शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

अठौति तथा खोपर्‍यासँग युद्धको रणनीतिका लागि स्वराड बैतडीका देवताहरुले सभा बसेको ठाउँ झौलेक


शुक्रबार, माघ २१ २०७८
  • 2.8K
    Shares

  • images
    images
    अठौति तथा खोपर्‍यासँग युद्धको रणनीतिका लागि स्वराड बैतडीका देवताहरुले सभा बसेको ठाउँ झौलेक


    प्राचीन समयमा मलासबाट भारतको उत्तराखण्ड हुँदै विभिन्न देवी देवताहरुसँग युद्ध गर्दै आएका अठौति मल्ल तथा  खोपर्‍या बैतडी सहित स्वराडका देवीदेवताहरुसँग युद्ध लड्ने इच्छाले आएको यस क्षेत्रमा विभिनन अवसरमा गाइने लोगाथाहरुमा सुन्न पाइन्छ । यस क्षेत्रका बुढापाकाहरुले पनि अठौति र खोपर्‍यासँग स्थानीय देवी देवताहरुले युद्धमा विजय हाँसिल गरेको कथा सुनाउँदै आएको पाइन्छ । भारतको उत्तराखण्डका देवीदेवताहरुलाई पराजित गर्दै आएका अठौति मल्ल र खोपर्‍या बैतडीसँग जोडिएको नेपाल भारतको सीमाना झुलाघाट पुगेर बैतडी तिर नजर लगाउँछन् । झुलाघाटमा नदी तराउने मान्छेलाई बैतडी तथा स्वराडक्षेत्रका देवीदेवताहरुसँग युद्ध गर्न नदी तराइदिन आग्रह गरेपछि नदी रताउने मान्छेले बैतडी तथा स्वराडमा ठूलाठूला देवता भएकाले तिमीले युद्ध जित्न सक्दैनौ त्यस ठाउँमा नजाउ भनि सम्झाएको  कथा अठौति मल्लको लोक गाथामा यसरी प्रस्तुत भएको पाइन्छ ः
    जन चलइ अठौति स्वराड गड
    बडाबडा देउ छन् स्वराड गड
    उनमुण्डो उबखुट्टा लौन्ना स्वराडगड
    यसरी नदी तराउने मान्छेले सम्झाइ बुझाइ गर्दा पनि अठौति तथा खोप र्‍यले आफ्नो जिद्दी नछोडेपछि नदी तरेर बैतडीमा प्रवेश गर्दछन् । बैतडीमा अठौति प्रवेश भएको तथा पाएपछि रणशैनी भगवती अठौति आएको खबर दिन तथा त्यसलाई कसरी पराजित गर्ने भन्ने सल्लाह र सहायताका लागि निङलाशैनी भगवती कहाँ आएको र निङ्लाशैनीले चिन्ता नगर हामी त्यसलाई सजिलै पराजित गछौँ भन्ने बाचा गरेको कथा अठौति मल्लको गाथामा यसरी प्रस्तुत भएको पाइन्छ  ः 
    दिदी निङलाशैनी मेरो बोल लेन
    बलियाकि साङी आइछ मेरो बोल लेन
    बैना रैण्याशैनी मेरो बोल लेन
    तोखिलेखा बलियो छ मुखिलेखा केइन
    झल्यामल्या गावडीको बेल्या भरी घिउँ
    एइमेरी सोराड छुनु नदिउँ
    यसरी दुबै दिदी बहिनी बीच संवाद भएपछि बैतडी र स्वराडका सबै देवीदेवताहरुलाई खबर गरेर बैतडी जिल्लाको झौलेकमा सभाका लागि निमन्त्रण पठाइयो । सबै देवीदेवताहरुले यो खबर सुनेपछि शशीलिङ्ग (असमी केदार) देवताको अध्यक्षतामा सभा गरेको कथा अठौतिको लोक गाथामा यसरी प्रस्तुत भएको छ ः 
    खेड्या मेड्या कटकको झौलेक ठउँ
    खेड्यामेड्या कटकको को होलो माझी
    खेड्यामेड्या कटकको ससालिङ्ग माझी
    शैपाल सुरपाल सस्याका बाग
    यसरी सभा बसेपछि देवताहरुले युद्ध गरेर अठौति मल्ललाई पराजित गरेको कथा लोकगाथाहरुमा पाइन्छ । बैथडी तथा स्वराडका विभिनन देवीदेवताहरुको सहायतामा शैपाल र सुरपाल देवताले सल्म्या धुरामा खोपर्‍यालाई मारेको कथा बुढापाकाहरुले सुनाउँछन् । उक्त खोपर्‍यालाई गुफाभित्र छिराएर मारेको हुनाले बैतडीको सुरकाल गाउँमा असमी केदार मन्दिरको ठिक माथिपट्टी खोपर्‍या मारेको गुफा भनेर अझै पनि रहेको छ । 
    यसरी बैतडी जिल्लाका विभिनन स्थानहरु ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण रहेका छन् । खोपर्‍या मार्न सभा बसेको बैतडीको झौलेक धर्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको छ । पहाडको बीचमा सम्म परेको भाग, त्यसैमा छडीलिङ्ग देवताको मन्दिर र माथिपट्टी महारुद्र मन्दिर रहेको छ । यसमा मंसिर महिनामो शुक्ल द्वितीयाका दिन स्थानीय मेला लाग्दछ, जसलाई झौलेककी दुत्या भनिन्छ । यस दिन यस मन्दिरमा बाँजागाजाका साथ  भैलोको प्रस्तुति गर्दै जात्र लगाइन्छ । यो क्षेत्र प्रकृतिक सुन्दरताले पनि अत्यन्त सुन्दर भएकाले धार्मिक तथा प्राकृतिक पर्यटकहरुका लागि उचित गन्तव्य हुने सम्भावना प्रसस्त छ । यस्ता ठाउँहरुको संरक्षण र प्रचारप्रसार हामी सबैको कर्तवय हो । 




    प्रतिक्रिया दिनुहोस