मानव जीवनका विविध भोगाइ तथा आफूले बाँचिरहेको परिवेशले मनमा विविध भावहरुको सिर्जना हुन पुग्दछ । मनका तिनै भावहरुको प्रस्फुटनलाई साहित्यमा रस भनिन्छ र तिनै विविध रसहरुलाई रङ भनिएको हुनुपर्छ । साहित्य समाजको ऐना हो, जे अगाडि देखिन्छ, भोगिन्छ त्यसैको प्रतिविम्ब मनको बाटो भएर शब्दको रुपमा व्यक्त हुने गर्दछ । एक सर्जकले त्यसलाई कलात्मक रुपमा सिङ्गारेर समाज सामु नै पस्किने गर्दछन र समाजले आनन्द लिदै लाभ उठाइरहेको हुन्छ । यही समाजलाई आफ्नो कलाका माध्यमले आनन्द प्रदान गर्ने र सुसज्जित गर्ने उद्देश्यको उपज हो मनका हजार रङ ।
ओखलढुङ्गाले नेपाली साहित्यमा थुप्रै योगदान गरेको छ । जुन पवित्र माटोमा युगकवि सिद्धिचरणजस्ता महान प्रतिभाहरु जन्मिए उक्त पवित्र भूमिले नेपाली गजलका क्षेत्रमा उमारेको एक सुन्दर फूल हुन राधा पाण्डे । वि.सं.२०३६ टेक्सेल ८ राघवपुर ओखलढुङ्गामा जम्एिर भारतको पूर्व सिक्कममा बसोबास गर्दै आउनुभएकी गजलकार राधा पाण्डेको मनका हजार रङले नेपाली गजलको क्षेत्रमा एक इटा थपेको छ ।
पिरतीको उडानमा थियौ कुनै बेला
मायालाई माया चिनो दियौँ कुनै बेला
मनका हजार रङभित्र प्रेम पनि एउटा रङ्ग हो, प्रेम बिनाको जीवन रङ्गहीन हुन्छ । चाहे सुदामाको कृष्णसँग होस अथवा राधाको कृष्णसँग । मानव जीवन नै प्रेमको उपज हो यसकारण आत्मिक प्रेमभन्दा संसारमा ठूलो केही छैन । उसो ता गजल विधाको जन्म नै प्रेमबाटै भएको मानिन्छ, त्यही मान्यतालाई निरन्तरता दिदै केही प्रेमका कुरा केही समाज र वर्तमान भोगाइका कुरा, यस्तै विविध विषयवस्तुका शील्प कौशल भरिएको कृति हो मनका हजार रङ ।
मानव सर्वोत्कृष्ट प्राणी हुँदाहुँदै पनि श्वार्थरुपी पर्दाले ढाकिएको हुन्छ । वर्तमानको आनन्दले विगतलाई विर्सिदिन्छ । आफ्नो आधारलाई बिर्सिएर रुखको टुप्पोमा मात्र नजल लागउने प्रविति प्रति गजलकारको गुनासो यसरी व्यक्त भएको पाइन्छ ः
झुपडीलाई बिर्सिदियौ दरबार पाए पछि
यात्रु अनि यात्रा बिस्र्यौ घरबार पाएपछि
प्रेमको माध्यमबाट आएको यस शेरले वर्तमान राजनीतिलाई पनि तिखो प्रहार गरेको पाइन्छ । हिजो त्यही झुपडीबाट निष्किएर देशको सेवा गर्ने सङ्कल्प लिएकाहरु आज सत्ता र कुर्षीको आनन्दमा जुन झुपडीले उनलाई दरबार पुगाएको थियो त्यही झुपडीलाई बिर्सिएको पाइन्छ ।
कुनै कुराको पनि महत्व तब थाहा हुन्छ जब ऊ आफूदेखि टाढाँ हुन्छ । नजिक हुन्जेल महशुष गर्न नसकिए पनि टाढाँ भएपछि झन सम्झना आउँछ । यही भाव गजलकारले यसरी व्यक्त गर्नुभएको छः
तिर्सनाको आयतन गाढा बन्दै गयो
जहिलेदेखि उपस्थिति टाढा बन्दै गयो
पर्खाइमा हुने आँखाको स्थिरता र मनको उथलपुथलता यसरी गजलका शेरमा यसरी व्यक्त भएको छ ः
आँखा भने स्थिर थिए पर्खाइको बेला
मन भने सुस्त सुस्त छाडा बन्दै थियो
भोलि सम्झनलाई आज केही गरेको हुनुपर्दछ । हरेक मानिसले आफ्ना विगतका तिता मिठा अनुभव सुनाइरहेका हुन्छन् । तिनै अनुभव र अनुभूति सम्झिन आज केही न केही गरेको हुनुपर्दछ भन्ने भाव शेरमा यसरी व्यक्त भएको छ ः
