शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सम्झनामा प्रजातन्त्र पुनर्स्थापनाका एक योद्धा : प्रजातन्त्र सेनानी मदन चन्द


आइतबार, फागुन ७ २०७९
  • 762
    Shares

  • images
    images
    सम्झनामा प्रजातन्त्र पुनर्स्थापनाका एक योद्धा : प्रजातन्त्र सेनानी मदन चन्द

    आफ्ना लागि बाँच्ने सबै हुन्छन् तर आफूले विभिन्न किसिमका समस्याहरुको सामना गरी अरुको भलाइका लागि जीवन समर्पण गर्ने मानिस औँलामा गन्न मात्र पाइन्छन् । समाजमा रहेका यस्ता थोरै व्यक्तिहरुको सद्प्रयास र संर्घषका कारण समाज तथा राष्ट्र अग्रगमनको मार्गतिर लम्किन्छ । कुनै पनि राष्ट्रको व्यवस्था एवम् अवस्था परिवर्तमा विभिन्न मानिसहरुको वलिदानीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस्ता महान व्यक्तिहरुकै कारण समाज एवम् राष्ट्रको उन्नति हुनुका साथै हरेक नागरिकले स्तन्त्रताको महशुष गर्न पाउँछन् । यसरी परहितमा जीवन समर्पण गर्ने व्यक्तिहरु आफूले जीवनमा दुःख खप्नु परे पनि भावी पुस्ताको भविष्यमा भने खुसीका फूलहरु उमारेर जाने गर्दछन् र तीनै फूलहरुको सुगन्धका रुपमा युगौँ युग आम मानसिको मनमुटुमा बस्न सफल हुन्छन् । संसारमा जति पनि महान व्यक्तिहरु छन् तिनीहरुको श्वर्ण इतिहास त्यत्तिकै बनेको हुँदैन । उहाँहरुले गरेको संघर्ष र वलिदानीले नै इतिहासको पानामा जीवित रहन सफल हुन्छन् । चाहे महात्मा गान्धी हुन या नेपालमा प्रजातन्त्र एवम् लोकतन्त्र स्थापनाको लागि ज्यान आहुती दिने अमर शहीदहरु हुन उहाँहरुको इतिहास पछाडी उहाँहरुको जीवनसंघर्ष जोडिएको हुन्छ । यसरी नै नेपालमा पजातन्त्र स्थापनाका लागि ठूलो संघर्ष गर्ने हान व्यक्तिहरुमध्ये सुदूरपश्चिमको भूमिबाट महत्वपूर्ण भूमिका निभाइ इतिहासका पानामा अमर रहन सफल प्रजातन्त्र सेनानी मदन चन्द पनि एक हुन् । 
    नेपालमा पञ्चायती व्यवस्था विरुद्ध संघर्षको मैदानमा होमिइ आफ्नो जिउज्यान र घरपरिवारको ख्याल नराखी प्रजातन्त्रको पक्षमा वकालत गर्ने केही महत्वपूर्ण व्यक्तिहरुमध्ये मदन चन्द अग्रणी स्थानमा आउने गर्दछन् । प्रजातन्त्र पुनस्र्थापनामा महत्वपूर्ण योगदान पुगाउने प्रजातन्त्र सेनानी मदन चन्दको जन्म जन्म वि.सं. १९९० साल कार्तिक ३० गते मसान्तका दिन बैतडी जिल्लाको तल्लोस्वराड विजयपुर, तितावैमा भएको थियो । तत्कालीन अवस्थामा बैतडीजस्तो दुर्गम ठाउँमा विद्यालय नभएपछि उनको शिक्षादीक्षा तल्लो स्वराड खलगाड (खगोल गड) का ज्योतिष श्री फडेन्द्र जोशीबाट घरमै भएको पाइन्छ खलगाड बैतडी जिल्लाको शैक्षिक क्षेत्रहरू मध्ये एक थियो । ज्योतिष विद्ववानहरू भएको त्यस क्षेत्रमा घरैमा ज्योतिषी विद्या सिकाउने गरिन्थ्यो । त्यतिबेला घरमै ज्योतिष विद्या दिइने भएकाले सिक्न चाहानेहरू सामल लगेर गुरुको घरमै गई शिक्षा लिने गर्दथे । शिक्षा लिने क्रममा मदन चन्दले धेरै दुःख खेप्नु प¥यो । त्यतिबेला आजभोलिको जस्तो कापी कलमको व्यवस्था थिएन । काठको पाटीमा निङालोको कलम तथा कमेरोले लेख्ने गरिन्थ्यो । आज लेखेको कुरो भोलिका लागि हुँदैन्थ्यो तुरुन्त याद गर्नुपर्ने हुन्थ्यो । माथिल्लो तहमा पुगेपछि  भोजपत्रमा कटाउज तथा आँपको मसि घरमै बनाएर लेख्ने गरिन्थ्यो । यसरी कठोर मिहिनेत गरी पढेका मदन चन्दले शिक्षामा त्यो बेलाको वातावरण अनुसार खुब उपलब्धी हासिल गरे ।  