बैतडी जिल्लामा रहेका प्रमुख मन्दिरहरु मध्ये बैतडी जिल्लाको दसरथचन्द नगरपालिका वडा नं. १ मा रहेको महारुद्र मन्दिर पनि एक हो । यो मन्दिरको स्थापनाकाल कुन हो भन्ने कुराको एकिन गर्ने कुनै ऐतिहासिक आधार नभए पनि यस मन्दिरमा भएको प्राचीन देवल र विभिन्न किंवदन्तीका आधारमा १२ औँ शताव्दी भन्दा अगाडि भएको मान्न सकिन्छ । भारतमा मुगलहरुको अत्याचारबाट पीडित यस क्षेत्रका बासिन्दाहरुका पूर्खाहरुको आगमनको समयमा पनि महारुद्र देवताको यही ठाउँमा पूजा हुँदै आइरहेको बुढपाकाहरुले बताउँदै आएका छन् । सुरुमा यस ठाउँमा मन्दिर नभएर सुदूरपश्चिममा परम्परागत रुपमा ठूला रुखका फेदहरुमा कोठकरो बनाएर पुज्ने प्रचलन थियो । महारुद्र देवताको पनि त्यसरी नै पूजा गर्दै आइरहेको थियो । कालान्तरमा महारुद्र देवताको मन्दिर बनाउने क्रममा मिस्तिरीको सुनको निकान चोरिएको र मिस्तिरीले महारुद्र देवतामा शक्ति भए उक्त निकान चोर्ने व्यक्ति अहिले नै मरोस्, यही ठाउँमा मसानघाट बनाएर पोल्ने छु भन्दा मिस्तरीकै छोरा मरेको र हेर्दा उसकै खल्तीमा निकान भेटिएकाले त्यही मन्दिरको धेरा परिधिबाट २२ हात तल दक्षिणपट्टी चिता बनाइ जलाएको र त्यही दिनदेखि त्यहाँ मसानघाट प्रचलनमा आएको किंवदन्ती रहेको छ । त्यो भन्दा पहिले त्यो ठाउँमा मसानघाट थिएन । पहिले पहिले यो मन्दिरको गर्भगृहमा रहेको महारुद्र देवताको मुख्य शीला जमिन भित्र रहने र समय समयमा आफै बढ्ने हुनाले उक्त शीला बढेपछि शीलाको वरिपरि ढुङ्गाको धेरा लगाइ सिधा हेर्दा माथि नदेखिने बनाउने गरेको बुढपाकाहरुले बताउँछन् । बैतडी जिल्लाको उत्तर पुर्चौणीदेखि दक्षिण तल्लो स्वराड सम्मको भुभाग महारुद देवताले शयन गरिरहेको र शिरदेखि पाउसम्मका विभिन्न अंगका रुपमा यस मन्दिरमा रहेका महारुद्रलाई पेटको भाग (भुणी) का रुपमा पूजा हुँदै आएको विश्वास गरिन्छ । महारुद्र देवतालाई अन्य देवताहरुले पखान, घुगु, भम्सिन आदिका नामले पनि पुकार्ने गरेको स्थानीय देवी देवताका धामीहरु काम्दा थाहा पाइन्छ भने स्थानीय रुपमा मादेउको नामले पनि पुकार्ने गरेको पाइन्छ । यस मन्दिरमा डोटीका राजा नाग मल्लले बनाउन लगाएको मानिने प्राचीन शैलीमा केवल ढुङ्गामात्रै प्रयोग गरी निर्माण गरिएको देवल पनि रहेको छ । उक्त देवलमा प्राचीन मुर्तिकलामै आधारित ढुङ्गाकै बाघ र देवलको माथि ढुङ्गाकै एक चक्र पनि राखिएको छ । कुनै समयमा एक जनाले त्यो बाघको मुर्तिमा भएको बाघको जिब्रो बन्दुक हानेर तोडोको र महारुद्र देवता नराज भइ उसको घरमा विध्वंश हुन थालेपछि मन्दिरमा आएर देवतासँग माफी मागी गुठीको रुपमा मन्दिरका जमिन दान गरेको बुढापाकाहरुले बताउँछन् ।
यस मन्दिरमा वैशाख संक्रान्ति, पूर्णीमा, असोजको नवरात्री, वसन्त पञ्चमीमा विशेष पूजा लाग्दछ भने श्रावण महिना र माघ महिनामा गुरुखोला जरकट्टेमा रहेको महारुद्रको भण्डार गृह एवम् मन्दिरमा पूजा नित्य पूजा अर्चना गरी मुख्य कर्मचारी तथा अन्य भक्तजनहरु मन्दिरमै बसेर बत्ती जगाउने तथा पूजा आराधना एवम् भजन किर्तन गर्ने गर्दछन् । त्यसै गरी शिवरात्रीका दिन पनि महारुद्रको दर्शन तथा पूजा अर्चनाका लागि थुप्रै मानसहरु आउने गर्दछन् । विशेष गरी पुसको महिनामा यस मन्दिरमा औराद बस्ने गर्दछन् । पातलको मुख्य