुगे र भने
साँच्चै श्वर्ग रहेछ गाउँ बुझियो छाडेर आएपछि........!
स्वर्ग यहीँ अनि तीर्थ र धर्म यहीँ गरिए उपकार भलो
जन्म दिने जननी अनि ज्ञान दिने गुरु पूज्य छ जन्मथलो ।
साँच्चिकै नेपाल धर्तीको सुन्दर बगैँचा हो । यस्तो सुन्दर देशमा जन्मिन पाउनु कयौँ जुनीको पुण्यको प्रताप हो । कविले कविताका बिम्बमा सजाएको देशको सन्तान बनेर जन्मिनु मेरो पनि अहोभाग्य हो । कवि जस्तै धर्तीको सुन्दर बिस्कुनको एक दाना बन्न पाउँदा मलाई पनि गर्व लागेर आयो अनि दोह¥याएर गुनगुनाए
धर्ती मख्ख परी सुकाउँछ यहाँ सौन्दर्यका बिस्कुन
खेल्ने सन्तति बुद्धका सब मिली यो देश हो आँगन
समग्रमा यो काव्यको रसपान गरेर मलाई एउटा कुरा ज्ञात भयो सुन्दरता कुनै व्यक्ति वा वस्तु भन्दा पनि भावमा हुँदो रहेछ । कविका भावहरुले उराठ लाग्दा डाँडाकाँडाहरुलाई पनि शव्दको जादुगरीले दुलही जस्तै सुन्दर पारिदिएको छ । म कविले सिर्जना गरेको त्यही सुन्दरताको विहङ्गम दृश्यमा हराउँदै शील, स्वभाव र सुन्दरताकी खानी दुलहीप्रति भित्री मनबाट केवल एउटा शव्द निस्कियो आहा.............. !
.gif)