त्यसपछि केही समयका लागि मदन चन्दले घरमै बैदारको रुपमा काम गरे । घरको काम तथा आमाबाबुको सेवामा पनि मदन चन्द समर्पित हुन्थे । यसरी २००९ सम्म मदन चन्दले आफ्नो बाल्यकाल बिताएको पाइन्छ । 
    घरपरिवारमा साहिला छोराको रूपमा रहेका मदन चन्दको विवाह वि.सं. २०१३ मा बैतडी जिल्ला सलेना गा.वि.स. कुजगाड निवासी मगन चन्द की सुपुत्री मधु चन्दसँग भयो  । त्यति बेलाको समयमा पहाडको खेतिपातीले ठूलो परिवार धान्न मुस्किल परेको अवस्थामा मदन चन्द वि. स. २०१९ तिर महेन्द्रनगर  बसाई सरेको पाइन्छ । पुरै समाजलाई आफ्नो परिवार ठान्ने मदन चन्दले आफ्नो परिवारलाई भन्दा पनि समाजको भलाइमै बढी समय दिए पनि कुशल गृहणीका रुपमा उनकी धर्मपत्नी मधु चन्दले राम्रोसँग घरबार चलाएकी थिइन । त्यतिबेला मदन चन्द भारतीय सेनामा जागिरे थिए । भारतीय सेनामना रहँदा सेनामा पनि उनले आफ्नो कलाकौशल देखाई सबैको मन जितेका थिए । भारतीय सेनामा छँदा उनले पुर्तगालीहरूसँगको सन् १९६१ मा गोवा एक्सन र १९६२ को चाइना एक्सन यांगशीला अरुणाञ्चल प्रदेशमा शिलापहाडी त्वां सम्मको लडाइ र १९६५ को पाकिस्तानसँग लडाई लडि विजय दिलाइ नुनको सोझो गरेका थिए । सन् १९७५ फेबररी २ मा उनले भारतीय सेनाबाट विधिवत रुपमा अवकास लिएका थिए । 
    भारतीय सेनाबाट अवकास लिएपछि महेन्द्रनगरको बसाईमा उनले नेपाली कांग्रेसका तर्फबाट सक्रिय राजनीतिक जीवनको सुरुवात गरको पाइन्छ ।  २०१७ सालमा राजा महेन्द्रले ल्याएको निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध विभिन्न समयमा आन्दोलनहरु भएको पाइन्छ । पञ्चायती व्यवस्थाले जनताका आधारभूत मौलिक हकहरू कुण्ठित पारेपछि त्यसको विरूद्धमा विभिन्न राजनीतिक दलहरू र जनता पटक पटक आन्दोलनमा उत्रेका थिए । विभिनन समयमा भएका विद्यार्थी आन्दोलन, जनमत संग्रह, सत्याग्रह आदि हुँदा पनि जनताका हकअधिकारहरु सुनिश्चित हुन नसकेपछि २०४६ माघ ५ देखि ७ गते सम्म नेपाली कांग्रेसले आफ्नो अधिवेशन सञ्चालन गर्यो । त्यही अधिवेशनले फागुन ७ गते देखि शान्तिपूर्ण रूपमा जनआन्दोलन सुरू गर्ने निर्णय ग¥यो । देशका विभिन्न ठाउँमा आन्दोलनका कार्यक्रमहरू निर्धारित भए । त्यसै अनुसार अनुसार फागुन ७ गते काठमाडौंमा आन्दोलन सुरू भयो । देशका विभिन्न ठाउँमा जुलुसहरू निस्किए । संयुक्त बाम मोर्चा र नेपाली कांग्रेसले संयुक्त रूपमा आन्दोलन गरेको यही पहिलो अवसर थियो। दिनानुदिन मानिसहरूको विशाल समुह सडकमा निस्केर प्रदर्शन गर्न थाल्यो । लामो समयसम्म जनताको आन्दोलनलाई दवाउँदै आएको सरकारले यो आन्दोलन दवाउन व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरयो ।  देशका विभिन्न सहरहरूमा निषेधाज्ञा लागू गरियो । प्रहरीले लाठी, बूट, गोली र अश्रुग्यास लगायतका सबै औजार प्रयोग गरेर जनतालाई दमन गर्न थाल्यो ।