मन्दिर विशेष पूजाका लागि मात्र खुल्दछ भने अन्य दिन जरकट्टेमा रहेको भण्डारगृहमा पूजा अर्चना गरिन्छ । मसानमा मुर्दा आएको दिन यस मन्दिरमा पूजा लाग्दैन र पुजारी, धामी, भण¥या तथा अन्य मन्दिरका कर्मचारीहरु मसानमा मुर्दा आएको दिन भोजन पनि गर्दैनन् । मन्दिर यस मन्दिरमा भाद्र महिनाको गौरा पर्वमा विशेष मेला लाग्नुका साथै अठ्यावाली, ढुस्को, धमारी, चैत आदिसँग सम्बन्धित विभिन्न लोक झाकीहरु प्रस्तुत हुनका साथै सुदूरपश्चिमको लोकप्रिय डोउडा खेल पनि लाग्ने गर्दछ । महारुद्र देवतालाई जगतका कल्याणकारी देवताका रुपमा मानिए पनि मुख्य रुपमा चारगाउँ पाली (पाली, जरकट्टे, सिरखन, मुणाब), साविकको देहिमाण्डौ गा.वि.सका मानिसहरुले इष्टकूल तथा ग्रामावासी देवताको रुपमा पूजा गर्ने गर्दछन् । यस मन्दिरमा मुख्य पूजारीका रुपमा कौडिण्य गोत्रीय पल्याल भट्टहरु रहेका छन् भने मुख्य यजमान तथा कारिबारीका रुपमा जरकट्टे निवासी कश्यप गोत्रीय टेरहरु रहेका छन् । महारुद्र देवताको धामी पनि टेरहरुबाटै हुने गर्दछन् । त्यसै गरी मुणाब निवाशी कौडिण्य गोत्रीय भाटहरु पनि मुख्य कारीबारी भण¥या रुपमा रहन्छन् । पहिले पहिले अराली निवाशी जोशीहरु पनि यो देवताको पूजारीको रुपमा रहेको पाइन्छ । यस क्षेत्रमा परापूर्व कालदेखि बसोबास गर्दै आएका भट्ट, भाट, टेर, चन्द, जोशी, बोहरा, थलाल, रावत, भण्डारी, धामी, टोक्टरे, लावड, लुहार, टेलर आदि विभिन्न जातजातीका मानिसहरुले ग्रामबासी तथा कूलदेवताको रुपमा महारुद्र देवताको पूजा अर्चना गर्दै आइरहेको पाइन्छ । यस मन्दिरको पश्चिमपट्टी यसै देवताको अंशका रुपमा झौलेकमा अवस्थित छडिलिङ्ग देवतालाई पूज्ने गरिन्छ । छडी देवताको पूजाका लागि पनि महारुद्र मन्दिबाटै भणार लगेर पूज्ने गरिन्छ । छडी देवताको मुख्य पर्वका रुपमा विजयादशमीको दिनलाई मानिन्छ । यस देवताको मुख्य मसानी देवीको रुपमा चामडि़ आमाको पूजा गरिन्छ । चामडी आमाको मन्दिर मन्दिरको पश्चिमपट्टी पातलको छेउमा रहेको छ ।
महारुद्र देवताको पूजा गरे धनसम्पती र सन्तान प्राप्त हुने , विभिन्न रोगव्याधी नास हुने तथा भक्तले चिताएको मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस मन्दिरमा पूजा लागेको दिन अखण्ण, अंझाडो गराएमा नवग्रह पनि शान्त हुने र अदिन अरिष्टबाट बचिने विश्वास गरिन्छ । महारुदलाई्र देवता न्याय निशाफको धनी मानिने भएकाले अन्यायमा परेका मानिसहरु टाढाटाढाबाट आएर फेराद गर्ने र आफ्नो मनोकामना पूरा भएपछि पूजा अर्चना गर्ने गर्दछन् ।
सुन्दर पातलको बीचमा रहेको यो मन्दिर प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानमा रहेको छ । मन्दिरको वरिपरी घना जङ्गगल मन्दिरकै छेउमा सानो पानी बग्ने खोलो र सम्म परेको भुभागले यस मन्दिरको सुन्दरता अझ बढी थपेको छ । यस्तो सुन्दर प्रकृतिको बीचमा रहेको प्राचीन मन्दिर तथा देवलले यस क्षेत्रलाई पुरातात्विक र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण बनाएको छ । विशेष गरी धार्मिक पर्यटनका लागि यो मन्दिर अत्यन्तै महत्वपूर्ण रहेको छ । धार्मिक, प्राकृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस मन्दिरको संरक्षण, सम्बर्धन तथा प्रचारप्रसार गर्नु हामी सबैको कर्तव्य हो ।
.gif)