बिर्सेपछि सम्झिनलाई कामलाग्ला फेरी
मीलनको गीत आजै गाउँ बरु यतै
मानिस कुन अवस्थामा छ उसको अनुहार हेरे मात्र थाहा पाइन्छ । उसको अनुहारको प्रस्तुतिले भित्रीमनमा चलिरहेको भाव प्रस्ट थाहा हुन्छ । जतिसुकै लुकाउन खोजे पनि उसभित्रको खुशी अथवा पीडा अनुहारले देखाइदिन्छ भन्ने सन्दर्भमा गजलकार यसो भन्नुहुन्छ ः
अनुहारको उदाशीले प्रष्ट देखाउँछ
उसले नि जीवनमा ठक्कर खाएको छ रे
यसै गरी वर्तमान सूचना र प्रविधिले पुरै संसारलाई एकै बनाए पनि एकान्तप्रेमी र असमाजिक बनाउँदै गइरहेको तितो यथार्थ प्रति गजलकार यसो भन्नुहुन्छ ः
मा¥यो बाबा मा¥यो मा¥यो मोबाइलले
आफैदेखि टाढा टाढा पा¥यो मोबाइलले
छिमेकीबाट जति सहयोग मिल्छ बदलामा त्यत्तिकै इष्र्या पनि खेप्नुपर्छ । आफै आगो लगाएर आफै निभाउन जाने प्रवितिप्रति यसरी गुनासो पोएिको छ ः
मेरो घरमा आगो सल्काइ आँशु झार्न पनि
सधैँ हुन्छ अग्रसर सलाइ छिमेकीको
मानिसको मनमा के छ, उसले के खोजिरहेको छ त्यसको जाँच नगरी आफ्ना इच्छाहरु व्यक्त गर्ने र आफू अनुकूल मात्रै सोच्ने प्रवित्ति प्रति गजलकारको गुनासो छ ः
बाटो हिड्ने बटुवाको नबुझेर मन
नहानौ न जबरजस्ती लोलाहरु रङको
धन सम्पत्ति र ऐस आरामको कुलत लागेपछि विद्याजस्तो वास्तविक सम्पत्ति प्रति चासो घट्दै र धनपैसा प्रतिको मोह बढ्दै गइरहेको तितो यथार्थ हाम्रा सामु छ । देशको राजनीतिदेखि लिएर भगवानको मन्दिरसम्म पैसाबिना कुनै काम नभएको प्रति गजलकार यसो भन्नुहुन्छ ः
शिक्षा मात्र अजम्बरी धन हो भन्थे गुरु
पाएको छ महत्व त सुनले आजभोलि
देशको राजनीति र व्यक्तिहरुमा बढ्दै गएको व्यक्तिगत मोहले आफ्नो घर अथवा देशको भेद खोल्ने र त्यसले विदेशी राजनीतिले फाइदा लिइरहेको तितो यथार्थ यहाँ व्यक्त भएको पाइन्छः
आफूभन्दा पराइलाई मानेपछि नजिक
घरका गोप्य कुरा लगि जान्छौ विदेशमा
मानिसलाई मानिसले मानिसकै रुपमा हेर्नु पर्दछ भन्ने मानवतावादी भाव राधाका गजलहरुमा पाइन्छ । आफूलाई पीडा पर्दा जस्तो दुःख हुन्छ त्यसै गरी अरुलाई पीडा पर्दा पनि त्यस्तै हुन्छ भन िसोच्न सक्नु नै मानवीय धर्म हो । अरुको सुखमा खुशी हुनु र अरुको पीडामा रुन सक्नुपर्दछ भन्ने मानवतावादी सोचाइ गजलकारमा रहेको पाइन्छ ।
आँशुभित्र पनि कुनै नौलो कथा हुन सक्छ
अरुलाई आफूजस्तै पीडादायी सोचेपछि
समग्रमा यस कृतिभित्र ५२ गजलहरु समावेश छन् । यस कृतिभित्र मानवता, प्रेम, जन्मदाता र जन्मभूमि प्रतिको सद्भाव, असहाय र दीनदुःखहरुप्रति सद्भाव यस कृतिभित्र पाइन्छ । व्यक्ति, समाज तथा राष्ट्रभित्रका विकृति, विसङ्गति एवम् विगत र वर्तमानका तितामिठा अनुभवहरुको सुन्दर चित्रण यसभित्र पाइन्छ । समग्रमा नेपाली गजल साहित्यमा एक अब्बल कृतिका रुपमा देखा परेको कृति हो मनका हजार रङ । यसभित्रका थुप्रै चोटिला तथा कालजयी शेरहरु गजलका पारखीहरुका लागि खुराँकका रुपमा उपस्थित भएको पाइन्छ ।
.gif)