     यस समयमा कञ्चनपुरमा पनि केही साहसी योद्धाहरूले पनि अफ्ना आन्दोलनका कार्यक्रमहरुलाई अगाडि बढायो । तत्कालीन अवस्थामा यसरी खुल्लेआम पञ्चायती व्यवस्था विरद्ध बोल्नु चुनौतिपूर्ण कार्य थियो । मानिसहरु प्रहरी तथा राज्यको दमनका डरले खुलेर अगाडि आउन सकिरहेका थिएनन् । यस्तो विषम परिस्थितिमा मदन चन्दले उक्त आन्दोलनलाई सफलतापूर्वक सम्पनन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । विभिन्न नेता कार्यकर्ताहरुलाई एकजुट गर्न, आवश्यक पर्चा पम्प्लेटहरुको जोहो गर्न र आन्दोलनलाई अघि बढाउन मदन चन्दले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । मदन चन्दले उक्त आन्दोलनको नेत्ृत्व सम्हाल्दै खुलामञ्चमा भइरहेको सांस्कृतिक कार्यक्रममा पञ्चायती व्यवस्था विरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाउने निर्णय गरे । कसैले साहस गर्न नसकेपछि मदन चन्दले सरकारलाई कालो झण्डा देखाइ नेपाली कांग्रेस जिन्दावाद , निरंकुश राजतन्त्र मुर्दावाद , पञ्चायती व्यवस्था मुर्दाबाद भन्दै कालो झण्डा देखाए । सूरक्षाकर्मीहरूले उनलाई पक्रेर गाडिमा राखेर लग्ने बेला गाडी चलेपछि झ्यालबाट नेपाली कांग्रेसको झण्डा फहराए । राजा तथा पञ्चायती व्यवस्थाको विरोध गरेकाले उनलाई नजर बन्द गरियो । यसरी नै प्रजातन्त्रको लागि लड्ने योद्धा मदन चन्दले पनि जनताको हक अधिकारका लागि राजतन्त्रको विरुद्धमा बोल्दा धेरै पटक जेल सजाय भोग्नुपरेको थियो । वि.सं. २०३१ सालमा तत्कालीन शाहीशेनाले सर्वसाधारण नेपाली चेलीहरूको बलात्कार गरेको बिरुद्धमा उत्रिन भु.पु. शैनिक दल खोली शेनाको बिरुद्धमा उत्रिएपछि देशद्रोहको आरोपमा महेन्द्रनगरबाट गिरप्तार गरी छ महिनासम्म जेल सजाय भोगेका थिए । यसै गरी वि.सं. २०३६ सालको बहुदल र निर्दलको परिणाम चित्त नबुझेपछि वि.सं. २०४१ सालमा हस्ताक्षर संकलन अभियान सुरु गरेकाले तत्कालिन सरकारले पुनः देशद्रोहको आरोपमा ४५ दिनका लागि जेल चलान गरिएको थियो । यसै गरी २०४६ सालको आन्दोलनमा महेन्द्रनगरको खुलामञ्चमा नेपाली कांग्रेशको झण्डा देखाउदा पनि देशद्रोहको आरोपमा जेल चलान गरिएको थियो । देश र  जनताको हक अधिकारका स्वतन्त्रताका लागि आवाज उठाउँदा तत्कालीन पञ्चायती व्यवस्थाले उनलाई  विभिन्न समयमा ७ पटक जेल चलान तथा ५३ पटक हिरासतमा लिएको पाइन्छ । वि.सं. २०६१ माघ १९ गतेका दिन राजा ज्ञानेन्द्रको शाही कदम बिरुद्ध नाराबाजी गरेपछि ७६ बर्षको उमेरमा समेत ३ महिनाका लागि जेल सजाय भोगेका थिए । वि.सं. २०६२ मा महेन्द्रमान व्यथितिले बाल अञ्चल अनाथालयमा काम गरिरहेको अवस्थामा आठ दिनसम्म कार्यलय घेरामा राखेर नजरबन्द गरेका थिए । आफ्नो जीवनकालमा धेरै पटक जेलको सजाय खाएका मदन चन्द कहिले पनि आफ्नो उद्देश्यबाट पछि हटेनन र देशमा प्रजातन्त्र ल्याउन आफ्नो हातबाट हुने कुनै कसर बाँकी छाडेनन् ।  

