महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक डा.दीपकचन्द्र भट्ट नेपाल–भारत श्रमिक आप्रवासनमा विद्यावारिधि गर्ने पहिलो व्याक्ति बन्नु भएको छ ।
भट्टले नेपाल र भारतीय श्रमिकहरु बिचको तुलनात्मक अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट शैक्षिक उपाधी प्राप्त गर्नुभएको हो । करिब दुईसय वर्ष अगाडीदेखी नेपालका विभिन्न क्षेत्र विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशबाट भारतमा गई रोजगारी गर्ने प्रचलन रही आएको छ ।
उहाँको अध्ययनका अनुसार संख्यात्मक रुपमा भारत काम गर्न जाने नेपाली श्रमिकहरुको संख्या बढी भएता पनि भारतीय श्रमिकहरुले नेपालबाट नेपाली कामदारको भन्दा दुई गुणा बढी रकम लैजाने गरेको निष्कर्ष निकाल्नुभएको छ । भारतमा काम गर्ने नेपाली कामदारहरुको एकिन संख्या नभएपनि सुदूरपश्चिम प्रदेशबाट मात्रै कम्तिमा चार लाख नेपाली श्रमिकहरु भारतमा रहेको उहाँको दाबी छ । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट औसतमा दैनिक चार÷पाँच सय नेपालीहरू काम खोज्दै जाने गरेका छन ।
उहाँका अनुसार नेपाली श्रमिकहरुको परम्परागत रुपमा भारतका विभिन्न टाढा टाढाका सहरमा जाने प्रचलन रहेको छ । बढी जसो नेपाली श्रमिकहरु अदक्ष कामदारको रुपमा भारतीय सहरहरुमा काम गरिरहेका छन । “नेपाली श्रमिकहरु रोजगारीका लागि धेरै टाढा जाने गर्दछन जसले गर्दा यातायात खर्च धेरै लाग्ने,समय बढी लाग्ने गर्छ ।” उहाँले भन्नुभयो–“भारतीय श्रमिकहरु नेपालमा नजिकको स्थानमा, सिमावर्ती सहरमा जाने गर्छन जसका कारण उनीहरुको समय र यातायात खर्च कम लाग्ने गर्छ ।” रोजगारीका लागि नेपालीहरू दिल्ली, मुम्बई, बैंग्लोर र कोलकाता लगायत भारतका टाढा टाढाका सहरसम्म पुग्ने गरेका छन । तर भारतीय श्रमिकहरु सीमावर्ती राज्य उत्तरप्रदेश विहार लगायतका क्षेत्रहरुबाट नेपालको तराईका सहरहरुमा बढी जसो कामका लागि आउने गरेका छन । तुलनात्मक रुपमा नेपाली श्रमिकहरु आफन्त,नातागोता वा व्याक्तिगत सम्बन्ध र नेटवर्कका आधामा भारतीय सहरहरुमा जाने गरेका छन ।
तर भारतीयहरु बढी ज्याला पाउने र कामको सहजताको आधारमा नेपालका सीमावर्ती सहरहरुसम्म आईपुगछन । उहाँका अनुसार नेपाली कामदारहरु कामको प्रकृति र स्थान परिवर्तन गरिरहने गर्छन भने भारतीय श्रमिकहरु एउटै काम लामो समयसम्म गर्छन जसले गर्दा उनीहरु काममा दक्ष हुनको साथै बढी आम्दानी समेत गर्दछन । “नेपाली श्रमिकहरु भारतमा गएर चौकीदारी,होटेलमा कामगर्ने,भारी बोक्ने जस्ता काममा बढी हुन्छन ।” डा.भट्टले भन्नुभयो–“भारतीय श्रमिकहरु नेपालमा आएर मिस्त्री,कपाल काट्ने,ग्रील,टायल,मोटरसाईकल मर्मत र सडक कालोपत्रे गर्ने लगायतका काममा बढी हुन्छन ।” उहाँले नेपाली श्रमिकहरु काममा फाइदा नहेरी साथीहरुको लहलहमा लागेर जाने गरेका र भारतीय श्रमिकहरु फाईदा हुने काम मात्रै गर्ने गरेको बताउनुभयो ।
“एक जना नेपाली कामदारले औषतमा २० हजार आयआर्जन गर्दा एक जना भारतीय कामदार नेपाली सहरबाट ४० हजार (दुई गुणा) आम्दानी गर्दछन ।” डा.भट्टले भन्नुभयो “नेपालीहरु कमाएको आधा रकम भारतमै खर्च गरेर आउँछन तर भारतीय श्रमिकहरु नेपालमा कुनै पनि खर्च नगरी कमाएको सबै रकम भारतमा लगेर जान्छन ।” उहाँका अनुसार नेपाली श्रमिकहरु भारतबाट फर्किनेबेला कपडा,भाडाकुडा,मोबाईल र खानेकुरा जस्ता सामानहरु किन्ने गरेका छन ।
