शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्राचीन इतिहास, वास्तुकला र लोकजीवन झल्काउने दे–न्वालो 


सोमबार, माघ १७ २०७८
  • 1.4K
    Shares

  • images
    images
    प्राचीन इतिहास, वास्तुकला र लोकजीवन झल्काउने दे–न्वालो 


    नेपाल वस्तुकलाका क्षेत्रमा विश्वमै अग्रणी स्थानमा आउँछ । यहाँका मठमन्दिर, धर्मशाला, देवल, दरबार, घर, न्वाला आदिमा हाम्रो पुर्खाहरुको प्राचीन कला झल्कििन्छ । हाम्रो समुदायको लोक जीवनको झल्को दिने यस्ता लोक सम्पत्तिहरु हाम्रो मौलिक पहिचानका आधार हुन् । हाम्रा पुर्खाहरुको भाषा, भेषभुषा, चालचलन, रीतिरिवाज, रहनसहन, पेशाव्यवशाय, खानपान आदि विविध कुराहरु कस्ता थिए भन्ने कुराको ज्ञान यस्तै लोक सम्पत्तिहरुको माध्यमले जानकारी मिल्दछ । यस्ता हाम्रो लोक जीवन र प्राचीनता झल्काउने महत्वपूर्ण कला मध्ये वास्तुकला पनि एक हो । 


    दैनिक जीवनमा पानीको एकदमै महत्व छ । पानी बिना मानिसको जीवन चल्ने कल्पना सम्म पनि गर्न सकिदैन । हाम्रा पुर्खाहरुले आफ्नो दैनिक जीवनमा पानीको आवश्यकता पुर्ति गर्नका लागि पानीका मुहानहरुमा न्वाला बनाउने गर्दथे । न्वालो भनेको पानीलाई मुहानमा बग्दै गरेको पानीलाई एकठाउँमा जम्मा गर्न बनइएको कुवाजस्तै पानीको स्रोत हो । पानीको मुहानमा खाल्टो खनेर ढुङ्गाहरुको माध्यमले पानी यताउति बग्न नदिन न्वाला बनाइएको हुन्थ्यो । यस्ता न्वालाहरुमा यताउतिबाट फोहोर नपरोस भन्नका लागि घरजस्तो आकारमा बनाइएका हुन्थे । यस्ता न्वालाहरु बनाउँदा त्यसमा प्रयोग गरिने ढुङ्गाहरु कोरेर विभिन्न किसिमका देवीदेवताका मुर्ति तथा फूल आदिका अन्य चित्रहरु बनइएका हुन्थे । मानिसहरुले तिनै न्वालाहरुबाट पिउने तथा अन्य प्रयोगका लागि पानी भर्ने गर्दथे । 


    बैतडी जिल्लामा गाउँघरमा यस्ता थुप्रै न्वालाहरु अहिले पनि प्रचलनमै रहेको पाइन्छ । पुर्खौ देखि पानीको प्यास मिटाइरहेका यस्ता न्वालाहरु वर्तमान समयमा घट्दै गइरहेका छन् । यद्यपि ती न्वालाहरुको पानी धेरै मात्रामा प्रयो नगरिए पनि थुप्रै न्वाला अझै पनि बाँकी रहेका छन् । पुखौँ देखिको इतिहास बोकेका यस्ता न्वालाहरुमा गाउँले तथा बटुवाहरुले प्यास मिटाउने गर्दथे ।

     
    यस्तै प्रचीन न्वालाहरु मध्ये बैतडी जिल्लाको देहिमाण्डौँमा रहेको प्राचीन न्वालो पनि एक हो । देहीमाण्डौँमा निङलाशैनी भगवतीको मन्दिर रहेकाले देवीको माणौँ (मन्दिर) अर्थमा यस क्षेत्रको नाम देहिमाण्डौँ रहन गएको हो । देमाणौँमा रहेको हुनाले यस न्वालाको नाम पनि देन्वालोे रहन गएको पुरानो पस्ताले बताउने गर्दछन् । यसै न्वालाको नामबाट देहिमाण्डौँको एक सानो गाउँको नाम समेत देनोला रहन गएको छ । प्राचीन समयदेखि हालसम्म पनि यो न्वालो प्रयोगमै आइरहेको छ । बैतडी जिल्लामै सबैभन्दा ठूलो न्वालोका रुपमा रहेको यो न्वालो प्राचीन वास्तुकलाको नमुना पनि हो । चुनढुङ्गाहरु र पत्थरको प्रयोग गरि कुण्ड शैलीमा बनाइएको यस न्वालाको भित्रपट्टीको पानी रहने रहने भागमा आठदश ओटा सुन्दर पेटी बनाइएको छ । गोलाकार शिखर शैलीमा बनेको यो न्वालाको माथि छतमा ढुङ्गाको सुन्दर चक्र बनाइएको छ । चारैतिर लगाइएको दिवाल र न्वालाको वरिपरि फराकिला पत्थरहरुले लुगाकपडा धुनका लागि सजिलो भएको छ । देहिमाण्डौ बजार, रजुन्ना, मुगराउँ, देनोला क्षेत्रका बासिन्दाहरुले  यसै न्वालाबाट पानीको आवश्यकता पुरा गरिरहेका छन् भने बटुवाहरुले पनि यही बसेर पानीको प्यास र थकाइ मिटाउँदै आएको पाइन्छ । देहिमाण्डौँमा निङलाशैनी भगवतीमा लाग्ने मेलाहरुमा पनि दशौँ हजार मानिसहरु यसै न्वालाको पानीले प्यास मिटाउने गर्दथे । पहिले पहिले निङ्लाशैनी भगवतीको पूजाका लागि पनि यही पानीको प्रयो गरिन्थ्यो । पछि गएर पानी फोहर हुन थालेपछि झन्नाको धाराबाट पूजाको लागि पानी ल्याउने गरिन्छ । यस न्वालाको स्थापनाको सन्दर्भमा कुरा गर्दा १२ औँ शताव्दीमा भारतको दुवानगरबाट यस क्षेत्रमा बसाइ सरी आएका बोहरा जातीका मानिसहरुले गरेको किंवदन्ती छ । त्यतिबेला देखि नै यस ठाउँमा रहेको यो न्वालोले हाम्रो लोक जीवन झल्काउनुका साथै हाम्रो प्राचीन इतिहास र वास्तुकलालाई समेत झल्काएको छ ।  

     

     




    प्रतिक्रिया दिनुहोस