    मदन चन्द एक राजनीतिक योद्धा मात्र नभएर एक असल समाजसेवीका रुपमा पनि परिचित हुनुहुन्थ्यो । । उनले समाज कल्याण अञ्चल बाल अनाथालय खोली अनाथ बालबालिकाहरूको सेवामा समेत उनको योगदान रहेको छ । तत्कालीन श्री ५ को सरकार श्रम तथा समाज कल्याण मन्त्रालयको आर्थिक वर्ष २०४८ । ४९ को बार्षिक कार्यक्रम अन्तर्गतको कार्यक्रम अन्तर्गत महाकाली अञ्चलको सदरमुकाममा अनाथालय खोल्नको लागि पहल गरी कार्यक्रमका लागि धेरै समय र अर्थ खर्च गरी उनले २०४९ साल अषाड ११ गते समाज कल्याण अञ्चल बाल अनाथालयको स्थापना गरी करीब १५ वर्षजति सेवा गरका थिए । 
    नेपाली राजनीति तथा समाजसेवाका क्षेत्रमा  वि.पि. र मदन चन्दको जीवनीले धेरै जसो मेल खान्छ । जसरी वि. पि. ले राजनीति र साहित्य दुबै क्षेत्रमा लागे त्यसरी नै मदन चन्द पनि दुबै क्षेत्रबाट योगदान गर्दै आएको पाइन्छ । मनिसले जतिसुकै अगाडि बढे पनि आफ्नो भाषा, धर्म र संस्कृति भुल्नु हुँदैन भन्ने विचार धारा भएका मदन चन्दले बैतडेली भाषामा थुप्रै बैचारिक लेखहरू, कविता, गीत, आत्मवृतान्त तथा सुदूरपश्चिमाको चिनारीको रुपमा रहेको गौरा पर्वमा गाइने ठाडो खेल , धुमारी, ढुस्को , होली, तथा भैलो लेखेका छन् भने लोक दर्पण र रोसन गरी दूई कृतिहरू प्रकाशित गरेका छन् । 
    यसरी प्रजान्त्रको स्थापना, समाज कल्याण अञ्चल बाल अनाथालयको स्थापना तथा लोकदर्पण तथा रोसन लेख संग्रह नामक पुस्तक प्रकासन गरेका चन्दलाई वि.सं. २०७९ मा समाजको सेवा गरेबाफत नेपाल सरकारका तर्फबाट जनसेवा श्री पदक समेत प्राप्त भएको पाइन्छ भने जनस्तरबाट नागरिक अभिनन्दन एवम् प्रजातन्त्र सेनानी मदन चन्द नामक अभिनन्दन ग्रन्थ समेत प्रकाशन भएको पाइन्छ । यसरी प्रजातन्त्रको स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नुहुने चन्द वि.सं. २०७९ साल फागुन चार गतेका दिन ९० वर्षको उमेरमा आफ्ना कृति र सत्कर्महरु हामीमाझ छोडेर सदाका लागि यो संसारबाट बिदा भए । यसरी उहाँ हामीमाझ नरहे पनि उहाँले सामज र राष्ट्रका लागि उहाँले गर्नुभएको योगदान सधैँ अवस्मिरणीय रहने छ । 


  • सम्बन्धित विषय:

  • # प्रजातन्त्र दिवस


  • प्रतिक्रिया दिनुहोस