नेपालबाट औसतमा १८ वर्षदेखी ४० वर्षका युवाहरु रोजगारीका लागि भारत जाने गरेको छन । नेपाल तथा भारतको श्रमिक आप्रवासनमा ३० प्रतिशत महिलाहरु घरेलु कामदारका रुपमा काम गरिरहेका छन । “नेपाली महिलाहरु आफै रोजगरीका लागि भारतमा जाने नगरेपनि आफ्ना श्रीमानहरुसंग भारतमा गएका एकतिहाई महिला घरेलु कामदारका रुपमा काम गर्छन ।” डा.भट्टले भन्नुभयो–“भारतीय महिलाहरु पनि श्रीमानसंग नेपाल आएका मध्ये एकतिहाई महिला ईटाभट्टा र कृर्षि कार्यमा संलगन छन ।”
भारतमा रोजगारी नभए नेपालीहरुको रोजीरोटीको विकल्प नभएकाले यसलाई सुरक्षित मर्यादित र व्यवस्थीत गर्नुपर्ने डा.भट्ट बताउँछन । “नेपाली श्रमिकहरुलाई भारतमा जानुको विकल्प छैन परिवार पाल्न जानैपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो–“भारतीय श्रमिकहरु नेपालमा बढी कमाउन मात्रै आउँछन उनीहरुको रोजीरोटीको विकल्प भारतै छ ।” उहाँले भारतीय श्रमिकहरु नेपालमा बढी कमाउन आउने र नेपाली श्रमीकहरु भारतमा जीविकोपार्जनका लागि मात्रै जाने गरेको बताउनुभयो ।
उहाँले सरकारले भारतमा जाने कामदारहरुको विवरण राख्नुपर्ने बताउँनुभयो । नेपालमा भारतीय कामदारहरुलाई विस्थापित गर्नका लागि सरकारले सीपमुलक तालिमहरुको व्यवस्था गरेर स्थानीय स्तरमै राजगारी सिर्जना गनुपर्ने उहाँ बताउँछन ।
“अहिले पनि अदक्ष कामदारकै रूपमा नेपालीहरू भारत जाने गरेका छन ।” उहाँले भन्नुभयो–“नेपाली श्रमिकको सामाजिक सुरक्षासँगै सीपमूलक तालिम आदिका विषयमा सरकारले ध्यान दिन जरुरी छ ।”
को हुन डा.भट्ट ?
बैतडीको दशरथचन्द नगरपालिका–१० स्थित बाराकोटमा २०३६ सालमा आमा श्रीमती दा्रेपतीदेवी भट्ट तथा वुवा स्व.श्री वासुदेव भट्टका चारजना छोराछोरी मध्ये तेस्रो सन्तानका रुपमा जन्मनुभएका डा.भट्टले माध्यमीक तहको शिक्षा २०५१ सालमा दानेश्वर मावी बाराकोटबाट गर्नुभयो । महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसबाट २०५८ सालमा रसायन शास्त्रमा स्नातक गर्नुभयो । २०६० सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तीपुरबाट ग्रामीण विकास विषयमा स्नाकोत्तर गर्नुभएका उहाँले शिक्षाशास्त्र केन्द्रिय विभागबाट एक वर्षे शिक्षा शास्त्रमा प्रशासन तथा सुपरिवेक्षण विषयमा समेत उपाधी प्राप्त गर्नुभएको छ ।
डा.भट्टले काठमाडौमा अध्ययनको क्रममा अन्नपूर्ण पोष्ट दैनिकमा दुई वर्ष पत्रकारीता समेत गर्नुभयो । स्नाकोत्तर उपाधी संगै १० वर्ष राष्ट्रिय अन्र्तराष्ट्रिय गैर सरकारी संस्थामा उपल्लो पदमा रही अनुभव प्राप्त डा.भट्ट सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।
हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित गोवरीयामा बस्दै आउनु भएका उहाँले २०७२ सालमा खुला प्रतिस्पर्धाबाट सुदूरपश्चिम विश्वविद्यालयमा सेवा प्रवेश गरेका हुन । अध्ययन तथा अध्यापन पेशामा ईमान्दार र पेशाप्रति निष्ठावान प्राध्यापकको परिचय बनाएका उहाँ विद्यार्थीहरु माझ लोकप्रिय हुनुहुन्छ । सुदूरपश्चिम विश्वविद्यालय अनुदान आयोगको पूर्ण छात्रवृत्तिमा अनुसन्धान गर्नुभएका उहाँले हालै नेपाल र भारतीय श्रमिकहरु बिचको तुलनात्मक अध्ययनमा शैक्षिक उपाधी प्राप्त गरेका हुन ।
विद्यावारिधिका लागि २०७३ साउनमा त्रिभुवन विश्वविद्यालयमा भर्ना हुनुभएका उहाँको अनुसन्धानको सुपरीभिजन प्रा.डा गोविन्द सुवेदीले गर्नुभएको हो । “विद्यावारिधि उपाधी प्राप्त गर्नमा सबैको साथ सहयोग पाएको छु ।” डा.भट्टले भन्नुभयो –“सकारात्मक सोच र आत्मविश्वासले कर्म गरे त्यसको फल अवश्य मिल्छ ।” दम्पती नै शिक्षण पेशामा रहनुभएका उहाँका श्रीमती चादनी पन्त पनि सुदूरपश्चिम विश्वविद्यालयबाट विद्यावारिधि गर्दै हुनुहुन्छ ।
.gif)